सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : राजस्थानको सुखद समापन, चेन्नाई ६ विकेटले पराजित

बुधबार, ०७ जेठ २०८२, ०७ : ३२
बुधबार, ०७ जेठ २०८२

 काठमाडौं । राजस्थान रोयल्सले जितसहित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सिजन समापन गरेको छ । राजस्थानले मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै यो सिजनको समापन गरेको हो ।

दिल्लीमा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो । राजस्थानको जितमा वैभव सूर्यवंशीले ३३ बलमा चार चौका र चार छक्कासहित ५७ रन जोडे । कप्तान सञ्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रन थपे ।

चेन्नाईका रविचन्द्रन आश्विनले दुई विकेट लिए । असुल कम्बोज र नुर अहमेदले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

टोलीको सुरुवात भने राम्रो हुन सकेन । ओपनर आयुष महात्रेबाहेक अन्य ब्याटरले ठुलो योगदान दिन सकेनन् । दोस्रो ओभरमा नै डेभन कनवे मात्र १० रन बनाएर आउट भए । दुई बलपछि उर्भिल पटेल खाता नै नखोली पभेलियन फर्किए ।

यता महात्रे पनि २० बलमा ४३ रन बनाउँदै तुसार देशपाण्डेको बलमा आउट हुन पुगे । उनले ८ चौका र १ छक्का प्रहार गरे । लगत्तै, रवीचन्द्रन अश्विन १३ रन बनाउँदै आउट भए । त्यसपछि रवीन्द्र जडेजा पनि मात्र १ रन जोड्दै आउट भए ।

त्यसपछि डेवाल्ड ब्रेभिस र शिवम दुबे मिलेर चेन्नईको इनिङ्सलाई सम्हाले । ब्रेभिसले मात्र २५ बलमा ४२ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे ।

अन्तिम ओभरमा आउट हुनअघि दुबेले ३२ बलमा ३९ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा १६ रन जोडे । उनले १ छक्का प्रहार गरे ।

राजस्थानका युद्धविर सिंह र आकाश माधवलले समान तीन विकेट लिए । तुसार देशपाण्डे र वनिन्दु हसरंगाले एक–एक विकेट लिए ।

जितसँगै १४ खेलबाट आठ अंक जोडेको राजस्थान तालिकाको नवौँ स्थानमा रह्यो । १३ खेलबाट ६ अंक जोडेको चेन्नाई १०औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप