पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

समाचार सारांश
- पनौतीमा १४२१ वर्ष पुरानो हिले जात्रा सुरु भएको छ, जहाँ नागको प्रतीकको रूपमा बाँस गाडिएको छ र देवगणको प्रवेश हुन्छ।
- जात्रामा भद्रकाली र महादेवको रथ तान्ने, रथ जुधाउने र विभिन्न देवीदेवताको पूजा गर्ने परम्परा छ, जसलाई यौनिकतासँग जोडेर हेरिन्छ।
- जात्रामा विशेष पूजा, बलि दिने र पाहुना बोलाएर भोज गर्ने चलन छ, साथै यस जात्राले रोपाइँको सुरुवातको संकेत गर्छ र स्थानीय बिदा दिइन्छ।
काभ्रेपलाञ्चोक। यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ ।
परम्पराअनुसार आज (सोमबार) साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । आजै राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा (होम गर्ने) पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।
जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा धुमधामसहित पूजा अर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनुका साथै साँझै भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ ।
त्यसैगरी जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भागदौड गराउने र रथ भेटिँदा रथलाई एकापसमा जुधाउने काम हुन्छ । जात्राको विधिअनुसार पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रूपमा अबीर जात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् ।
धार्मिक आधारमा रथ जुधाउने परम्परालाई यौनिकता प्रस्तुतिका रूपमा लिइने गरिन्छ । इन्दे्रश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसेअगावै रथ जुधाइने गरिएको थियो । विशेषतः काम–क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । तर, पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई ठुलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ ।
जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्डा बोकेर कर्माचार्य (आचाजू) हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोला पारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास गरिन्छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । स्थानीयले जात्रा अवधिभर प्रत्येक घरमा बलिदिने प्रथा अझै कायम राखी आफ्ना पाहुना बोलाइ स्वागत सत्कारकारसाथ भोज गर्छन् । त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रही आएको छ ।
जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिएको स्थानीय बताउँछन् । जात्रा सकिएको दिन र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुने मान्यता छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको निकै ठुलो जात्राका रूपमा लिने गरिएकाले पनौती नगरपालिकाले मङ्गलबार र बुधबार सार्वजनिक बिदासमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर