मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

बालाजु पौडी पोखरी सञ्चालनमा

आइतबार, १८ जेठ २०८२, २२ : ३१
आइतबार, १८ जेठ २०८२

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको पौडी पोखरी सञ्चालनमा ल्याएको छ ।  विक्रम संवत् २०७२ को भूकम्पपछि बन्द भएको पौडी पोखरी मर्मतसम्भार गरी आजदेखि सञ्चालनमा ल्याइएको हो । 

सञ्चालनको  पहिलो दिन  २०५ जनाले सेवा लिँदा रु ४० हजार शुल्क सङ्कलन भएको बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जनविक्रम बस्नेतले जानकारी दिए। आर्थिक वर्ष २०८१/८२ का लागि काठमाडौँ महानगरपालिकाले जारी गरेको आर्थिक ऐन अनुसारको शुल्क निर्धारण गरिएको हो । पौडी पोखरी सञ्चालनका लागि मस्यौदा कार्यविधि तयार भइसकेको छ ।  कार्यविधि र आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरिने आर्थिक ऐनबाट स्थानीयका माग सम्बोधन गरिने बताइएको छ । 

अठार लाख लिटर पानी अटाउने उक्त पोखरीको लम्बाइ ५० मिटर र चौडाइ १८ मिटर छ । गहिराइ ३ देखि १० फिटसम्म छ । पोखरीको पानी शुद्ध बनाउन पानी प्रशोधन प्लान्ट छ भने  पानीको पिएच भ्यालु र क्लोरिन भ्यालुको सन्तुलन गर्न स्वचालित डिजिटल प्रणाली जडान गरिएको प्रमुख बस्नेतले बताए । उक्त ठाउँमा प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।

बालाजु बाइसधारा उद्यान १५८ रोपनी क्षेत्रफलमा फैलिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लको पालामा २१ वटा धारा निर्माण गरिएका थिए । पछि रणबहादुर शाहले बीचमा एउटा ठूलो धारा निर्माण गराएपछि यसको नाम बाइस धारा रहन गएको हो । विसं २०१८ मा तत्कालिन राजा महेन्द्र शाहको पालामा बालाजु बाइसधारा उद्यान निर्माण भएको हो । सर्वसाधारणका लागि भने यो २०२१ सालदेखि खुला गरिएको हो । 

भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । रु सात करोड ४३ लाख ३१ हजारको लागतमा २०८० चैत १९ गते पोखरी पुनःनिर्माण गरिएको प्रमुख बस्नेतले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप