बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यक्तित्व

देवी खड्का, जसले पितृसत्तामाथि दावानल झोँसिदिइन्

मङ्गलबार, २७ जेठ २०८२, १६ : २५
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • दोलखाकी देवी खड्का जनयुद्ध र शान्ति प्रक्रियामा महिला अधिकारका लागि लडिरहेकी छिन्।
  • देवीले बलात्कार पीडित महिलाको अधिकारका लागि संघर्ष गर्दै आएकी छिन् र उनले नेतृत्व गरेको संगठनमा हजारौं महिला संगठित छन्।
  • देवी खड्काको जीवन र संघर्षलाई लिएर बनेको डकुमेन्ट्रीले उनलाई पितृसत्ता विरुद्धको योद्धाको रूपमा चित्रण गरेको छ।

जनयुद्धमा पितृसत्ता विरुद्धको योद्धा बनेँ, शान्तिकालमा महिला समानताका लागि लडेँ र आज म आफैँले रोजेको बाटोमा रुमलिएकी छु । म र मजस्ता साथीहरूको हिंसाका बारेमा वर्षौं चुप रहेँ, म कस्तो योद्धा रहेछु । मैले नबोले कसैले नबोल्ने रहेछ— ‘देवी’ नाम दिइएको डकुमेन्ट्रीमा देवी खड्काको संवाद छ । 

सामान्य किसान परिवारमा ०३६ जेठ १५ गते दोलखाको गौरिशंकर– २, जुँगुमा जन्मिएकी खड्काले सामन्ती समाजले आर्जन गरेको विभेदकारी चेतनाका असाधारण पर्खाल नाघेर नेपाली समाज र नेपाली महिलाका अघिल्तिर एउटा नयाँ मानक स्थापित गरेकी छन् । 

झन्डै दुई दशकदेखि मृतप्रायः रहेको नेपालको संगठित महिला आन्दोलनमा खड्काले संगठित गरेको पछिल्लो आन्दोलन नै त्यस्तो आन्दोलन हो, जसले बलात्कृत महिलाहरूको वास्तविक पीडालाई समाजको सतहमा हस्तक्षेपकारी ढंगले ल्याएर उभ्याइदिएको छ । 

‘गणतन्त्रमा सहिद, घाइते, अपाङ्गहरूको मात्र होइन, बलात्कृत महिलाको पनि योगदान छ’ भन्ने जबर्जस्त आवाज यसै आन्दोलनले उठाएको हो । ‘द्वन्द्वमा बलात्कार पीडित महिलाहरूको राष्ट्रिय सङ्गठन’को नेतृत्व गरिरहेकी खड्काले तीनवटा जीवन बाँचिन् । 

पहिलो जीवन उनले कुरीतिलाई संस्थागत गरिसकेको अशिक्षित समाजमा जन्मनासाथ बाँचिन् । दोस्रो जीवन उनले जनयुद्धमा सामन्तवाद र पितृसत्ताविरुद्ध हतियार उठाएर सशस्त्र मोर्चामा बाँचिन् । अहिले उनी तेस्रो जीवन बाँचिरहेकी छन्, बलात्कार पीडित महिलाको अधिकार र सम्मानको लडाइँ लडेर ।

पितृसत्तात्मक समाजमा हिजोका क्रान्तिकारीहरू नै देवी खड्कालाई वेश्याहरूको नाइके भनेर तिरस्कार गरिरहेका छन् । २००७ सालयता भएका कुनै पनि राजनीतिक आन्दोलनमा बलात्कृत भएका महिलाले संगठित आवाज उठाउन नसकेको कोरा इतिहासमा खड्काको जबर्जस्त ‘स्ट्रोक’ नेपालको इतिहासमा काफी समयसम्म अमिट रहनेछ ।

आमा मनमाया र बुबा वृषबहादुर खड्काको १४ सन्तानमध्ये देवी १३औँ हुन् । परिवारको लालनपालन आफैँमा कठिन छँदै थियो, तर सामान्य स्वास्थ्य सेवाको पहुँच पनि पुग्न नसकेको जुँगुमा स्वास्थ्य अभावकै कारण दुई सन्तानको अकालमै मृत्यु भयो । १४ मध्ये १२ सन्तान मात्र जीवित रहन सके ।

