मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट

आइतबार, १८ जेठ २०८२, २० : ४०
आइतबार, १८ जेठ २०८२

कैलाली ।  धनगढीस्थित सहिद गेट कृषि उपज थोक बजारमा रहेको जय श्री जानकी स्टोरमा राखिएको २ हजार २ सय ६० किलोग्राम आँपमा आइतबार विषादीको अत्यधिक मात्रा भेटिएपछि नष्ट गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लका अनुसार आइतबार थोक बजार तथा मण्डीबाट तरकारी र फलफूलका १५ वटा नमुना सङ्कलन गरी विषादी अवशेष परीक्षण गरिएको थियो।

परीक्षणमा भिन्डी, काँक्रो, टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा परीक्षण गर्दा भारतबाट आयात गरिएको आँपमा मात्र विषादीको मात्रा अत्यधिक देखिएको हो ।

’आँपमा पाइएको विषादीको मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने स्तरभन्दा धेरै भएकाले तत्काल नष्ट गरिएको हो,’मल्लले भने ।संयुक्त अनुगमन टोलीले सहिद गेट कृषि उपज थोक बजार, दक्षिणकाली मार्ग सब्जीमण्डी र धनगढी चौराहास्थित हाट बजारबाट नमुना सङ्कलन गरेको थियो ।

अनुगमनमा धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पत्रकार महासङ्घ लगायत सरोकारवाला निकायहरू सहभागी थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले अन्य फलफूल तथा तरकारीमा विषादीको मात्रा सामान्य सीमाभित्र देखिए पनि भारतबाट ल्याइएको उक्त आँपमा अत्यधिक विषादी भेटिएको र त्यसैले खान अयोग्य ठहर गर्दै नष्ट गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप