बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी आन्दोलन

राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’

आइतबार, १८ जेठ २०८२, २० : ४८
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • राजधानीमा राजावादी समूहले संघीयता खारेजी, राजसंस्था पुनर्स्थापना र भ्रष्टाचारको विरोधमा आन्दोलन गरिरहेका छन्।
  • आन्दोलनमा राप्रपाका नेताहरूको सक्रियता देखिए पनि रवीन्द्र मिश्र र धवल शमशेर राणा भने अनुपस्थित रहेका छन्, मुद्दाका कारण उनीहरू सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
  • पक्राउ परेका मिश्र र राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित विभिन्न मुद्दा दायर भएको छ, अदालती प्रक्रियाका कारण उनीहरू सार्वजनिक प्रदर्शनबाट टाढै छन्।

काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले बिहीबारदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । संघीयताको खारेजी, राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापना र भ्रष्टाचारको एजेन्डा बोकेर राजावादी समूह सडकमा आएका हुन् । 

बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेका राजावादीहरुले त्यसको भोलिपल्ट माइतीघर र शनिबार शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गरेका थिए । यस्तै आइतबार नारायणचौर नक्सालमा प्रदर्शन गरिएको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए । 

राजावादीको आन्दोलनमा संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापासहित राजावादी नेताहरुको सक्रियता देखिन्छ । तर, आन्दोलन समितिको सदस्य सचिव रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिका संयोजक धवल शमशेर राणा कतै देखिँदैनन् । 

मिश्र राप्रपाका उपाध्यक्ष हुने भने राणा महामन्त्रीको हैसियतले जनआन्दोलन समितिमा महत्त्वपूर्ण भूमिकामा रहेका हुन् । तर, उनीहरू आन्दोलनमा गुमनाम हुन् । 

राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीले मिश्रविरुद्ध अदालतमा मुद्दा चलिरहेको र  वकिलहरुको सल्लाहमै उनी हाल आन्दोलनमा सहभागी नभएको बताए । ‘सर्वोच्चमा दायर भएको बन्द्रीप्रत्यक्षीकरणको रिटका आधारमा रिहा हुनुभएको उहाँ बीचमा केही दिन रेस्ट बस्नु भएको थियो । अझै पनि तत्काल उहाँ राजावादीको आन्दोलन र सार्वजनिक कार्यक्रममा देखिनुहुन्न’, उनले भने । अझै पनि प्रहरीले मिश्रको मोबाइल नियन्त्रणमै राखेको छ । 

यद्यपि उनी आन्दोलनसम्बन्धी आन्तरिक गतिविधिमा भने सक्रिय रहेको बताइएको छ ।  यस्तै धवलशमशेर राणा मिश्रजस्तै अहिलेको आन्दोलनमा देखिएका छैनन् । 

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले आन्दोलनमा सहभागी हुँदा राज्यले थप दुख दिनसक्ने तथा मुद्दा पनि चलिरहेको हुनाले उनी मौन रहेको बताए । यद्यपि आन्दोलनको रणनीति बनाउनेदेखि जनपरिचालनलगायतको आन्तरिक काममा राणाले सक्रियतापूर्वक भूमिका निर्वाह गरिरहेको बताइएको छ । शनिबार बसेको राप्रपाको बैठकमा समेत दुबै नेता सहभागी भएका थिए । 

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वको समूहको आयोजना र आन्दोलन समितिको समर्थनमा भएको प्रदर्शनमा हिंसा फैलिएको थियो । उक्त प्रदर्शनमा हिंसा भड्काउन भूमिका खेलेको आरोपमा राणा र मिश्र सोही साँझ पक्राउ परेका थिए । 

क्यान्सरको बिरामी समेत रहेका राणा वैशाख ७ गते रिहा भएका थिए भने मिश्र ४९ दिनपछि जेठ २ गते सर्वोच्चको आदेशले रिहा भएका थिए । 

तर, सोही घटनामा संलग्न भएको भन्दै मिश्र र राणासहित ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मिश्र र राणा विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको हो भने मुद्दाको थुनछेक प्रक्रिया चलिरहेको छ । 

अदालतबाट आदेश नआउँदासम्म उनीहरू सार्वजनिक कार्यक्रममा सहभागी नभई पर्ख र हेर को नीतिमा रहेको बताइएको छ । रिहा भएपछि राणा १५ वैशाखमा काठमाडौँमा आयोजित राजावादीको कार्यक्रममा भने देखिएका थिए । सो कार्यक्रममा देखिएपछि उनी फेरि राजावादी आन्दोलनमा सहभागी भएको भनेर टिकाटिप्पणी  भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप