सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
मधेशी दलहरूको मोर्चा

मधेशकेन्द्रित दलहरूका मोर्चा नै मोर्चा, त्रास कि आवश्यकता ?

शनिबार, १७ जेठ २०८२, १९ : २८
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • मधेश केन्द्रित दलहरूले नयाँ मोर्चा बनाउन थालेका छन्, जसमा विभिन्न साना दलहरू समावेश छन्।
  • संघीय लोकतान्त्रिक मोर्चा छाडेर नयाँ मोर्चा बनाउनुको कारण विगतका गल्तीहरूलाई स्वीकार नगर्नु रहेको रिजवान अन्सारीको भनाइ छ।
  • विभिन्न मोर्चा र गठबन्धनहरू मधेशमा पहिले पनि बनेका थिए, तर ती लामो समय टिक्न सकेनन्। साझा एजेन्डामा सहकार्यको आवश्यकता औंल्याइएको छ।

काठमाडौँ । मधेशकेन्द्रित दलहरूबिच मोर्चा निर्माणको लहर चल्न थालेको छ । 

संघीय संसद्मा प्रतिनिधित्व गरेका तराई–मधेशका दलहरूको एउटा मोर्चा त छँदै थियो, यस्तोमा साना दलहरूको अर्को मोर्चा पनि थपिएको हो । 

उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, हृदेयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल गरी सात दलले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । 

यस्तैमा तराई–मधेश केन्द्रित साना दलहरूको अर्को मोर्चा पनि थपिएको छ । जहाँ रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको ऐतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी समावेश छन् । 

संघीय गणतान्त्रिक गठबन्धन नाम दिइएको यो मोर्चा संघीय समाजवादी मोर्चा गठनको तीन महिनापछि यो गठन भएको हो । गणतन्त्र दिवसको अवसरमा जनकपुरधाममा एक समारोहबिच बिहीबार मोर्चा गठनको घोषणा गरिएको हो । 

संघीय मोर्चामा सातदल समावेश हुँदा नवगठित यस गणतान्त्रिक मोर्चामा भने पाँच वटा सहभागी छन् । र सबै दल तराई–मधेशकेन्द्रित नै हुन् । 

मधेशकेन्द्रित अर्को नयाँ मोर्चा वा गठबन्धन केका लागि ? किन संघीय लोकतान्त्रिक मोर्चा छाडेर नयाँ मोर्चा आवश्यक पर्‍यो ? यसबारे हामीले रिजवान अन्सारीसँग जिज्ञासा राख्दा उनले विगतका गल्तीहरू स्वीकार नगरेका कारण त्यो मोर्चामा समावेश नभएको बताए । ‘सातदलीय मोर्चामा आबद्ध हुन मकहाँ प्रस्ताव आएको थियो, तर विगतमा आन्दोलन विसर्जन गरेर उनीहरू सत्तामा समर्पित भए,’ उनले भने, ‘आइन्दा त्यस्तो नहुने प्रतिबद्धता आए मात्र सहभागी हुने भनेका थियौँ, त्यसमा कुनै जवाफ आएन ।’

उनका अनुसार विगतमा दलहरूले मोर्चा बनाएर आन्दोलन गरे पनि त्यसलाई लगेर सत्तामा चढाइएपछि उक्त मोर्चासँग तत्काल सहकार्य गर्न सकिएन । यद्यपि कमीकमजोरी स्वीकार गरेर आए सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो । 

मधेशमा मोर्चाको भएन कमी 

यसअघि पनि मधेशमा विभिन्न दलहरू मिलेर राजनीतिक मोर्चा वा गठबन्धन नबनेका होइनन्, मधेशका मुद्दामा साझा भएर जाने प्रयास निकै भएका थिए । 

जहाँ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, विभिन्न गठबन्धन तथा मोर्चाहरू बनेका थिए । यस्ता मोर्चाहरू प्रारम्भमा उत्साहजनक देखिए पनि लामो समयसम्म नटिकेका मात्र होइनन् दलहरूसमेत टुटफुटको सिकार बनेका थिए । तर फेरि मधेशकेन्द्रित दलहरूमा मोर्चा जन्माउने होडबाजी चलेको देखिएको छ । 

यसअघि वृशेषचन्द्र लाल नेतृत्वको तमलोपा, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील र डा.सीके राउत नेतृत्वको जनमतबिच पनि एउटा मोर्चा बनेको थियो । संविधान संशोधनलगायत विषयमा संयुक्त संघर्ष गर्ने उक्त मोर्चाको उद्देश्य थियो । 

त्यसअघि पनि तमलोपा, नेपाल सद्भावना पार्टी र ऐतिहासिक जनता पार्टीबिच पनि मोर्चा बनेको थियो । पछि त्यसमा माओवादी केन्द्रका भ्रातृ संगठन राष्ट्रिय मधेशी मुक्ति मोर्चा पनि सामेल थियो । यो मोर्चाले केही कार्यक्रम पनि गरेको थियो । 

त्यसपछि रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति र राउतको जनमतबिच पनि कार्यगत एकता भएको थियो, तर यो पनि लामो समयसम्म टिकेन । त्यसपछि पनि महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, जनमत र नागरिक उन्मुक्तिबिच कार्यगत एकताका लागि सहमति भएको थियो । तर त्यो पनि लामो समय चलेन ।

एउटै मुद्दा, एउटै विचार र एजेन्डा बोकेका पार्टीहरू किन मोर्चामा बाँडिए भन्ने प्रश्नमा तमलोपाका अध्यक्ष लाल भन्छन्, ‘एक ठाउँमा आउँदा त धेरै राम्रो हो । अहिले गठन भएको पाँचदलीय गठबन्धनमा रहेका दलहरू पनि हाम्रोमा आउन चाहेका थिए, कुरा नमिलेपछि छुट्टै बनाए ।’ तर भविष्यमा भने दुई मोर्चाबिच सहकार्य हुन सक्ने उनले बताए । 

‘मोर्चा अलग अलग बनाए केही फरक पर्दैन, तर कुनै विषेश एजेन्डामा सहकार्यका लागि एक ठाउँमा आउनुपर्छ,’ लालले भने, ‘विगतमा पनि मधेशमा विभिन्न मोर्चाहरू थिए, तर आन्दोलनमा एकै ठाउँमा आएर संघर्ष गर्दा सफल भएका थियौँ ।’

साझा एजेन्डा र मुद्दामा मोर्चाहरूबिचमा पनि सहकार्य हुनुपर्ने भने उनले बताए । 

साझा एजेन्डा बनाएर मोर्चा गठन गर्दा एकसाथ लड्न सकिने र कमजोर पार्टीले पनि ठुलो स्पेस पाउन सक्ने भएकाले यस्ता मोर्चा बन्ने गरेका जानकारहरू बताउँछन् । 

उनीहरूका अनुसार मोर्चामा रहेका साना–ठुला सबै दल बराबर हुँदा सबैको हैसियत एकसमान हुने गर्छ । वार्ता तथा विभिन्न छलफलहरूमा भाग लिन पनि सजिलो र सत्ता बार्गेनिङमा पनि सहज हुने हुँदा यसरी बन्ने मोर्चाले विशेष अर्थ राख्ने हुँदा यसप्रति आकर्षण बढेको राजनीतिक विश्लेषकहरू बताउने गर्छन् ।  

साथै स्थानीय तथा संघीय तहमा प्रभाव जमाउन संघर्षरत यी दलहरूले मोर्चामार्फत गठबन्धन वा तालमेल गर्दा निर्वाचनमा पनि प्रभाव पार्न सक्ने सक्छन्, जसको पछिल्लो उदाहरण ‘संघीय लोकतान्त्रिक मोर्चा’लाई लिन सकिन्छ । 

यो पनि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप