मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
प्रश्न सोध्दा हातपात

प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली

खासमा प्रचण्डले के भनेका थिए र अधिकारीले बिचमै प्रश्न सोधे ?
आइतबार, १८ जेठ २०८२, १२ : २१
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न सोधेपछि नुवाकोटमा एक युवामाथि हातपात भएको छ।
  • प्रचण्डले भाषण गरिरहँदा प्रश्न सोध्न खोज्दा स्थानीय कार्यकर्ताले जनार्दन अधिकारीलाई कुटपिट गरे।
  • अधिकारीले आफूलाई प्रश्न सोध्ने अधिकार हनन भएको र गणतन्त्रमा बोल्न नपाएको गुनासो गरे।

काठमाडौँ । ‘एउटा प्रश्न गर्न चाहन्छु हजुरलाई !’ दर्शकदीर्घामा रहेका एक युवाले मञ्चमा भाषण गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भन्छन् । 

प्रचण्डले जवाफ फर्काउँछन्, ‘यो प्रश्नोत्तर कार्यक्रम होइन प्लिज !’

युवाले फेरि भन्छन्, ‘म आम नागरिकको हैसियतले तपाईंलाई प्रश्न सोध्न चाहन्छु ।’

त्यसपछि प्रचण्डले भन्छन्, ‘नागरिक छाड्नुस् न, यहाँ समय छैन ।

युवाले प्रतिप्रश्न गर्छन्, ‘मैले प्रश्न सोध्न पाउँदिन ?’ 

प्रचण्डको जवाफ हुन्छ, ‘अहिले हुँदैन । अघि पत्रकार सम्मेलन गर्दा जति सोधे नि हुन्थ्यो नि तपाईंले ?’

यसरी सवालजवाफका बिच पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सम्बोधन अघि बढाउँछन् र लगत्तै भाषण सकेर कार्यक्रमस्थलबाट बिदा हुन्छन् ।’

यो दृश्य नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहभागी एक कार्यक्रमको हो । प्रचण्ड शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ३ स्थित श्री बागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सहभागी हुन त्यहाँ पुगेका थिए । सोही कार्यक्रममा माओवादी नेता तथा सोही क्षेत्रका सांसद हितबहादुर तामाङ, नेतृ विमला सुवेदीलगायतको सहभागिता थियो । करिब १३ मिनेट भाषण गरेपछि युवाले बिचमै प्रचण्डलाई प्रश्न सोधेका थिए । 

यसरी प्रचण्डलाई प्रश्न सोध्ने युवा हुन्, सोही गाउँपालिकाको वडा नम्बर २ निवासी युवा जनार्दन अधिकारी । उनी राप्रपाका स्थानीय नेता भएको खुलेको छ । आइतबार बिहान रातोपाटीसँगको कुराकानीमा उनले आफू राप्रपा वडा नम्बर २ को सचिव भएको स्वीकार गरे । यस्तै उनले आफू युवा संघ नुवाकोटको पनि सचिव भएको खुलाए । 

प्रचण्डलाई रोकेर उनले प्रश्न गरेपछि स्थानीय माओवादी कार्यकर्ताले आफूलाई हातपात गरेको अधिकारीले बताएका छन् । सार्वजनिक भिडियोमा उनलाई स्थानीय कार्यकर्ताले प्रचण्डलाई प्रश्न सोधेको भनेर आक्रोश पोखेको देखिन्छ । उनलाई प्रश्न सोध्ने बेलैमा पनि नजिक रहेकाहरूले रोक्न खोजेको देखिन्छ । केही समयमै उनलाई कार्यक्रमस्थलबाट बाहिर लगिएको थियो भने सोही क्रममा हातपात भएको अधिकारीको भनाइ छ । 

प्रचण्डलाई प्रश्न सोधेकै कारण अधिकारीमाथि हातपात भएको भन्दै यतिबेला सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको छ । 

  • खासमा प्रचण्डले के भनेका थिए ?

सम्बोधनका क्रममा प्रचण्डले गणतन्त्र आएपछि केही पनि भएन र सबै बर्बाद भयो भनेर भाष्य सिर्जना गर्न खोजिएपनि त्यो सबै गलत भएको बताएका थिए । ‘लोकतन्त्र र गणतन्त्र अगाडि देशका भौतिक पूर्वाधार विकासको कुरा गर्ने हो भने क्रान्तिकारी परिवर्तन भएको छ । तथ्यद्वारा प्रमाणित गर्न सकिन्छ’, राजतन्त्र र गणतन्त्रको तुलना गर्दै प्रचण्डले भनेका थिए, ‘स्वास्थ्यको क्षेत्रमा कुरा गर्ने हो भनेपनि धेरै ठुलो सकारात्मक परिवर्तन भएकै छ ।  हिजो राजतन्त्र हुँदा, निरंकुशतन्त्र हुँदा नेपालीहरूको सरदर आयु ५८/५९ पनि पुगेको थिएन, अहिले ७२ वर्ष पुगेको छ।’

गणतन्त्रले स्वास्थ्यको क्षेत्रमा गरेको सुधारले यो अवस्था आएको उनको भनाइ थियो । उनले राजतन्त्रको बेलामा भन्दा गणतन्त्रमा बालमृत्युदर धेरै घटेको बताएका थिए । ‘तपाईँ हरेक क्षेत्रमा हेर्नुभयो राम्रो भएको छ । तर, बरु, पहिला राम्रो थियो गणतन्त्र आए पनि केही भएन भनेर भाष्य जे बनाउन खोजिएको छ, त्यो बिलकुल झुटो र वाइयात कुरा हो’, प्रचण्डको भनाइ थियो । 

अहिले गाउँगाउँमा पालिका र प्रदेशमा सरकारहरू रहेको उल्लेख गर्दै प्रचण्डले जनताले आफ्नो गाउँठाउँमा सेवा पाउने वातावरण बनेको बताएका थिए । प्रचण्डले राजावादीले केही मान्छेलाई भाडामा ल्याएर उफार्दैमा यति ठुला संघर्ष र बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई खतरा आइसक्यो भन्नुचाहिँ सत्य नभएको बताएका थिए । 

496510717_2831608297027230_5056830273730516789_n

‘सरकारको नेतृत्वमा रहेकाहरूले राम्रोसँग जनताको भावनालाई बुझेर काम नगर्दा जनतामा बेलाबेलामा असन्तुष्टि र आक्रोश देखिने पनि गरेको छ’, प्रचण्डको भनाइ थियो, ‘जनतामा देखिने यो आक्रोश गणतन्त्रप्रतिको आक्रोश र असन्तुष्टि होइन । कतिपय नेताहरू र नेतृत्वले गलत काम गरेको कुराले त्यसबाट नाजायज फाइदा उठाउनचाहिँ राजावादीहरुले जमर्को गरेकोचाहिँ गरेका छन् । तर त्यो कहिल्यै सफल हुँदैन ।’

प्रचण्डले यति धारणा राखेपछि नै राजावादी पार्टीका स्थानीय नेता अधिकारीले प्रचण्डलाई बिचमै प्रश्न सोधेका थिए । 

  • के भन्छन् अधिकारी ?

उनले प्रचण्डलाई प्रश्न सोधेको र सोही आधारमा हातपात समेत भएको विषय बाहिर आएपछि उनलाई आइतबार बिहान रातोपाटीले सम्पर्क गरेको थियो । रातोपाटीसँगको कुराकानीमा उनले प्रश्नको सामना गर्न नसक्नु प्रचण्डको कमजोरी भएको बताए । उनले आफू काठमाडौँमै नेट कम्पनीमा कार्यरत रहेको र प्रचण्ड सहभागी कार्यक्रममै आफूलाई पनि सम्मान गर्ने तय भएकाले सहभागी हुन गएको बताए । 

घटनाबारे जनार्दनको भनाइ जस्ताको तस्तै:

मेरो नाम जनार्दन अधिकारी हो ।  एउटा प्रश्न प्रश्न गर्न लाग्दाखेरि उहाँ (प्रचण्ड)को कार्यकर्ताले हातपात गरेका हुन् । प्रश्न स्थानीय सामाजिक समस्या समाधान कसरी गर्ने, त्यहाँको शिक्षा कस्तो हुनुपर्छ भन्ने कुरा थियो । साथसाथै मुख्य कुरा चाहिँ माओवादीले जनयुद्धकालमा शिक्षाको सवालमा कस्तो नीति लिएको थियो । र, अहिले त्यही कार्यकर्ताले चाहिँ ठूलाठूला बोर्डिङ स्कुल चलाउँदै गरेको कुरा उठाउन खोजेको थिएँ ।  संस्कृत भाषा चाहिँ मास्ने र अहिले कुनचाहिँ भाषालाई जोगाउनु भयो भन्ने मेरो प्रश्न थियो । आज तामाङ भाषा नासिँदै छ, नेवारी भाषा नासिँदै छ। गुरुङ भाषा नासिइसक्यो । यो लगायत कुन भाषालाई एउटा पाठ्यक्रममा समावेश गरेर अध्ययन गराउनुर्पयो नि । अनि पहिचानको रक्षा त त्यसरी हुन्छ नि। म पहिचानको लागि लडेँ भन्ने अनि भाषा मासेर, धर्म मासेर, संस्कृति मासेर पहिचानको सुरक्षा कसरी हुन्छ त ? भन्ने एउटा प्रश्न थियो।

