गणतन्त्र आए पनि समृद्धि आएन

समाचार सारांश
- गणतन्त्र स्थापनाको १७ वर्षमा राजनीतिक अस्थिरता, नीतिगत अस्पष्टता र भ्रष्टाचारका कारणले समस्या देखिएको छ।
- दुई तिहाइ बहुमतको सरकारले संविधान मिचेपछि भूमिसुधार, कृषि क्रान्ति, र राष्ट्रिय औद्योगिकरण जस्ता महत्त्वपूर्ण कामहरू हुन सकेनन्।
- लेखकले राजनीतिक दलहरूलाई विगतको समीक्षा गर्दै साझा सवालमा एकताका साथ अघि बढ्न र वामपन्थीहरूलाई नयाँ धरातलबाट समाजवादतर्फ लाग्न आह्वान गरेका छन्।
गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्दैछ । यो १७ वर्षमा गणतन्त्र बालिग भयो भनिनुपर्ने हो । बालिग भएर यो हरप्रकारले सुदृढ भयो भन्ने ठाउँमा हामी पुग्नुपर्ने हो । तर यो १७ वर्षको अवधिमा हामीले गणतन्त्र घोषणा गरिसकेपछि संविधान बनायौँ, त्यसपछि पहिलो निर्वाचन गर्यौँ । त्यो निर्वाचनमा दुई पार्टी मिल्दा करिब दुई तिहाइ बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । त्यो दुई तिहाइ बहुमतको संसद्प्रति देशका तीन करोड जनता र नेपाल राष्ट्रको असाधारण र अभूतपूर्व अपेक्षा थियो ।
अब क्रान्तिकारी भूमिसुधार हुन्छ । भूमिहीन गरिब किसानहरूले पनि जमिनको मालिक बन्ने मौका पाउनेछन् । श्रमजीवी जनताले आफ्ना आधा पेट खाने भोका पेटहरूलाई कमसेकम सन्तुष्ट बनाउन सक्नेछन् । देशमा कृषि क्रान्तिको थालनी हुनेछ । कृषिलाई बिस्तारै बिस्तारै आधुनिकीकरण र यान्त्रिकीकरण गरिनेछ । र कृषिको विकासका साथसाथै कृषिमाथि आधारित, पानीमाथि आधारित, जडीबुटी, वनजंगलमाथि आधारित र विविध क्षेत्रमा नयाँ नयाँ उद्योगधन्दाहरूको, राष्ट्रिय उद्योगधन्दाहरूको सञ्जाल विकास विकसित हुनेछ ।
जनताले देशमै रोजगारी पाउनेछन् । विदेशतिर जाने ओइरो लाग्नुपर्ने स्थिति हुने छैन । भ्रष्टाचार पनि नियन्त्रित हुनेछ र लोकतन्त्रले अझै देशलाई पारदर्शी बनाएर सम्पूर्ण जनताका हक अधिकारको सुरक्षा पनि हुनेछ र मुलुक चौतर्फी विकासतर्फ अगाडि बढ्नेछ भन्ने आशा र अपेक्षा थियो । तर त्यो आशा र अपेक्षाविरुद्ध दुई तिहाइ बहुमत भएको संसद् संविधान नै मिचेर विघटन गर्ने काम भयो ।
त्यसपछि न भूमिसुधार, न कृषि क्रान्ति, न राष्ट्रिय औद्योगिकीकरण, न शिक्षा र स्वास्थ्यमा सुधार, न गरिबी उन्मूलन, न राष्ट्रियताको माथि बढिरहेका खतराविरुद्ध लड्ने काम पूरा भए । यी कुनै पनि काम नभएको देखेपछि जनतामा निराशा बढ्दै गयो । आक्रोश बढ्दै गयो । एक किसिमको अराजक प्रवृत्ति बढ्दै गएको अवस्था देखेपछि, पुनरुत्थानवादीहरू, राजावादीहरू धमिलो पानीमा माछा मार्ने मौका भनेर आफ्ना जालसाल लिएर जाल फ्याँक्न सुरु गरेका छन् । चाहे चैत १५ गतेको घटना भन्नुस्, चाहे तीनकुनेको घटना भन्नुस्, चाहे अब १५ गतेदेखि हामी यसो गर्छौँ उसो गर्छौँ भनेर राजावादी पुनरुत्थानवादीहरूले बनाएका सम्पूर्ण योजनाहरू त्यही धमिलो पानीमा माछा मार्ने प्रयासहरू हुन् । यद्यपि यिनीहरू दिवास्वप्नबाहेक अरू केही पनि होइनन् । यसबाट ठुलो कुरा केही पनि हुनेवाला छैन ।
अहिले देशमा आवश्यक भएको राजनीतिक स्थिरता हो । नीति, कार्यक्रमहरूमा अग्रगामी पक्षलाई प्रभावकारी ढंगले अगाडि बढाउनु हो । तर यी कुराहरू गर्न ठुलो पार्टी भएर पनि हुँदैन ।
तर अहिले जुन तपाईँले भनेको गणतन्त्रको आकाशमा काला बादलहरू छाउन थालेका छन् भन्ने कुरा जुन भन्नुभयो, त्यो सही कुरा हो । र त्यो कालो बादल के कारणले छाइरहेको छ भन्दा त्यो पुनरुत्थानवादीहरूबाट होइन । त्यो यथार्थमा सत्तामा बसेकाहरूको अकर्मण्यताको कारण, उनीहरूको दिशाहीनता, नीतिहीनताका कारण र सत्ताबाटै भइरहेको भयानक भ्रष्टाचारहरूका कारणले यी चिजहरू सिर्जना भइरहेका छन् । र गणतन्त्रमाथि खतरा बढ्दो छ ।
त्यसैले अब सम्भव हुन्छ भने सबै पार्टीले विगतका अनुभवबारे सिंहावलोकन गर्नुपर्छ । आफ्ना नीतिहरूबारे पुनः मूल्यांकन गर्नुपर्छ । साझा सवालमा मुलुकलाई र राष्ट्रलाई अग्रगतितर्फ लाने हिसाबले साझा सवालमा एकताबद्ध भएर अगाडि बढ्ने नयाँ पहलकदमी लिन सक्नुपर्छ । त्यसले मात्रै बिस्तारै काला बादलहरू फाट्दै जान सक्छन् र देशमा एउटा उज्यालो बढ्दै जान सक्छ । अन्यथा निकै ठुलो संकटको सामना गर्नु अनिवार्य हुन्छ ।
अहिले देशमा आवश्यक भएको राजनीतिक स्थिरता हो । नीति, कार्यक्रमहरूमा अग्रगामी पक्षलाई प्रभावकारी ढंगले अगाडि बढाउनु हो । तर यी कुराहरू गर्न ठुलो पार्टी भएर पनि हुँदैन । धेरै संख्या भएर पनि हुँदैन । दुई तिहाइ के, तीन चौथाइ नै बहुमत भए पनि त्यसले केही पनि गर्न सक्दैन ।
सबैभन्दा मुख्य कुरा मुलुक र राष्ट्रलाई अगाडि बढाउने सही कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, योजना, सही कार्यशैली, सुशासन आदि नै हुन् । यो कुरालाई दृढतापूर्वक स्थापित गरियो भने त्यो स्थिरताको पनि अर्थ हुन्छ । त्यो संख्याको पनि अर्थ हुन्छ । अन्यथा स्थिरता कायम हुन सक्दैन । मुख्य कुरा स्थिरताको आधार भनेको पनि सही नीति, सही कार्यदिशा, सही कार्यक्रम नै हो । त्यो कुरा यी सबै पार्टीहरूबाट मैले सम्भव देख्दिनँ ।
कमसेकम वामपन्थीहरूले अहिलेसम्म हिँडिरहेको कोर्सलाई बदलेर, विल्कुल नयाँ धरातलबाट देश, जनतालाई र राष्ट्रलाई केन्द्रबिन्दुमा राखी अब यो देशलाई समाजवादतर्फ लानुपर्ने बाध्यता छ । त्यो दिशामा अगाडि बढ्नुपर्छ । त्यसका लागि गर्नुपर्ने विविध कामहरू छन् भनेर यो आधारमा आफूलाई एकताबद्ध बनाउँदै अगाडि बढेको खण्डमा, मुलुकमा बिस्तारै नयाँ जुरमुराहट, नयाँ जागरुकता र स्थिरताका नयाँ लक्षणहरू प्रकट हुन्छन् र त्यो कालो बादल पनि फाट्दै जान्छ ।
विभिन्न पार्टीहरूका नेतृत्वहरूले आफूलाई विभिन्न कारणले नेतृत्वमा त पुर्याउन सके । तर उनीहरूले हिजोको व्यवस्था, हिजोको सामन्ती व्यवस्था, त्यसका संस्कारहरू, त्यसका संस्कृतिहरू, त्यसका शैलीहरू आदिको प्रतिविम्ब र प्रभावबाट आफूलाई मुक्त गर्न सकेनन् । त्यही कारणले उनीहरूका व्यवहारमा, उनीहरूका नीतिमा, उनीहरूका कार्यशैलीमा सामन्तवाद र सामन्ती संस्कृति अहिले व्याप्त रूपले प्रतिविम्बित भइरहेको छ । र उनीहरू आफूले गरेका गल्तीलाई देख्न पनि सक्दैनन् । आत्मालोचना गर्न पनि सक्दैनन् । एकले अर्काबाट सिक्न सक्दैनन् । अनि एक अर्काबीचमा बसेर भिन्नताका बारेमा छलफल गर्न पनि सक्दैनन् ।
यो देशका भूमिहीन गरिब किसान र निम्न मध्यम किसानहरूको जीवनमा के परिवर्तन आयो ? यो देशका निम्न पुँजीपति वर्ग भनौँ अथवा तल्लो अवस्थामा रहेर विविध खालका व्यापार व्यवसाय गर्नेहरूको जीवनमा के परिवर्तन आयो ?
भिन्नता हुनेबित्तिकै उनीहरू एकले अर्काको नाम लिन पनि कुल्ला गर्नुपर्ने ठान्छन् । हो यो खालको अवस्थामा पुग्नु भनेको हिजोको सामन्ती व्यवस्थाभित्रका प्रतिविम्ब हुन् । नेपालको सामन्तवाद थुम्के सामन्तवाद हो । थुम्काहरूमा जुन खालको सामन्ती संरचनाहरू थिए, हो त्यसैको प्रतिविम्ब अहिले विभिन्न पोलिटिकल पार्टीका नेताहरूमा प्रतिविम्बित भइरहेको छ । उनीहरूले एउटा सानो संगठन बनाउँछन्, त्यसको नेता हुन्छन् अनि आफूलाई सर्वेसर्वा ठान्छन् । सर्वज्ञ पनि ठान्छन् । हो यस्ता मनोवृत्तिहरूले उनीहरूसँग संख्या भए पनि स्थिरता प्राप्त हुन सकिरहेको छैन ।
अब त्यतिवेला ६२/६३ को आन्दोलन गर्दा नै हामीले राखेको जुन घोषणापत्र हो, त्यसमा उल्लेख गरिएका कुराहरू, अलग–अलग पार्टीहरूले पनि ल्याएका हुनाले सात पार्टी मिलेर आन्दोलन गर्यौँ । त्यो आन्दोलनमा अगाडि सारेका मागहरूका आधारमा भन्ने हो भने हामीले देशमा एउटा पूर्ण प्रजातन्त्र स्थापना गर्नेछौँ, गणतन्त्र स्थापना गर्नेछौँ । सम्पूर्ण जनतालाई सबै प्रकारका हकअधिकारहरू दिनेछौँ । सबै जनताबिच समानता स्थापना गर्नेछौँ । समावेशी लोकतन्त्र स्थापना गर्नेछौँ । क्रान्तिकारी भूमिसुधार गर्नेछौँ । हामी कृषि क्रान्ति गर्नेछौँ । राष्ट्रिय औद्योगिकीकरण गर्नेछौँ । जलस्रोतजस्ता विषयको एकदम उच्चतम राष्ट्रिय हितमा हामी प्रयोग गर्नेछौं । विदेश नीतिमा पनि शान्तिको विदेश नीति, स्वाभिमानको विदेश नीति, असंलग्न परराष्ट्र नीति अपनाउनेछौँ भन्ने कमिटमेन्ट गरेका थियौँ । प्रतिबद्धता गरेका थियौँ, ती कुराहरू अहिलेसम्म केही पनि पूरा हुन सकेनन् ।
सडक यति किलोमिटर कालोपत्र भयो, यति ठाउँ बिजुलीबत्तीका बल्बहरू बालियो, यति ठाउँमा टेलिफोनहरू पुर्याइयो । यस्ता कुराहरूका तथ्यांकको आधारमा जनताको आधारभूत विकास भएको मानिँदैन । अहिले यिनै तथ्यांकहरू राखेर केही पनि भएन भन्नेहरूलाई हामी जवाफ दिन सक्छौँ भनेर भाषणहरू गरेको सुन्छु । तर जनताको जीवन भनेको आजका श्रमिकहरूको जीवनमा के परिवर्तन आयो ? यो देशका भूमिहीन गरिब किसान र निम्न मध्यम किसानहरूको जीवनमा के परिवर्तन आयो ? यो देशका निम्न पुँजीपति वर्ग भनौँ अथवा तल्लो अवस्थामा रहेर विविध खालका व्यापार व्यवसाय गर्नेहरूको जीवनमा के परिवर्तन आयो ? हाम्रो शिक्षा व्यवस्थामा के परिवर्तन आयो ? यी चिजहरूमा त केही पनि परिवर्तन आएको छैन ।
त्यसकारणले आम जनताले धेरै कुरा भए पनि हाम्रो जीवनमा केही पनि परिवर्तन आएन भनेका छन् । यो कुरा अहिलेको नेतृत्वले महसुस गर्न सकेन । त्यसले गणतन्त्र प्राप्त भएको १७ वर्ष पुग्दाखेरि पनि देशमा स्थिरता, अग्रगति, प्रगति र समृद्धि आउन सकिरहेको छैन ।
गणतन्त्रविरुद्ध यतिवेला बढी मुखरित ढंगले आफ्ना अलिक चर्का स्वरहरू निकाल्नेहरू भनेका पूर्वपञ्चहरू र राजावादीहरू नै हुन् । तर पूर्वपञ्च र राजावादीहरूसँग म कुनै शक्ति नै देख्दिनँ । उनीहरूसँग न नैतिक शक्ति छ, न राजनीतिक शक्ति छ, न जनशक्ति छ । त्यसो हुनाले उनीहरू कुनै न कुनै प्रकारका विदेशी शक्तिहरूको आडभरोसामा चिच्याउने, कराउने कुरा बेग्लै कुरा हो ।
उनीहरूले राजतन्त्र, हिन्दु राज्य पुनर्स्थापना गर्छौँ भन्ने कुरा नितान्त ख्याली पुलाउ र दिवास्वप्नबाहेक केही पनि होइन । तर पनि गणतन्त्रवादीहरूले के कुरामा होसियार रहनुपर्छ भने गणतन्त्रवादीहरूकै कारणले अहिलेका यी काला बादल मडारिएका हुन् भन्ने उनीहरूले गम्भीरतापूर्वक देख्नुपर्छ । संकट पुनरुत्थानवादीहरूको कारणले मात्रै आउँदैन, आफ्नै कारणले आउन सक्छ ।
यो देशका वामपन्थीहरू, जो सुरुदेखि गणतन्त्रवादी हौँ भन्ने गरेका छन् । तर गणतन्त्र आइसकेपछि जे काम गर्नुपर्ने थियो, त्यो काम विल्कुलै गरेनन् । त्यसकारण उनीहरूले कोर्स परिवर्तन गर्नुपर्छ र उनीहरूले नयाँ ढंगले, नयाँ धरातलमा एकताबद्ध भएर गणतन्त्र सुदृढीकरणका निम्ति सामाजिक, आर्थिक कार्यक्रमको प्याकेज लिएर अगाडि बढ्न सक्नुपर्छ ।
(पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग रातोपाटीका लागि गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल
-
कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)
-
६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
-
‘ब्रिटेन गट ट्यालेन्ट’ को फाइनलमा पुगेकी विनिताका लागि आज भोटिङ
-
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्तसञ्चार केन्द्र उद्घाटन