कृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
वातावरणीय चेतना र समकालीन कलाको प्रभावकारी संयोजनका लागि काम गर्दै आएको सगरमाथा नेक्स्टले सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरेको प्रदर्शनी भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाले संयोजन गरेका हुन् ।
लोखान्डवालाले विश्वव्यापी पारिस्थितको आवश्यकतालाई मध्यनजर गर्दै प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गरिएको छ ।
प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले ‘अर्थ इमर्जेन्स’ शीर्षकमा प्रस्तुति दिनुभयो । शरीरमा रातो माटो पोतेर भूमिसँग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गरेको थियो ।
प्रदर्शनीको अवधारणा प्रसिद्ध उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको ‘प्लानेटरिटी’ विचारमा आधारित छ ।
विश्वमा भइरहेको तापक्रम वृद्धिको सामना गरिरहेको यथार्थमाथि केन्द्रित प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराएको आयोजकको भनाइ छ ।
प्रदर्शनीमा १२ जना अन्तर्राष्ट्रिय तथा नेपाली कलाकारले आफ्ना विशिष्ट सिर्जनामार्फत वातावरणीय सङ्कटमाथि विविध दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको छ ।
उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायसँगको सहकार्यमा बनाएको ‘फरेस्ट माइन्ड’ भिडियो निबन्धले जङ्गललाई चेतनशील ज्ञानको स्रोतका रूपमा प्रस्तुत गरेको छ ।
उत्सा हजारिकाको ‘यन्त्र–ब्लुम’ जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नयाँ जीवन दिने प्रयास गरेको छ । मक्सुद अली मण्डलको ‘फङ्गल ह्याबिट्याट’ले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गरेको छ ।
त्यस्तै, समयुक्ता भण्डारीको ‘एकोज अफ सर्भाइवल’ले सहरीकरणबीच हराउँदै गएका भँगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत प्रतिविम्वित गरेको छ । अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनवटा फोटोग्राफिक शृङ्खलामार्फत प्रस्तुत गरेका छन् ।
मोनिका उर्सिना जेगरको ‘लिक्विड टाइम’ले पहाडको ढुङ्गाबाट बालुवा हुँदै कङ्क्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गरेको छ ।जोआना मोलको ‘४००४’ले माइक्रोचिप निर्माण प्रक्रियालाई कीराको जनसङ्ख्यामा आएको गिरावटसँग जोडेर डिजिटल रूपमा देखाइएको छ ।
समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाहरूको तस्बिर र चलचित्रलाई क्रिस जोर्डनले उत्कृष्ट रूपमा प्रस्तुत गरेका छन् । सौर्गङ्गा दर्शनधारीले नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलालाई खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसँग जोडेर प्रस्तुत गरेका छन् ।
साथै, रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स एण्ड को सोनिकमार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन् । प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बाँधेको छ ।
तीन महिनासम्म चल्ने प्रदर्शनी अवलोकन गर्न विद्यार्थीका लागि रु २०० र अन्यका लागि रु २०० शुल्क तोकिएको छ ।