शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा

शुक्रबार, ०२ जेठ २०८२, २३ : ०९
शुक्रबार, ०२ जेठ २०८२

काठमाडौँ । काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा आज हावाहुरीसहितको वर्षा भएको छ । हावाहुरीका कारण जनजीवन केही प्रभावित समेत भएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए ।

उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । अहिले साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए ।

उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए । चितवनमा हावाहुरीले क्षति गराएको छ । 

शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । अहिले भने कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली भएको र ती प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । 

प्राप्त विवरणअनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ ।  काठमाडौँमा शनिबार अपरान्हतिर आजको जस्तै बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप