खानेपानी आयोजना अब संघले हेर्ने होइन, प्रदेशलाई दिनुपर्छ

समाचार सारांश
- नेपालमा खानेपानीको समस्या रहेको र शुद्धताले स्वास्थ्य र विकासमा असर पार्ने कुरा उठाइएको छ। विभिन्न निकायहरूले खानेपानीका लागि काम गरिरहेका छन्।
- संघीयताको मर्मअनुसार विकास नहुँदा खानेपानी आयोजनाहरूमा समस्या देखिएको छ। केन्द्र र प्रदेशबीच समन्वयको कमी, बजेट दोहोरिने समस्या र अधिकारको स्पष्टता नहुँदा समस्या भएको उल्लेख छ।
- लेखमा खानेपानी योजनाहरू प्रदेश सरकारले हेर्नुपर्ने, जलवायु परिवर्तनका कारण खानेपानी संरचनामा पर्न सक्ने असर र पानीको गुणस्तर सुधारमा जोड दिनुपर्ने कुरा उल्लेख छ।
नेपालका धेरै ठाउँमा खानेपानीको समस्या छ । खासगरी पिउने पानीको शुद्धताले मानिसको स्वास्थ्यदेखि विकासको मापदण्ड निर्धारण गर्दछ । नेपाल खानेपानी संस्थानका अतिरिक्त पछिल्लो समय प्रदेश, स्थानीय तथा केही उपभोक्ता समितिले खानेपानीका लागि काम गर्दै आएका छन् ।
नेपाल जलस्रोतको धनी देश भनिए पनि व्यवस्थापन र वितरणमा कमजोरी छ । एक तथ्याङ्क अनुसार नेपालमा ३५ लाख जनसङ्ख्यालाई आधारभूत खानेपानीको सुविधा उपलब्ध छैन । एक करोड ८ लाख जनसङ्ख्यासँग उपयुक्त सरसफाइको सुविधा नभएको देखिन्छ ।
खानेपानी वितरण लाइनमध्ये धेरैजसो मर्मत गर्नुपर्ने अवस्थामा छन् । हामी नयाँ आयोजना थप्ने क्रममा छौँ । पुरानाको पनि मर्मतका लागि ध्यान दिने गरी प्रत्येक वर्ष अर्बौं रुपैयाँको काम भइरहेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०६८/०६९मा ‘एक घर एक धारा’ नीति घोषणा गरेको थियो । त्यस अघि नै केही जिल्लामा त्यो अभियान सञ्चालन भएको थियो । पर्वतको म्यादी गाउँ, कार्की नेटा लगायतका स्थानमा ‘एक घर एक धारा’ अभियान हामीले सञ्चालन गरेका थियौँ । यस्तै बाग्लुङ, गोरखा जिल्लामा पनि यो अभियान सुरुवात भएको थियो । २०६८÷०६९मा सरकारले नै ‘एक घर, एक धारा’ नीति घोषणा गरेपछि हामीलाई काम गर्न झन् सहज भएको मलाई अनुभूति भएको थियो ।
प्रदेशमा पनि त्यो अभियान चल्यो । लुम्बिनी प्रदेशमा पनि ‘एक घर एक धारा’ नीति सरकारले ल्याएको छ । त्यो अभियान अहिले निरन्तर अगाडि बढाइएको छ । यद्यपि संघीयतालाई त्यसको मर्म अनुसार कार्यान्वयन नगर्दा धेरै क्षेत्रमा समस्या देखिएको छ । उदाहरणस्वरुप खानेपानी आयोजनालाई हेरे पुग्छ । जस्तैः रुपन्देही खानेपानीको ओभर हेड टङ्की सङ्घीय सरकारले निर्माण गरेको छ, तर त्यसलाई हेर्ने संघीय सरकारको निकाय त्यहाँ छैन । प्रदेश र संघले विभिन्न विकास निर्माणका काममा दोहोरो हुने गरी योजना बनाउने गरेका छन् । खानेपानीमा पनि त्यस्तै समस्या देखिएको छ । बुटवलका विभिन्न सडक संघ सरकारले बनाएको छ । त्यसैगरी खानेपानीमा पनि संघ सरकारले नै बनाएका थुप्रै आयोजना छन् ।
संविधानको मूल मर्म अनुसार यस्ता विकासका कामहरूमा अधिकार स्पष्ट पारेर साना आयोजना स्थानीय तहलाई दिने, मध्यम आयोजना प्रदेशलाई दिने र ठुला तथा गौरवका आयोजन संघ सरकारले हेर्नुपर्ने हो । यद्यपि त्यस्तो अभ्यास देखिएको छैन । मेरो विचारमा मेलम्ची खानेपानी आयोजना पनि प्रदेश सरकारले हेर्नुपर्छ भन्ने लाग्छ । किनकि त्यसको मुहान बागमती प्रदेशमा छ । त्यसको उपभोक्ता पनि बागमतीमा छन् । अरु प्रदेशसँग त्यसको सम्बन्ध छैन । त्यस प्रकारका आयोजना प्रदेश सरकारलाई दिनुपर्छ ।
संघीयता पूर्ण रूपमा कार्यान्वयन गर्न केन्द्रमा बसेका नेता र कर्मचारीले नै चाहेका छैनन् । त्यसकारण उनीहरूले अधिकार र बजेट तल दिन चाहँदैनन् । नेताहरूले आफ्ना भोटका लागि १० लाखको खानेपानी आयोजना पनि केन्द्रबाट पठाउँछन् । अन्य विकासे आयोजना पनि यस्तै भएका छन् ।
प्रदेश प्रहरी ऐन, कर्मचारी ऐन आदिजस्ता काममा संघले ढिला गर्दै आएको छ । प्रदेशले अघि बढाउनुपर्ने कतिपय आयोजना संघले नै तर्जुमा गर्ने र बजेटमा आफ्नो नियन्त्रण राख्ने गर्दा पनि संघीयता अनुरुप विकासले गति लिन नसकेको अवस्था छ । खानेपानी आयोजनाहरूको अवस्था पनि त्यस्तै छ । संघ र प्रदेशले समन्वय नै नगरी खानेपानी आयोजना सञ्चालन गर्दा कतै एउटै क्षेत्रमा धेरै योजना पर्ने, बजेट दोहोरिनेजस्ता समस्या देखिन्छ ।
अहिले पनि लुम्बिनी प्रदेशमा चापाकल प्रयोग गर्ने तथा केही पहाडी भेगमा कुवाको पानी पिउन बाध्य छन् । त्यसकारण प्रदेशले आफ्नो औचित्य देखाउनका लागि पनि आफूले अघि सारेका खानेपानी आयोजनाहरू पूरा गर्न ध्यान दिनुपर्छ । खानेपानी भनेको जनतासँग प्रत्यक्ष जोडिएको विषय हो ।
संविधानले खानेपानी र सरसफाइलाई जनताको मौलिक अधिकार मानेको छ । जलवायु परिवर्तन, सहरीकरण र दूषित पानीका कारण स्वास्थ्य जोखिम बढिरहेको छ । खानेपानी शुद्धीकरण र सामुदायिक चेतनामा जोड दिनु आवश्यक छ । सञ्चालन गरिएको खानेपानी आयोजना पूरा गर्न बजेटको जोहो गर्नुपर्छ । पुराना आयोजना मर्मतमा पनि ध्यान दिनुपर्छ । आयोजनालाई तीव्रता दिने, ग्रामीण क्षेत्रमा पाइपलाइन विस्तार गर्दै पानीको गुणस्तर ध्यान दिनुपर्छ ।
लुम्बिनी प्रदेश तराईका ६ जिल्ला छन्, जहाँ खानेपानीका लागि चापाकल प्रयोग भइरहेको छ । शुद्ध पानीको व्यवस्था नहुन्जेलसम्म त्यस्ता ठाउँमा चापाकलको पानी नियमित परीक्षण र शुद्धीकरणका लागि ध्यान दिनुपर्छ । अर्कोतिर दूषित पानीको जोखिम कम गर्न जलस्रोत संरक्षण र प्रदूषण नियन्त्रणमा जोड दिन आवश्यक छ ।
खासगरी गुल्मी, अर्घाखाँचीजस्ता पहाडी जिल्लामा बाढी र खडेरीजस्ता जलवायु परिवर्तन सम्बन्धी प्रभावबाट खानेपानी संरचनालाई जोगाउन दीर्घकालीन योजना चाहिन्छ । किनकि यहाँ वर्षातको बेला मुहानमा धमिलो पानी पस्ने, मुहान भत्किने, ट्याङ्की भत्काउने जस्ता समस्या पनि आउन सक्छन् । पानी दूषित पनि हुन सक्छ ।
हुन त खानेपानी मन्त्रालयले सरकारी, गैरसरकारी र निजी क्षेत्रसँग समन्वय गरी खानेपानीको गुणस्तर सुधार, जल प्रदूषण नियन्त्रण र दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको छ । युनिसेफले विद्यालय र स्वास्थ्य संस्थाहरूमा सुरक्षित खानेपानी र लैङ्गिक तथा अपाङ्गमैत्री सरसफाइ सुविधाहरूको वकालत गर्दै आएको मानिन्छ । संघीयता आएपछि हरेक प्रदेशमा खानेपानी मन्त्रालय स्थापना भएका छन्, तर खानेपानी आयोजना अन्तर्गत विकास बजेट प्रदेशलाई दिने प्रचलन नहुँदासम्म कर्मचारी पनि संघबाट प्रदेशमा आउन मान्दैनन् । विकास बजेट प्रदेशमा धेरै आए कर्मचारी पनि आउँछन् । यसले गर्दा खानेपानी, सडक तथा अन्य विकास निर्माणका काम गर्न प्रदेश सरकारलाई सहज हुन्छ । मूल विषय संघीयता अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा खानेपानी आयोजना पूरा हुन नसकेको हो । त्यसैले अब संघले होइन, खानेपानी योजना प्रदेशले हेर्नुपर्ने खाँचो देखिएको छ ।
(नेपाल सरकारको खानेपानी विभाग अन्तर्गत विभिन्न जिल्लामा खानेपानी प्रमुख हुँदै सहसचिवका रूपमा सेवा निवृत्त भएका नन्दराम बन्जाडेसँग रातोपाटीका लागि तेजेन्द्र केसीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याइ
-
आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उकास्ने खालको बजेट आएको छ : पूर्वअध्यक्ष अग्रवाल
-
कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध (सूची)