पूरा भयो विराट र बेंगलुरुको आईपीएल च्याम्पियन बन्ने सपना

समाचार सारांश
- आईपीएल २०२५ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई पराजित गर्दै उपाधि जित्यो।
- बेंगलुरुले १७ वर्षपछि आईपीएलको उपाधि जित्दा विराट कोहलीको सपना पूरा भयो, पञ्जाब किंग्स फाइनलमा पराजित भयो।
- खेलमा बेंगलुरुले १९० रन बनायो भने पञ्जाबले १८४ रन मात्र बनाउन सक्यो, क्रुनाल पाण्डेया र भुवनेश्वर कुमारले २-२ विकेट लिए।
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई पराजित गर्दै नयाँ च्याम्पियन बनेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो ।
सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आए पनि बेंगलुरुले हालसम्म उपाधि जित्न सकेको थिएन । योसँगै १७ वर्षपछि बेंगलुरु र विराट कोहलीको आईपीएल जित्ने सपना पूरा भएको छ ।
यसअघि बेंगलुरु तीनपटक फाइनलमा पुगेर पराजित भएको थियो । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो ।
सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
आईपीएलले तीन वर्षपछि नयाँ च्याम्पियन पनि पाएको छ । यसअघि सन् २०२२ मा गुजरात टाइटन्स पहिलो पटक च्याम्पियन बनेको थियो । त्यतिबेला गुजरात टाइटन्सले फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
मंगलबारको खेलमा दोस्रो ब्याटिङ गरेको पञ्जाबले सुरुवात भने राम्रो गरेको थियो । प्रियांश आर्या र प्रभसिमरन सिंहले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे ।
आर्याले १९ बलमा ४ चौकाको मद्दतले २४ रन बनाए । सिंहले २२ बलमा २६ रन जोडे । उनले २ छक्का प्रहार गरे ।
विकेटकिपर जोस इङ्लिसले २३ बलमा ३९ रन बनाए । उनले १ चौका र ४ छक्का हिर्काए । नेहाल वधेराले १८ बलमा १५ रन जोडे ।
कप्तान श्रेयस अय्यरले १ रन मात्र नाए भने मार्कस स्टोइनिस पनि ६ रन बनाएर पभेलियन फर्किए । खेलको अन्त्यतिर शशांक सिंहले ३० बलमा ६१ रन जोडे पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् ।
योसँगै पहिलो उपाधि जित्ने पञ्जाबको सपना चकनाचुर भएको छ । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
पञ्जाबलाई रोक्न बेंगलुरुका क्रुनाल पाण्डेयाले किफायती बलिङ गर्दै २ महत्त्वपूर्ण विकेट लिए । उनले ४ ओभर मात्र १७ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले पनि २ विकेट नै हात पारे । जोश हेजलवुड, यश दयाल र रोमारियको शेफर्डले १-१ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रन बनाएको थियो । बेंगलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन जोडे । उनले यसक्रममा ३ चौका प्रहार गरे । कप्तान रजत पाटिदारले १६ बलको सामना गर्दे १ चौका र २ छक्का हिर्काउँदै २६ रन जोडे ।
मयंक अग्रवालले १८ बलमा २४ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । लियाम लिभिङ स्टोनले १५ बलमा २५ रन जोडेर पभेलियन फर्किए । उनले २ छक्का हिराए ।
विकेट किपर जितेश शर्माले १० बलमा २४ रनको महत्त्वपूर्ण इनिङ्स खेले भने रोमारियो शेफर्डले ९ बलमा १ चौका र १ छक्का हिर्काउँदै १७ रन जोडे । खेलको सुरुवातमा ओपनर फिल साल्टले ९ बलमा १६ रन बनाएका थिए ।
पञ्जाबका लागि कायल जेमिसनले ४ ओभर बलिङ गर्दै ४८ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हात पारे । अजमतुल्लाहा ओमरजाई, युजवेन्द्र चहल र विजयकुमार वैशाकले १-१ विकेट लिए ।
- बेंगलुरुको यात्रा
रोयल च्यालेन्जर्स बेंगलुरु लिग चरणको खेलमा अंक तालिकामा दोस्रो भएर प्ले–अफ चरणमा प्रवेश गरेको थियो । लिग चरणमा बेंगलुरुले १४ मध्ये नौ खेलमा जित र चार खेलमा हारको नतिजा निकाल्यो । १९ अंक बटुलेको बेंगलुरुको एक खेल भने अनिर्णीत रुपमा सकिएको थियो ।
त्यसपछि बेंगलुरुले पञ्जाब किङ्ससँग प्रतियोगिताको पहिलो क्वालिफायर खेलेको थियो । पहिलो क्वालिफायरमा पञ्जाबलाई आठ विकेटले हराउँदै बेंगलुरुको टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्षमाथि भ्रष्टाचार मुद्दाले नेकपा एसको केन्द्रीय कार्यालय ततायो (तस्बिरहरू)
-
संघीयतामा सडक निर्माणका विसंगति
-
नेपालले बढायो युएई जाने नेपाली श्रमिकको तलब
-
इन्जिनियर सन्तोष कुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड जरिवाना, सचिव र व्यवस्थापकलाई कति भयो सजाय ?
-
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला