बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
वास्तु

वास्तु अनुगमनमा एस्ट्रो–वास्तु

सोमबार, १९ जेठ २०८२, ०८ : ४४
सोमबार, १९ जेठ २०८२

सृष्टि ब्रह्माले रचना गरे । ब्रह्माको सृष्टिलाई विश्वकर्माले स्थानको दिशा र संरचनाको रचना गरे । त्यो स्थानको दिशा र संरचना त केवल भौतिक हो । तर जीव या जीवन भौतिक मात्र नभई चेतना पनि हो ।

ज्योतिषशास्त्रले ग्रह, राशि, भाव आदिको माध्यमबाट व्यक्तिको जीवनमा प्रभाव पार्ने सूक्ष्म ऊर्जाको अध्ययन गर्छ भने वास्तुले स्थल, दिशा, पञ्चतत्त्व र संरचनात्मक सन्तुलित पार्छ । यी दुई विज्ञान एउटै सिद्धान्तमा आधारित भई गरिने प्रयोगलाई ‘एस्ट्रो–वास्तु’ भनिन्छ । ‘एस्ट्रो–वास्तु’ दुई महत्त्वपूर्ण वैदिक शास्त्रहरूको समन्वय हो । ज्योतिषले हाम्रो ग्रहगत ऊर्जालाई स्पष्ट गर्छ भने वास्तुले त्यस ऊर्जालाई भौतिक संरचनामा सन्तुलित बनाउँछ ।

‘दिशो दिशश्च वास्तव्यं, ऋतं च सत्यं च स्थाप्यते ।’ अर्थात् सही दिशा र सत्य मार्गमा आधारित स्थानमा मात्र ऋतु, सत्य र नियमहरू स्थापित हुन्छन् भन्ने शास्त्रीय आधार पाइन्छ । बृहद्संहितामा ‘ग्रहयुक्तं भवनं शुद्धं’ भनिएको छ । यसले स्पष्ट पार्छ कि वैदिक कालमै वास्तु र ग्रहबिच गहिरो सम्बन्ध मानिएको थियो । त्यसैले जन्मकुण्डलीलाई बेवास्ता गरेर दिशा मात्र मिलाउनु या दिशालाई बेवास्ता गरेर ग्रह मात्र मिलाउनु अधुरो हुन्छ ।

नेपाली परम्परामा घरको पूजाआजा गराउने एक पुरोहित या पण्डितले घरको मूलद्वार कहाँ राख्ने, तुलसी कहाँ राख्ने र चुलो कुन दिशामा राख्ने भनी दिएका सल्लाहका भरमा वास्तु चल्दै आएको थियो । परम्परागत शैलीका निर्माणहरू वास्तुका नमुनाका रूपमा स्थापित छन् । हामीलाई लाग्छ, उनीहरूसँग कुनै यन्त्र थिएन तर अहिले प्रचारमा आएका यन्त्रभन्दा त्यति बेला प्रयोग गरिने विधिहरू कम वैज्ञानिक थिएनन् । त्यो परम्परामा ज्योतिषीय दृष्टिकोण प्रधान थियो ।

वास्तु विज्ञानले तराईको एउटा गाउँमा गरेको सामान्य अध्ययन अनुसार त्यहाँका आधाभन्दा बढी पुराना घरहरू पूर्व वा उत्तरमुखी भेटियो । जुन घरका मुख्य मानिस बुढेसकालसम्म सक्रिय थिए तर उनीहरूको तुलनामा पछिल्लो समयमा बनेका पश्चिममुखी र दक्षिणमुखी घरमा रहनेहरू कम सक्रिय रहेको पाइयो । अधिकांश खुसी र सक्रिय रहेका मानिसको राशि र घरको दिशाहरूमा सन्तुलन भेटियो । राशि अनुसारको दिशामा भएका निर्माणमा बस्ने मानिसहरूको जीवन स्वस्थ, खुसी र समृद्ध भएको सहजै अनुमान गर्न सकिन्छ । वास्तु विज्ञानले वास्तु अनुगमन गरेका र उपचार गरेका घरहरूको अध्ययनले ‘एस्ट्रो–वास्तु’का आधारमा वास्तु मिलाउँदा बढी लाभदायी भएको पाइएको छ ।  तसर्थ ‘एस्ट्रो–वास्तु’मार्फत सन्तुलित प्रयोग गर्दा अधिक लाभदायी भएकाले यस विषयमा थप खोज, अनुसन्धान र प्रयोग जरुरी देखिन्छ । 

कुण्डलीको नवौँ भावमा बृहस्पति छ भने पनि घर पश्चिममुखी भयो भने शिक्षा र सम्पत्तिमा असर पर्ने कि नपर्ने ? ‘एस्ट्रो–वास्तु’ले यिनै गहन प्रश्नको वैज्ञानिक र आध्यात्मिक दुवै हिसाबले सहज उत्तर दिन्छ  । किनकि दिशाहरू भावजस्तै हुन्छन्, कोठाहरू राशिजस्तै ।

सामान्यतया वास्तु अनुगमन गर्दा प्रवेशद्वार, कोठाहरू, चुलो, स्नानगृह, शयनकक्ष आदिको दिशा निर्धारण गर्ने चलन छ तर त्यो घर मालिकको जन्मकुण्डलीमा चन्द्रमा कुन दिशा या भावमा छ र उनका लागि भोजन कक्ष कहाँ बनाउने ? मंगल कुन स्थान या भावमा छ र अग्नि या चुल्हो कहाँ बनाउँदा फलदायी हुन्छ भनी तुलना गरेर निर्णय गरेको पाइँदैन । कुण्डलीको नवौँ भावमा बृहस्पति छ भने पनि घर पश्चिममुखी भयो भने शिक्षा र सम्पत्तिमा असर पर्ने कि नपर्ने ? ‘एस्ट्रो–वास्तु’ले यिनै गहन प्रश्नको वैज्ञानिक र आध्यात्मिक दुवै हिसाबले सहज उत्तर दिन्छ  । किनकि दिशाहरू भावजस्तै हुन्छन्, कोठाहरू राशिजस्तै । ग्रहहरूको स्थान अनुसार घर बन्छ भने त घरको मूल संरचना नै जन्मकुण्डलीजस्तै बन्न सक्छ । 

ग्रह, राशि, भाव र भावपतिको अवस्था हेरेर प्रवेशद्वार, कोठाहरू, चुल्हो, स्नानगृह, शयनकक्ष आदिको दिशा निर्धारण गर्ने हो भने विपरीत ग्रहहरू पनि सकारात्मक फलदायी हुन सक्छन् । वास्तु विज्ञानको वास्तु अनुगमन ज्योतिष र वास्तुको संयुक्त आधारमा हुँदै आएको छ । नवग्रहको अवस्था र स्थितिका आधारमा वास्तु व्यवस्थापन सामान्य वास्तु व्यवस्थापनभन्दा कैँयौँ गुणा लाभकारी हुन्छ ।

वास्तुको महत्त्वपूर्ण आधार मानिएको पञ्चतत्त्वको मूलस्रोत नवग्रहहरू नै हुन् । जन्मकुण्डली भनेकै नवग्रह, राशि र भाव हो । ग्रहहरू तत्त्वको मुख्य स्रोत हुन् । राशि र भाव दिशाका आधार हुन् । मालिकको कुन ग्रह कुन राशि र भावमा बसेर कस्तो प्रभाव दिइरहेको छ ? त्यस ग्रहको तत्त्व कुन हो ? निर्माण या भवनभित्र कुन वस्तुको प्रतिनिधित्व गर्छ ? दिशा र स्थान कहाँ हो ? कुन निर्माण कहाँ गर्दा सम्बन्धित ग्रहले उच्चको फल प्रदान गर्छ भन्ने अध्ययन गरी वास्तुदोषको उपचार गर्नु अनिवार्य हुन्छ । तसर्थ आफ्नो घरलाई आफ्नै कुण्डली अनुसार व्यवस्थापन गर्ने हो भने वास्तु र ग्रहहरू दुवैबाट अधिकतम लाभ उठाउन सकिन्छ । वास्तु अनुगमन र उपचारपछि पनि सकारात्मकता आएको छैन भने एकपटक ‘एस्ट्रो वास्तु’का आधारमा वास्तुदोष निवारण गर्ने कि !? 
(लेखक वास्तु विज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप