आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

सुस्ता समस्या समाधान गर्न सरकारसँग अभियानको माग

आइतबार, १४ असार २०८३, १६ : २१
आइतबार, १४ असार २०८३

सारांश

  • सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरेका छन्।
  • अभियानले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन, भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
  • सरकारले माग सम्बोधन नगरे साउनको पहिलो सातादेखि धर्नासहितका आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिइएको छ।

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरेका छन्।

आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अभियानले नेपालको भूमि तथा सीमामाथि भइरहेको अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन, भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको हो।

अभियानका अध्यक्ष आदम खाँले सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारी निकायका जिम्मेवार पदाधिकारीले आधिकारिक तथ्यका आधारमा मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्ने माग गरे। उनले २०६२ सालपछि बनेका विभिन्न प्रधानमन्त्रीलाई पटक–पटक सुस्ता समस्याबारे जानकारी गराए पनि कुनै पनि सरकारले समस्या समाधानमा आवश्यक चासो नदिएको गुनासो गरे।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले सुस्ता समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन छिट्टै काठमाडौं जाने तयारी भइरहेको जानकारी दिए। सरकारले माग सम्बोधन नगरे साउनको पहिलो सातादेखि धर्नासहितका आन्दोलनका कार्यक्रम सञ्चालन गरिने उनले चेतावनी दिए।

पत्रकार सम्मेलनमा सुस्ता बचाउ अभियानका मुन्ना खाँ र लैला बेगम तथा सुस्ता बचाउ युवा अभियानका अध्यक्ष योगेन्द्र गौतमले पनि सुस्तावासीको नागरिकता समस्या र सीमा अतिक्रमणप्रति राज्य गम्भीर बन्न नसकेको आरोप लगाए।

उनीहरूले नारायणी नदी किनार क्षेत्रमा रोकिएको तटबन्ध तथा तारबार निर्माणको काम अघि बढाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, सीमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चारलगायत आधारभूत सेवामा सुस्तावासीको पहुँच सुनिश्चित गर्न र सीमा विवाद समाधानलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप