साना पाँच दलले बनाए ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’

जनकपुरधाम । गणतन्त्र दिवसकै दिन पाँच राजनीतिक दलले ‘सङ्घीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा एक समारोहको आयोजना गरी यी दलले गठबन्धन घोषणा गरेका हुन् ।
गठबन्धनमा पूर्व गृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको ऐतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी छन् ।
घोषणा समारोहमा पूर्व गृह राज्यमन्त्रीसमेत रहेका नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले मुलुकमा फेरि पनि एकल शासकको अभिलाषा राख्नेहरू सल्बलाएको भन्दै उनीहरूका इच्छा कुनै हालतमा पूरा नहुने बताएका छन् । पछिल्लो समय राजावादीका नाममा प्रतिगामी शक्तिहरू देखिन थालेको भन्दै उनले जनताले प्राप्त गरेका उपलब्धि रक्षाका लागि कुनै हदसम्म जान सक्ने पनि चेतावनी दिए ।
अध्यक्ष अन्सारीले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेकोसमेत आरोप लगाए । यी नेताहरू शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम गर्दै आएको उनको आरोप छ । अन्सारीले कथित मधेशी नेताहरू सत्ता समर्पण र मुद्दा विसर्जनको पथमा गएकोसमेत टिप्पणी गरे ।
यसैगरी, समारोहमा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले गणतन्त्र आएको लामो समय बित्दासमेत शोषित पीडित समुदायले वास्तविक गणतन्त्र महसुस गर्न नसकेकाले गणतन्त्र दिवसकै दिन पारेर गठबन्धन घोषणा गरेको बताए ।
यो गठबन्धन इमानदार नेताहरूको रहेको पनि उनले दाबी गरे । ठुला मधेशी दलहरूले मधेशी जनतालाई धोका दिँदै आएकाले आफूहरू उनीहरूको गठबन्धनमा नगएर छुट्टै गठबन्धन बनाएको उनको भनाइ छ ।
त्यस्तै, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दनकुमार रञ्जनले यो जातिवादी र सामन्तवादी व्यवस्थाको अन्त्य गर्न गठबन्धन बनाउनुपरेको बताए । उनले दलित तथा उत्पीडितहरूमाथि हुने हत्या, हिंसा, बलात्कारलगायत अपराधविरुद्ध सङ्घर्ष गर्न गठबन्धन बनाउने बताए ।
मधेश सरकारले गरिब तथा दलितको पीडालाई बेवास्ता गर्दै आएको पनि उनले आरोप लगाए । अहिले सरकारले अम्बेडर पार्क बनाउने नाममा दलितहरू तोड्ने काम गरेको पनि उनको आरोप छ ।
त्यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेशकी सांसद् बिमला अन्सारीले विगतमा अरुका लागि लडे पनि अब आफ्नो लागि लड्नुपर्ने बताइन् । आन्दोलनमा शहादत दिएर ल्याइएको समावेसी समानुपातिकलगायतलाई कमजोर बनाउने काम भएको उनको जिकिर छ । ठुला दलहरूका कारण राजावादीहरू सल्बलाएको उनले बताइन् ।
समारोहमा नेपाल सद्भावना पार्टीकी वरिष्ठ नेतृ तथा पूर्वमन्त्री सरिता गिरीले देशमा भएका विभिन्न काण्डमा मुछिएका नेताहरूमाथि कारबाही नभएकाले जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताइन् ।
काठमाडौँमा गणतन्त्रको विरुद्ध आन्दोलन हुनुको जिम्मेवारी ठुला तीन दलका अध्यक्ष देउवा, ओली र दाहालले लिनुपर्ने पनि बताएकी हुन् । अबको प्रधानमन्त्री सङ्घीय गणतान्त्रिक गठबन्धनबाट बन्ने पनि नेतृ गिरीले दाबी गरिन् । उत्पीडित समुदायका व्यक्ति प्रधानमन्त्री किन बन्न नसकेको भनेर उनले प्रश्न पनि गरिन् ।
त्यस्तै, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुरले मधेशी समुदायको दुस्मन राजसंस्था रहेकाले भ्रमित नहुन सबैसँग आग्रह गरेका छन् । मधेशीहरूसँग गद्दार गरिरहेकाहरूविरुद्ध गठबन्धन उत्रिने उनले चेतावनी दिए । शासकहरूले आफ्नो अनुकूलको संविधान बनाएको पनि उनले दाबी गरे ।
समारोहमा नेपाल जनजागृति पार्टीका धुपलालप्रसाद सहनी निषादले अधिकार प्राप्तिअघि मित्र र शत्रुलाई चिन्नुपर्ने बताए । उनले दुस्मनहरूलाई भोट दिएर जिताएकै कारण उत्पीडितहरू अधिकार पाउनबाट वञ्चित भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन मर्मत गरेसँगै सञ्चालनमा आयो कान्ति लोकपथ
-
बाराबाट लागु औषधसहित दुई भारतीय पक्राउ
-
राष्ट्रसङ्घमा ७ हजार कर्मचारीको जागिर धरापमा
-
निजी विद्यालयमा नेपाली बोलेबापत विद्यार्थीमाथि हुने कारबाहीविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा
-
‘एक्टिङ स्टार’ को प्रसारण सुरु
-
अनेरास्ववियुलाई एमालेको निर्देशन : ३२ वर्ष नपुगेका प्रतिनिधि मात्र उम्मेदवार बन्नू