सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

श्यामलका तीन कविता

शनिबार, १७ जेठ २०८२, १६ : ५६
शनिबार, १७ जेठ २०८२

१) मैना सुनारकी आमा
(त्यसो त भौतिक रूपमा मैना सुनारकी आमासँग मेरो परिचय छैन । पत्रपत्रिकामा उनको फोटो देखेको छु । गत शनिबार राति सपनामा यी सौन्दर्य खानी महिलासँग मेरो साक्षात्कार भयो । उनी एक विशाल जनसभालाई सम्बोधन गर्दै थिइन् । त्यसपछि अचानक मेरो छेउ आइन् र केही प्रश्न गरिन् । ती प्रश्नहरूको उत्तर दिन म असमर्थ थिएँ । प्रश्नहरू क्रमानुसार राख्ने प्रयास गरेको छु । क्रमभङ्ग भएमा त्यो मेरै स्मरणशक्तिको दोष हो ।)

मेरो नाम हो देवी सुनार
के उसले जबाफ दिनुपर्दैन ? 
मेरी मैना खोइ ?
उसलाई खोसेर लगियो मेरो काखबाट 
अलग्याएर मेरा तमाम सपनाहरूबाट 
केके गर्‍यो ककसले उसमाथि
त्यस रूपवती किशोरीमाथि
सन्की, राक्षस र ज्यानमारा सिपाहीहरूले
राजाका सिपाहीहरूले ?
मन्दिरमन्दिरमा देउता खोज्ने राजाले
मैना खोज्न सक्दैन ?
राजाले जवाफ दिनुपर्दैन ?
राजाहरूले केके गर्छन् मलाई थाहा छ !

गाउँगाउँबाट यसरी नै खोस्छन् मैनाहरूलाई 
र राक्षसले झैँ लुकाउँछन्
मार्छन् खोपीमै कथं चित्त नबुझेपछि 
दरबारका बुइगलहरूमा खोतले भेटिन्छन् 
लाखौँ खप्पर र करङहरू
अनि बाँच्न नभ्याएका
गुलाफ मैयाँ, असर्फी मैयाँ र बर्फी मैयाँको 
घिनलाग्दो जीवनका टाँसिएको र्‍याल 
देखिन्छ तिनका पाउडर दलेका गालामा 
कतै त्यस्तै त भएन मैनालाई ?

ए राजा तिमीले भन्नैपर्छ
मेरी मैना खोइ ?

मेरी मैना खोइ ?
राजालाई थाहा छ तर किन बोल्दैन ऊ ? 
गिरिजालाई थाहा छ, माधवलाई थाहा छ !
 ओलीलाई थाहा छ, विनोद चौधरीलाई थाहा छ 
चण्डी ढकाललाई थाहा छ
सुर्जेबहादुरलाई थाहा छ, पशुपतिलाई थाहा छ 
मालीगाउँदेखि लोकन्थलीसम्म
नारायणहिटीदेखि झम्सीखेलसम्म
झन्डा हल्लाउँदै हिँड्नेहरूलाई थाहा छ
सिंहदरबारलाई थाहा छ
फोहोरा दरबारलाई थाहा छ
मेरी मैना खोइ ?

मेरियार्टीलाई थाहा छ
प्रचण्ड र बाबुरामलाई पनि थाहा छ
अमिक शेरचन र लीलामणिलाई पनि थाहा छ
मुखर्जीलाई थाहा छ
थाहा छ इयान मार्टिन र म्याथ्युलाई
खत्री बूढोलाई पनि थाहा छ
कटुवाल र थापा, शम्सेर र सिंह 
रायमाझी र चौधरी
सबैलाई थाहा छ
थाहा छ तर तिनले भन्दैनन् किन ?
ए राजा, अब तिमीले भन्नैपर्छ
मेरी मैना खोइ ?
(कविता संग्रह ‘हतारमा यात्रा’, २०६८ बाट ।)

२) नित्य प्रार्थना

हे कुबेर !
मैले नै फलाएको हुँ 
तिम्रो अन्नभण्डारको अन्न
आज भोकै छन् मेरा पेटहरू 

हे जल !
तिमी बर्स मेरो खेतमा
लाग कुलो भएर
मैले फेरि पनि उमार्नुपर्छ अन्न

हे वायु !
तिमी स्वयम् मुक्त होऊ विषादिबाट
मलाई गाह्रो भो सास फेर्न
के तिमीले यी बन्द स्कुलहरू देख्यौ माते ?
किन उम्रियो झार
स्कुलको बाटोमा ?

हे वृक्ष !
को बसिरहेछ तिम्रो छायामा
बन्दुकसहित ?
हे पन्क्षी ! कता उडिरहेको तिमी
यो ठाउँ छाडेर ?
के त्यति नमिठो छ यो बन्दुकको आवाज ?

हे पृथ्वी !
तिमी स्वयम् मुक्त होऊ
धर्माचार्यहरूको पापाचारबाट ।

मलाई अरू केही चाहिन्न तिमीले तथास्तु भने पनि 
मलाई मेरा प्रश्नहरूको उत्तर चाहिन्छ
हे अग्नि ! वायु ! जल र पृथ्वी !
अब तिमीहरू चढ मेरो अस्त्रको टुप्पामा 
अब म पनि सामेल हुन्छु
मेरै मुक्तियुद्धमा ।

३) अन्तिम युद्ध

चमेराहरू झुन्डिइराखून् रूखका हाँगाहरूमा 
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहून् 
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा 
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसून्
या घाम ताप्न निस्कून् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँ
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागून् आ–आफ्नो ईश्वरसँग 
मलाई आपत्ति छैन शासकहरू हो ! 
यो संसार सबैको हो ।

तर राति झ्यालबाट पसेर चोरझैँ 
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले 
मन्त्रीको आदेशमा डाँकाले झैँ 
सुकुम्बासी गाउँ नउजाडून् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाखाको कल्चौँडो खान हुन्न बघिनीहरूले 
सानो दूधे शिशुलाई आँगनमा सुताएर 
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा 
सर्पदशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले 
पण्डितहरू पनि बुझून्— मानिसको बलि दिन हुन्न 
पादरी वा मौलवीहरू पनि बुझून—
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।

संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्ध गर्न
अन्तिम युद्ध अर्थात् निर्णायक युद्ध 
जसले फैसला गर्नेछ हारजितको 
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार
नैतिकता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्यामल
श्यामल
लेखकबाट थप