मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

भारत सरकारको सहयोगमा अछाममा विद्यालय भवन निर्माण

शनिबार, १७ जेठ २०८२, २१ : ३३
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • भारत सरकारको आर्थिक सहयोगमा अछामको महेन्द्र माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरियो। भवन निर्माणमा ३.२४ करोड रुपैयाँ खर्च भएको थियो।
  • हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, साँफेबगर नगरपालिकाका मेयर र भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो।
  • नयाँ भवनमा कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय र शौचालय लगायतका संरचनाहरू छन्, जसले विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्नेछ।

काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयका लागि निर्माण गरिएको विद्यालय भवन शनिबार विद्यालयको व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.२४ करोड रुपैयाँ आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । 

जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा भवन व्यवस्थापनलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी एवम् उनीहरूका अभिभावकहरूको पनि उपस्थिति रहेको थियो ।

WhatsApp Image 2025-05-31 at 21.10.17_24fd5b3d

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, कर्मचारी कक्ष, प्रशासन शाखा, प्रधानाध्यापक कक्ष, पुस्तकालय, लेखा शाखा र छात्र एवम् छात्राका लागि शौचालय सहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ । अनुदान सहयोग फर्निचर र कम्प्युटरको खरिदमा पनि उपयोग गरिएको छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, अछाममार्फत कार्यान्वयन गरिएको थियो । 

सन् १९६० मा माध्यमिक विद्यालयका रूपमा स्थापित श्री महेन्द्र माध्यमिक विद्यालय पछि उच्च माध्यमिक विद्यालयमा स्तरोन्नति गरिएको थियो । नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा ४०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् जसमा ६५% छात्राहरू रहेका छन् । 

जिल्ला समन्वय समिति, अछाम, साँफेबगर नगरपालिका, अछाम, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपाली जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ पूर्वाधारले अछामस्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा सुविधा प्रदान गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप