उत्साही बेंगलुरु र उपाधि होडबाट बाहिरिएको हैदराबाद पहिलो पटक इकाना स्टेडियममा भिड्दै

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद शुक्रबार लखनउमा प्रतिस्पर्धा गर्दैछन्।
- खेल लखनउको इकाना स्टेडियममा हुनेछ, जसअघि बेंगलुरु र हैदराबादले सिजनमा १३औँ खेल खेल्दैछन्, जसमा बेंगलुरु प्ले-अफमा पुगिसकेको छ।
- बेंगलुरु हाल अंक तालिकामा दोस्रो स्थानमा छ, जबकि हैदराबाद उपाधि होडबाट बाहिरिएको छ, तर खेलमा दबाबमुक्त हुने सम्भावना छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै छ । खेल लखनउस्थित अटल बिहारी बाजपेई (इकाना) स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६५औँ खेल हो । पहिले यो खेल बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलाइने कार्यक्रम थियो । तर, त्यहाँको सम्भावित प्रतिकुल मौसमलाई ध्यानमा राखी खेल लखनउमा सारिएको हो ।
इकाना स्टेडियममा बेंगलुरु र हैदराबाद पहिलो पटक आपसमा भिड्न लागेका हुन् । हैदराबाद र बेंगलुरु दुबैले जारी सिजनमा आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । बेंगलुरु प्रतियोगिताको प्ले–अफ चरणमा पुगिसकेको छ ।
अर्कोतिर, हैदराबाद यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । क्वालिफायर–१ खेल्ने लक्ष्यमा रहेको बेंगलुरुका लागि यो खेल निकै महत्त्वपूर्ण छ । यी दुवै टोली जारी सिजनमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।
बेंगलुरु हाल १२ खेल खेल्दै १७ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । बेंगलुरुले आठ जित र तीन हारको नतिजा निकालेको छ । बेंगलुरुको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । शुक्रबारको खेलमा विजयी भए बेंगलुरु १९ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लनेछ ।
यसैगरी, हैदराबाद १२ खेलबाट नौ अंक जोड्दै तालिकाको आठौँ स्थानमा आसीन छ । हैदराबादले हालसम्म चार जित र सात हारको नतिजा निकालेको छ । हैदराबादको पनि एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
उपाधि होडबाट बाहिरिइसकेकाले हैदराबाद शुक्रबारको खेलमा दबाबमुक्त भएर ओर्लनेछ । त्यसैले यो खेलमा बेंगलुरुका लागि हैदराबादको टोली घातक बन्न सक्छ । बेंगलुरुले आफ्नो अन्तिम खेल लखनउ सुपर जायन्ट्ससँग र हैदराबादले आफ्नो अन्तिम खेल कोलकाता नाइट राइडर्ससँग खेल्नेछन् ।
आईपीएलको इतिहासमा हालसम्म यी दुई टोली २५ पटक आपसमा भिडेका छन् । यो तथ्याङ्कले बेंगलुरुभन्दा हैदराबादलाई केही बलियो देखाउँछ । हैदराबादले १३ खेलमा बेंगलुरुलाई हराएको छ । बेंगलुरुले भने ११ खेलमा हैदराबादलाई पराजित गरेको छ । एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
जारी संस्करणमा बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले हालसम्म ११ खेल खेल्दै कुल पाँच सय पाँच रन बनाएका छन् । यस क्रममा उनले सात अर्धशतक पनि प्रहार गरेका छन् ।
बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले १० खेलमा १८ विकेट लिइसकेका छन् । घाइते भएका कारण चेन्नईविरुद्धको खेलमा भने उनी मैदानमा ओर्लिएका थिएनन् । अझै पनि उनले खेल्ने वा नखेल्ने स्पष्ट भइसकेको छैन ।
यसैगरी, हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान अभिषेक शर्मा हुन् । उनले टोलीका लागि कुल तीन सय ७३ रन बनाएका छन् । हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले हालसम्म १५ विकेट लिएका छन् ।
बेंगलुरु र हैदराबादबिच शुक्रबारको खेल हुने इकाना स्टेडियमको पिचले पछिल्लो केही वर्षयता अनौठो चरित्र देखाउने गरेको छ । कालो र रातो माटोले तयार पारिएको यो पिचमा कहिले बढी रन बन्ने गरेको छ भने कहिले निकै कम ।
यो स्टेडियममा हालसम्म आईपीएलको २० खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ११ खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । एक खेल अनिर्णीत रूपमा सकिएको छ ।
अटल बिहारी बाजपेई (इकाना) स्टेडियममा हालसम्म खेलिएको आईपीएल खेलमा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय ३५ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध बनाएको थियो ।
हैदराबाद र बेंगलुरुबिच खेल हुने दिन शुक्रबार लखनउमा वर्षाको निकै कम सम्भावना रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको सम्भावना केवल १३ प्रतिशत छ । तापक्रम भने २७ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ ।
बेंगलुरुको सम्भावित टोलीमा रजत पाटिदार (कप्तान), विराट कोहली, फिल साल्ट वा ज्याक बेथेल, मयंक अग्रवाल, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, सुयंश शर्मा र लुङ्गी एनगिडी रहेका छन् ।
यसैगरी, हैदराबादको सम्भावित टोलीमा प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, नितिश कुमार रेड्डी, कामिन्दु मेन्डिस, हर्षल पटेल, जिशन अन्सारी, एशान मालिङ्गा र मोहम्मद शामी रहेका छन् ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी स्वच्छता कार्यक्रमका लागि पूर्वाधार निर्माणको काम सुरू
-
तेस्रो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्मको आम्दानी कति ?
-
भिजिट भिसा प्रकरण : गृह मन्त्रालय तर्किँदै, अध्यागमनले थाल्यो आन्तरिक छानबिन
-
मिर्गौला पीडित बचाउ महाअभियान सुरू
-
भिजिट भिसा श्रम मन्त्रालयको क्षेत्राधिकारभित्र पर्दैन : महानिर्देशक भट्टराई
-
प्रसाईंविरुद्ध ५ मुद्दा, १०८ जनालाई मुद्दा चलाउनुपर्ने प्रहरीको राय