पाँच दाजुभाइ र सात दिदीबहिनीमध्ये देवी ठुलो कान्छोका रूपमा परिचित रीतबहादुर खड्कासँग निकै नजिक थिइन् । सशस्त्र क्रान्तिमा होमिएका रीतबहादुरको ०५९ असार २ मा रौतहटको पिपराहामा हत्या भयो । हत्या हुँदा उनी तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य थिए । यसले देवीलाई जरैदेखि हल्लाइदियो ।

devi khadka

‘दाजुको हत्याको खबरले म निकै दिनसम्म टोलाउन पुगेँ तर हरदम दाजुले भनेको आवाज मेरो कानमा गुँजी रहन्थ्यो, निष्ठाको लडाइँमा कहिल्यै नझुक्नु, बोल्न नसक्नेहरूको आवाज बन्न कहिल्यै नचुक्नु,’ खड्काले सम्झिइन् ।

दाइ रीतबहादुरसँगको संवाद उनको जीवनको त्यस्तो पानीढलो हो, जहाँबाट उनको जीवन मात्रै होइन नेपाली महिला आन्दोलनमा समेत नयाँ अध्याय थपियो । इतिहास, कुनै पानीमरुवाले लेख्छु भनेर लेखिने दस्ताबेज होइन । त्यसका लागि त्याग र बलिदान चाहिन्छ ।  देवीले त्याग र बलिदान दुवै मनग्य गरेकी छन् ।

उनको जीवनको त्यागका अघिल्तिर शब्दहरू फिका छन् तर उनी अविराम हिँडिरहेकी छन् । कुराकानी गर्नका लागि समय लिइरहँदा उनी बलात्कार पीडित महिलासँग सुर्खेतमा थिइन् । 

०५२ फागुन १ गते उद्घोष गरिएको जनयुद्धको प्रभाव राजनीतिक क्षेत्रमा मात्रै परेको थिएन । त्यसको प्रभाव एउटा–एउटा परिवार हुँदै व्यक्तिको जीवनसम्मै आइपुगेको थियो । रोल्पामा आह्वान गरिएको जनयुद्धले झन्डै सात सय किलोमिटर दूर रहेको जुँगुलाई प्रभाव पारेको थियो । खड्काको परिवारलाई प्रभाव पारेको थियो । सहिद हुने रीतबहादुरलाई प्रभाव पारेको थियो ।

परिवर्तनको आन्दोलनमा पहिले दाइ रीतबहादुर खड्काले हामफाले, त्यसपछि देवीले हामफालिन् । त्यसपछि भाइविशाल हुँदै सिङ्गो परिवार नै आन्दोलनमा होमियो । त्यही आन्दोलनले उनलाई आवाज दियो । आवाज दबाइएकाहरूको पक्षमा बोल्न सिकायो । पितृसत्ताविरुद्ध लड्न सिकायो । त्यही आन्दोलनले उनलाई बलात्कार बेहोरेकी महिलाको श्रेणीमा पनि उभ्याइदियो । 

यति हुँदा पनि उनी बोलिरहिन्, हिँडिरहिन्— अविराम, अटल ।

नेपाली समाजमा कसैले पनि सुन्न नसकेको आवाजलाई ‘देवी’ वृत्तचित्रमा छायांकन गरेकी अलजजिराकी ‘अवार्ड विनिङ जर्नालिस्ट’ सुविना श्रेष्ठले देवीको पछिल्लो जीवनका एतिहासिक क्षणलाई क्यामरामा कैद गरेकी छन् । बलात्कार पीडित महिलाहरूले पितृसत्ताविरुद्ध बिस्तारै ओकलेको हुँकारका पदचापलाई डकुमेन्ट्रीमा देख्न सकिन्छ । 

devi bishal khadka

विभिन्न जिम्मेवारीमा हुँदै देवी अन्ततः ०५४ सालमा भूमिगत भएर पूर्णकालीन कार्यकर्ता भइन् । भूमिगत हुँदै ०५९ मा दोलखा जिल्लाको पार्टी सक्रेटेरी तथा ०६० सालमा इन्चार्ज भइन् । तिनताका महिला पार्टी सेक्रेटरी र इन्चार्ज हुनु आफैँमा अभूतपूर्व परिघटना थियो । देवी पार्टी सक्रेटरी थिइन्, प्रहार पितृसत्तामाथि भइरहेको थियो । पार्टी कामका लागि देवीले पाइला चाल्थिन्, प्रहार सामन्तवादी राज्य सत्तामाथि हुन्थ्यो । 

यो सबैको मूलमा थियो, राजनीति । एउटा भेगको राजनीतिको मूलमा थिइन्, देवी खड्का । तत्कालीन शाही नेपाली सेनामा महिलाको भर्ती वर्जित थियो तर विद्रोही सेनामा महिलाले ऐतिहासिक वीरताका नयाँ–नयाँ कीर्तिमान रचिरहेका थिए । त्यो कीर्तिमान देवीले पनि रच्नै थियो । उनले दोलखाबाट जनमुक्ति सेनाको पहिलो महिला स्क्वाडको नेतृत्व गरिन् ।

निरीहता र विवशताको दोसाँधमा उभिएर मैले सोँचे— देवीलाई आजको देवी बनाउन हजारौँ जमुनाहरूको हात छ; हजारौँ महर्जनहरूको साथ छ; प्रेम र स्नेह छ; हौसला र प्रतिबद्धता छ । उनकै पति राजकुमार श्रेष्ठ, भाइ विशाल खड्काको अविराम समर्थन छ ।

आजका दिन देवीले नेतृत्व गरेको आन्दोलन जति ऐतिहासिक छ, त्यो रात उनीमाथि भएको हिंसा त्यति नै क्रूर र हिंस्रक छ । ०५४ कात्तिकको त्यो अँध्यारो रातमा देवीसँगै पक्राउ परेका धेरै साथीको हत्या भयो, तर देवीको बलात्कार गरियो । तत्कालीन राज्यसत्ताका सिपाहीहरू देवीको बलात्कार गरेर राज्यसत्ता टिकाउन चाहन्थे । 

देवीले झुक्न इन्कार गरिन् । देवीको विश्वास र आस्थाका अघिल्तिर पुराना सत्ताका सिपाहीहरूको केही चलेन । त्यसपछि उनीहरूले थप अमानवीय हिंसा थोपरिरहे । उनी पक्राउ परेको धेरैपछि मात्र मानव अधिकारवादी पद्मरत्न तुलाधर नेतृत्वको टोलीले उनको उद्धार गर्‍यो । 

उद्धारपछि काठमाडौँ ल्याइएकी उनी लामो समयसम्म ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर’ को सिकार भइन् । जमुना महर्जनले लामो समय लगाएर उनको उपचार गरिन् । ‘त्यति बेला मलाई बाँच्ननपरे हुन्थ्यो भन्ने लागिरहन्थ्यो । अनेकौँपटक आत्महत्याको प्रयास गरेँ । मलाई आजको देवी बनाउनमा जमुना दिदीको ठुलो हात छ । उहाँ नभएको भए सायद म पनि हुन्थिन्,’ देवीले भनिन् ।

यति भन्दासम्म उनी कैयौँपटक अवरुद्ध भइन्, कैयाैँ पटक टोलाइन् र कैयौँपटक आफूलाई दृढ देखाउने असफल प्रयास गरिरहिन् । उनको हातमा रहेको ‘नेप्किन पेपर’ बेस्सरी गुजिल्टियो ।  मेरो मन थाम्नै नसक्ने गरी कुँडियो । दुवैका निरीह आँखाहरूले एकअर्कालाई हेर्नै सकेनन् । 

devi khadka5

निरीहता र विवशताको दोसाँधमा उभिएर मैले सोँचे— देवीलाई आजको देवी बनाउन हजारौँ जमुनाहरूको हात छ; हजारौँ महर्जनहरूको साथ छ; प्रेम र स्नेह छ; हौसला र प्रतिबद्धता छ । उनकै पति राजकुमार श्रेष्ठ, भाइ विशाल खड्काको अविराम समर्थन छ ।

उनका पति उनलाई कमरेड भन्छन् । उनका भाइ उनलाई जिउँदो आदर्श भन्छन् । उनकी छोरी उनलाई देवी भन्छिन् । पीडित महिलाहरू आफ्नो ढुकढुकी भन्छन् । आखिर के हुन् त देवी ? को हुन् देवी ? खासमा देवी पितृसत्ता विरुद्धको दावानल हुन् । 

गणतन्त्र ल्याउने आन्दोलनमा बलात्कृत महिलाहरूबारे कसैले नसोचिरहेको अवस्थामा त्यही देवी हो, जसले ३५ सय महिला बलात्कृत भएको समाजलाई बताइन् । उनको अधिकारको आन्दोलनलाई संगठित गरिन् । आजका दिन देशैभरिका झन्डै एक हजार बलात्कार पीडित महिला उनले नेतृत्व गरेको संगठनमा संगठित छन् । 

बलात्कृत महिलाहरूको तथ्य–तथ्यांक राज्यसँग थिएन भन्नुको अर्थ कसैसँग थिएन भन्ने होइन । महिला अधिकारको क्षेत्रमा काम गर्ने केही एनजीओहरू बलात्कारपीडित महिलाहरूबारे जानकार थिए । पीडितहरूले न्यायको आशमा उनीहरूलाई कैयौँपटक आफ्नो पीडा सुनाइरहे । न्यायको आश गरिरहे तर पीडित महिलाको भागमा निराशा, अपमान र तिरस्कारबाहेक केही परेन । 

त्यसैले होला एक पीडितले देवीसामु भनिन्, ‘अहिलेसम्म हाम्रो पीडा एनजीओलाई डलर कमाउने कथा भयो, अब तैँले हाम्रो पीडा दुनियासामु पुर्‍याइदे, हामी न्याय चाहन्छौँ । हामी सम्मान चाहन्छौँ ।’

त्यसपछि हो— देवी एकसुरले त्यसैतर्फ डोरिएको; द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनबारे टेलिभिजनका स्क्रिनहरूमा उनी बोल्न थालेको; पीडित महिलाहरूका कथा अखबारका पानाहरूमा छापिन थालेको । 

devi khadka 3

लाख मानिसले दुत्कार्न सक्छन्, हजार मानिसले होँच्याउन सक्छन् र सय मानिसले देवीलाई देखेर आफ्नो बाटो मोड्न सक्छन् तर उनले जे गरिरहेकी छन्, त्यो इतिहासमा निकै कम मानिसले गर्ने साहस राख्छन् । देवीले गर्दै गरेको कामलाई नेपालको इतिहासले गर्वसाथ सम्झनेछ ।

भावी पुस्ताका हजारौँ नानीबाबुले उनले गरेको कामबारे विद्यालयका आफ्ना पुस्तकमा पढ्ने छन् । बलात्कृत महिलाहरूले आफ्नो अधिकारका लागि चालेका डोबहरू खोज्दै त्यसलाई नेपालको महिला आन्दोलनसँग जोड्ने प्रयत्न गर्नेछन् इतिहासकारहरूले । 

त्यतिबेला देवी यो संसारमा नहुन सक्छिन् तर उनले गरेको कर्मलाई नेपालका भावी चेलीहरूले गर्व गरिरहनेछन् । त्यति बेला हामी जीवित भयौँ भने हामीले पनि भन्नेछौँ, मलाई गर्व छ, म देवी खड्कालाई चिन्छु, बुझ्छु र सैयौँपटक मैले उनीसँग हात मिलाएको छु । 

त्यही देवी खड्का, जसले पितृसत्तामाथि एक दावानल झोँसिदिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

 @GyawaliNaresh 

लेखकबाट थप