हिजो जे भयो, गणतन्त्रमा पनि बोल्न पाउने अधिकार हनन भएको छ। म आम नागरिक हो ।  म पत्रकार चाहिँ होइन । अब जनताले अलि असन्तुष्टि भएपछि देशको अवस्थाबारे प्रश्न जहाँ जतिबेला पनि सोध्छ।  विवेक पुर्‍याएर त्यसलाई सामना गर्न नसक्नु चाहिँ नेताको कमजोरी हो । 

Capture

 सम्भवतः त्यहाँ पुलिसले प्रोटेक्सन नदिएको भए मलाई थप क्षति पनि गराउन सक्थ्यो होला। त्यहाँ थप तनाव हुने सम्भावना पनि हुनसक्थ्यो।  नाकमा र मुखमा चोट लागेको छ । कुटपिट पनि भयो। लात्ता  पनि हाने । मुर्दाबाद जिन्दाबाद भनेर होइन एउटा प्रश्न सोध्छु भन्दै गर्दाखेरि पनि कुटपिट खानु भनेको लोकतन्त्रमा शोभनीय कुरा होइन । 

शनिबार जहाँ कार्यक्रम भयो, त्यो विगतमा म आफैले पढेको विद्यालय हो । श्री बागेश्वरी माध्यमिक विद्यालय सुर्यगढी तीनमा पर्छ र मेरोचाहिँ वडा नम्बर २ मा घर छ ।  विगतमा मैले विद्यालयलाई केही सहयोग गरेको थिएँ । सोही कारण मलाई कार्यक्रममा निम्ता भएकाले गएको थिएँ । सोही सहयोग भएकाले शनिबार मलाई विद्यालयले सम्मान पनि गरेको थियो । 

म काठमाडौँको धुम्बाराहीमा बस्छु र नेटतिर काम गर्छु । राजनीतिक रुपमा म सूर्यगढी–२, नुवाकोटमा राप्रपाको पार्टी सचिव हुँ । पार्टी निकट युवा सङ्घको जिल्ला सचिव पनि हो ।

 गणतन्त्र आए पनि किन जनताको पक्षमा काम भएको छैन । त्यत्रो जनताको जनमत पाएर पनि नेताहरुले मतको अवमूल्यन गर्नुभएको छ । अनि विदेशीहरूको भजन मण्डली गाएर नमस्कार भनेर जिन्दाबाद भन्दै हिँडेर भयो त ? अनि जनता गतिशील हुनुपर्‍यो कि परेन ? परिवर्तन हुनुपर्‍यो कि परेन ? 

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता भनेको नेपाली जनताहरूमाथि छोडिएको स्लो पोइजन हो। जसरी स्लो पोइजनले विस्तारै बिस्तारै मार्छ नि, त्यसरी नै संघीयता र गणतन्त्रले भाषा धर्म संस्कार संस्कृति यो सबै मारिरहेको छ। त्यसकारण व्यवस्था चाहिँ राजा नै सही हो भन्ने मेरो भनाइ हो । देश बचाउनका लागि राजा चाहिन्छ । तर, लोकतान्त्रिक प्रणालीमार्फत नै राजतन्त्र फर्काइनुपर्छ भन्नेमा म विश्वास राख्छु । अर्को कुरा यो सङ्घीयताले धान्न सकेन । सङ्घीयताले देशलाई सुरक्षित पनि बनाउँदैन।

ममाथि जसरी हातपात भयो, मैले कसैविरुद्ध उजुरी दिने योजना भने बनाएको छैन । स्थानीय पार्टीका नेताहरुले फोन गर्नुभएको पनि थियो । तर, जसले हातपात गरे, उनीहरुले गलत गरियो भनेर आफैँ रियलाइज गरुन् ।

शुक्रबार नुवाकोट गएको म गएराति काठमाडौँ फर्किसकेको छु ।  

हितबहादुर तामाङ भन्छन्– बोलिरहेको मान्छेलाई के प्रश्न सोध्नु ?

सोही क्षेत्रका सांसद तथा माओवादी नेता हितबहादुर तामाङले बोलिरहेका प्रचण्डलाई असान्दर्भिक प्रश्न सोध्ने काम हुँदा केही असहज स्थिति आएको बताए । 

‘अरू त केही होइन।  प्रमुख अतिथि अथवा प्रचण्ड कमरेडले बोल्दै गर्नुभएको अवस्थामा उसले तलबाट प्रश्न गर्न खोजिरहेको थियो, त्यो प्रश्नोत्तर कार्यक्रम थिएन’, उनले भने, ‘बोलिरहेको मान्छेलाई त के प्रश्न सोध्नु ?’ 

त्यसपछि केही असहज स्थिति बनेको स्वीकार गरेपनि तामाङले कसैमाथि हातपात भएकोबारेमा भने थाहा नभएको प्रतिक्रिया दिए । यसैगरी राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले प्रश्न सोधेकै आधारमा कुटपिट हुनु निन्दनीय विषय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप