सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
अन्तरवार्ता

‘कुलिङ पिरियड निजामतीलाई मात्र होइन, सबैका लागि राख्नुपर्छ’

शुक्रबार, ०९ जेठ २०८२

सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत क्रियाशील भवानी न्यौपाने दाहाल निजामती कर्मचारी संगठनको नेतृत्व अर्थात् अध्यक्ष पदमा छिन् । नेपालको कर्मचारी युनियनको इतिहासमै उनी पहिलो महिला अध्यक्ष हुन् । यस अघि उनी यही संगठनको उपाध्यक्ष थिइन् ।

कुनै बेला टेलिभिजन प्रस्तोतासमेत रहेकी दाहालसँग निजामती विधेयक, कर्मचारीहरूको अवस्था लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले कुराकानी गरेको छ । जनताको करबाट तलब–सुविधा खाएर कर्मचारीले राजनीति गर्न मिल्छ ? खरदारले सचिव बनाउने काम कहिलेसम्म ? कुलिङ पिरियड ठिक कि बेठिक ? मुख्य सचिव हुल बाँधेर दैलादैलामा पुग्नु कति सुहाउने कुरा हो ?

प्रस्तुत छ, यिनै विषयमा रातोपाटीका लागि रोहित दाहालले निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालसँग गरेको कुराकानीको सम्पादित अंश–

  • राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती विधेयक सम्बन्धमा तपाईंको प्रतिक्रिया के हो ?

हामीले ८५ वटा माग दिएका थियौँ । समितिमा छलफल पनि भएको छ, तर समितिले के पारित गर्‍यो भन्ने कुराचाहिँ गर्भमै छ । के आयो भन्ने थाहा नै छैन ।

  • तपाईंहरूको मुख्य मागचाहिँ के थियो ?

ट्रेड युनियन अधिकार । लोकतन्त्र प्राप्तिका लागि निजामती कर्मचारीको योगदान महत्त्वपूर्ण छ । यो कसैले दिएको होइन, लडेर ल्याएको हो । अर्को, वृत्ति विकासको कुरा पनि हो ।

  • पेसागत हकहितबाहेक नागरिक सेवालाई सहज बनाउने, सेवा प्रदायकलाई कर्मचारीले दिएको दुःख, हैरानीबारेचाहिँ चासो नहुने रहेछ, हैन ?

जनतालाई लोकतन्त्र चाहिएजस्तै हामीलाई पनि ट्रेड युनियन अधिकार चाहियो ।

  • त्यसका लागि पार्टीपिच्छेका ट्रेड युनियन किन चाहियो ? अधिकारिक ट्रेड युनियन छँदैछ त ?

लोकतन्त्रमा विचारविहीन व्यक्ति कोही हुन सक्छ ? यति हो सेवामा तटस्थता हुनुपर्‍यो । विचारमा बलियो हुनुपर्‍यो । अर्को कुरा, आधिकारिक ट्रेड युनियनको चुनाव गराउन सरकारलाई कसले रोक्यो ? ९ वर्ष भइसक्यो चुनाव गराउनु पर्दैन ? त्यसलाई सरकारले मारिसकेपछि हामी चुप लागेर बस्न सक्छौँ ?

  • सरकारी जग्गा–भवन कब्जा गरेर ट्रेड युनियनका कार्यालय राख्न मिल्छ ?

जग्गा अहिले पनि सरकारकै हो । हामीले हाम्रो रगत पसिना खर्चेर, आफ्ना बच्चाको गाँस काटेर एउटा बस्ने ठाउँ बनाएका हौँ । हामीले त्यसलाई दुरुपयोग गरेका छौँ ?

  • जनताको करबाट तलब–सुविधा खाएर राजनीति गर्न मिल्छ त ?

जनताको करबाट हामीले तलब खायौँ । अनि हाम्रो करचाहिँ जनताले खानु भएको छ कि कसले खानुभएको छ त ? हामीले पनि कर तिरेको हेरिदिनुपर्‍यो ।

  • खरदारले सहसचिव, बनाउने, सचिव बनाउने, सरुवा गर्ने काम कहिलेसम्म चल्छ ?

त्यसका लागि पहिला ट्रेड युनियन के हो भनेर बुझ्नुपर्‍यो । वार्तामा जोसँग बसे पनि ट्रेड युनियनको प्रतिनिधि समान हुन्छ । अफिसियल पद गौण हो त्यो वेलामा । ट्रेड युनियनको प्रतिनिधि खरदार नै भए पनि वार्तामा प्रधानमन्त्रीसँग बसे पनि, मुख्य सचिवसँग बसे पनि समान हो ।

  • भनेपछि खरदारसँग प्रधानमन्त्री, मुख्य सचिव डराउनुपर्‍ यो ?

डराउने–नडराउने त्यो उहाँहरूको कुरा हो । गलत गर्नुहुन्न भने किन डराउनु ? हामीसँग न हतियार छ, न बन्दुक, किन डराउनु ?

  • यसअघि ट्रेड युनियनका मान्छेले सचिवका कार्यकक्षका सिसा फुटाएका, मुक्का हानिएका घटना छैनन् र ?

त्यो व्यक्तिको स्वभावमा भर पर्छ । त्यो जन्मजात व्यक्तिका स्वभाव त परिवर्तन गर्न कसैले सक्दैन नि ।

  • तपाईंले नेतृत्व गरेको संगठनमा कति सदस्य छन् ?

करिब चालिस हजार ।

  • ती चालिस हजार जनामध्ये अहिलेसम्म एउटाले पनि भ्रष्टाचार गरेका छैनन् ?

नेतृत्व गर्नेमा अहिलेसम्म हामीले भेटेका छैनौँ ।

  • मैले केही नाम दिए भने कारबाही गर्नुहुन्छ ?

प्रमाणित भयो भने सदस्यता खारेज हुन सक्छ ।

494687396_3978887592371447_7169052285426195145_n

  • तपाईंको संगठनका सदस्यहरूको सम्पत्ति छानबिन गर्न सक्नुहन्छ ? विगतमा उनीहरूको हैसियत के थियो अहिले कस्तो छ ? नाङ्गो आँखाले देखिँदैन र ?

विभागीय स्वीकृति लिएर सरकारले बाहिर केही गर्नलाई अनुमति दिएको छ । त्यो अनुसार कसैले बाहिर केही गरेको पनि हुनुहोला ।

  • ए ! तलब सरकारको खाने काम बाहिर गर्न जान दिने अनुमति ?

सरकारले किनेको समयभन्दा बाँकी समयका लागि हो । कतिका छोराछोरी विदेशमा छन् । उनीहरूले पनि पैसा पठाउलान् । गाडी किनिदिएका होलान् ।

  • घुसखोरी, दलाल, जनताको काम नगर्ने कर्मचारीलाई बहिष्कार गर्न सक्नुहुन्छ ?

हामीले किन स्वागत गर्नु परेको छ र ? कतै कार्यक्रममा त्यस्तो स्वागत गरेको देख्नुभएको छ र ? केन्द्रीय अध्यक्ष बनाएको देख्नुभएको छ ?

  • यो देशका सबैभन्दा ठुला भ्रष्टाचारी कर्मचारी हुन् । उनीहरूका कारण देश बनेन भन्यो भने सही हुन्छ नि ?

हुँदैन ।

  • किन नहुनु ? प्रतिवेदनले नै त्यही भन्छ त ?

मृत्यदण्ड दिने देशमा पनि भ्रष्टाचार शून्यमा छैन । अर्को कुरा, सबैभन्दा पहिला जनता सचेत हुनुपर्छ । एक घण्टा लाइन बस्न जनता तयार हुनुपर्‍यो । पाँच हजार दिन नभई लाइन बस्न तयार हुनुपर्‍यो । जनताले कर छलेको देख्नुभएको छैन ? जनता पनि कसो गर्दा राज्यलाई कर कम तिर्नुपर्छ भनेर बाटो खोज्छ । त्यो भ्रष्टाचार होइन ? थोरै दिएर धेरै लाभ लिने कुरा पनि छाड्नुपर्छ जनताले ।

सेवाग्राही जति बलियो हुन्छ, हामी टसमस गर्न पाउँदैनौँ । क्षतिपूर्तिसहितको नागरिक सेवा हामीले उठाएको हो त । किन कार्यान्वयन गर्दैन सरकार ? मबाट क्षति पुगे मलाई तिराओ भनेर हामी आफैँले भनेकै छौँ त ? राज्यले काम नगर्ने अनि सिंहदरबारमा कुकुर पस्यो भने पनि ट्रेड युनियनले पसाएको भनेर आरोप लगाउन मिल्छ ?

  • निजामती विधेयकमा दुई वर्ष कुलिङ पिरियड राखेको विषयमा मुख्य सचिव, सचिवहरूले खेलेको देउसीप्रति तपाईंको भनाइ के हो ?

लोकतन्त्र सबैको लागि हो के । लोकतन्त्र मुख्य सचिवलाई पनि हो । सचिवलाई पनि हो । अरुलाई पनि हो । माग राख्ने कुरा गलत हो भन्न चाहन्नँ । माग ठिक छ कि छैन, त्यो राज्यले हेर्ने कुरा त छँदै छ ।

  • मुख्य सचिव हुल बाँधेर दैलादैलामा पुगेको पनि तपाईंका लागि राम्रो ?

जुन तरिकाले हिँडुनुभयो हुल बाँधेर, त्यो तरिका ठिक होइन ।

  • कुलिङ पिरियड राख्नु ठिक कि बेठिक ?

कुलिङ पिरियड चाहिन्छ । तर निजामतीलाई मात्र होइन, सबैका लागि राख्नुपर्छ ।

  • अध्यक्षका रूपमा तपाईंको कार्यकाल सकिँदा कर्मचारीको काम गर्ने शैलीमा केही परिवर्तन हुन सक्छ ?

निजामती कर्मचारी संगठनको लोगो लगाएर कार्यालयमा बसेका कर्मचारीबाट सेवा प्रदायकलाई दुःख दिने काम हुने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया