शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
प्रदेश

कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’

शुक्रबार, ३० जेठ २०८२, १५ : ००
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • मकवानपुरको चित्लाङ कृषि, पर्यटन र पुरातात्विक सम्पदाले भरिपूर्ण उपत्यका हो, जहाँ चन्द्रागिरी हुँदै काठमाडौंसम्मको ऐतिहासिक मार्ग रहेको छ।
  • चित्लाङमा बाख्रापालनबाट चिज उत्पादन हुन्छ, मौसमी तथा बेमौसमी तरकारी खेती गरिन्छ, र यहाँ ऐतिहासिक पदमार्ग र पुरातात्विक महत्त्वका संरचनाहरू छन्।
  • इन्द्रसरोवर ताल चित्लाङदेखि ८ किलोमिटर टाढा छ, जसले जलविद्युत उत्पादन र पर्यटनमा योगदान पुर्‍याउँछ, साथै यहाँका पाटीपौवा र काष्ठकलाका नमुनाहरू पर्यटकका लागि आकर्षणका केन्द्र हुन्।

मकवानपुर । वरिपरि चुरे रेन्जको पहाड, बिचमा केही समथर भूभाग, हरियाली वातावरण अनि प्राचीन ठाउँ । पहिलो पटक पुग्ने जो कोहीलाई मोहित बनाउँछ चित्लाङले ।

एक पटक पुगेकालाई पटक–पटक पुग्न बाध्य पार्ने मकवानपुरको थाहा नगरपालिका–९ र १० मा अवस्थित चित्लाङ सबै विषयले भरिपूर्ण उपत्यका हो । कृषि, पर्यटन र पुरातात्विक सम्पदाको उपत्यका हो यो । एक पटक घुम्ने जो कोहीलाई चित्लाङले मोहनी नै लगाउँछ ।

काठमाडौँ उपत्यकाको थानकोटबाट १०/१५ किलोमिटर उकालो/ओरालो यात्रापछि पुगिन्छ चित्लाङ । काठमाडौँबाट चन्द्रागिरी डाँडाको उकालो चढेर पुनः ओरालो पार गरेसँगै सुरु हुन्छ चित्लाङको चिसो मौसम । हरिया फाँट र स्थानीय प्रजातिका बोट बिरुवाले चित्लाङको आकर्षण बढाएको छ ।

२,२५० मिटर अग्लो चन्द्रागिरि भञ्ज्याङ हुँदै तत्कालीन राणाकालीन समयमा मान्छेले गाडी बोकेर यहीँबाट काठमाडौँ पुर्‍याइन्थ्यो । अम्लेखगंजबाट लहरीमा ल्याइएका गाडी भीमफेदीको भन्सारबाट मानिसहरू लगाएर चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौँ पुर्‍याइन्थ्यो ।

chitlang

  • कृषि र बाख्रापालनः चित्लाङको आत्मनिर्भरता

चित्लाङ कृषि क्षेत्रमा सम्पन्न छ । चित्लाङमा बाख्राको दुधबाट चिज बनाउने उद्योग स्थापना गरिएको छ । चित्लाङमा उत्पादित बाख्राको दुधबाट बनेका चिज स्वादिलो, गुणस्तरीय रहेको स्थानीय बताउँछन् ।

थाहा नगरपालिका–१० र इन्द्रसरोवर गाउँपालिका–१ मा फैलिएको बाख्रा फार्म (पहिलेको भेंडा फार्म) ३०५ रोपनी क्षेत्रफलमा छ । उन्नत नश्लका बाख्राका पाठापाठी बिक्री गर्नेगरी सरकारले स्थापना गरेको सो फार्म क्षेत्रको हरिया पाखामा भेंडाबाख्राको चराइले यहाँको दृश्य झनै मनमोहक बनाएको छ ।

त्यसबाहेक चित्लाङ कृषि उपजको केन्द्रका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि चित्लाङ परिचित छ । चित्लाङमा आलु, काउली लगायतका तरकारी प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ ।

bhrda faim

  • ऐतिहासिक र पुरातात्विक महत्त्व

चित्लाङ केवल प्राकृतिक सौन्दर्यमा सीमित छैन, नेपालको गौरवशाली इतिहासको साक्षीसमेत हो । चित्लाङको ऐतिहासिक र पुरातात्विक महत्त्व अपूर्व छ । यो उपत्यका समयको दस्तावेजको रूपमा छ, जहाँ नेपाली इतिहास, संस्कृति र कला समेटिएका छन् । पुराना मन्दिर, पाटी–पौवा, पदमार्ग, दरबार र स्मारकहरूले नेपालका राजनीतिक, धार्मिक र सामाजिक इतिहासको झलक दिएका छन् ।

चित्लाङमा रहेको तीन गजुर भएको दुर्लभ शिव मन्दिर पुरातात्विक गहनामध्ये एक हो । स्थानीय देवेन्द्र नेपालका अनुसार मन्दिर पूर्ण रूपमा ढुंगाबाट निर्मित छ । जसमा तत्कालीन समयको उत्कृष्ट शिल्पकला देख्न सकिन्छ । अहिले मन्दिरका गजुर धातुबाट बनाइएका छन् । सो स्थानमा शिवरात्री, बाला चतुर्दशी लगायतका पर्वमा मेला लाग्ने उनले बताए ।

वि.सं १९६० तिर बनाइएका २ वटा दरबार तत्कालीन श्री ३ ( चन्द्रशमशेरकालीन दरबार) र श्री ५ का विश्रामस्थलका रूपमा चिनिन्छन् । दरबारहरूले २ वटा ठुलो भूकम्प (वि.सं. १९९० र २०७२) पनि प्रतिरोध गरेर ऐतिहासिक संरचनाको मजबुतीको प्रमाण देखाएको नेपालले बताए ।

kastha kala

  • ऐतिहासिक पदमार्ग

भीमफेदी–चित्लाङ–चन्द्रागिरि मार्ग यो क्षेत्रका ऐतिहासिक पदमार्ग हो । सो मार्ग नेपालकै प्राचीन पदमार्ग हो । सो मार्ग भौगोलिक दृष्टिले काठमाडौँ उपत्यका र तराई (अथवा भारत) बिचको प्रमुख सडक मार्ग थियो । राजनीतिक, व्यापारिक, सांस्कृतिक र धार्मिक दृष्टिले पनि सो मार्गले उच्च मूल्य राख्दछ ।

3 gajur mandira

त्रिभुवन राजमार्ग निर्माण हुनुअघि वि.सं १९५५ अगावै चित्लाङ काठमाडौँ र तराईबिचको मुख्य व्यापारिक मार्ग थियो । अम्लेखगंजबाट ल्याइएका गाडीहरू भीमफेदीको भन्सार पार गरी चित्लाङ हुँदै चन्द्रागिरि पार गरेर काठमाडौँ ल्याइन्थ्यो । भारतीय तीर्थयात्रीहरू पशुपतिनाथ आउने मार्गको रुपमा सोही बाटो प्रयोग हुन्थ्यो ।

स्थानीय जानकार देवेन्द्र नेपालका अनुसार भारतबाट भन्सार नाका अम्लेखगञ्ज हुँदै ल्याइएका मोटर (गाडी)हरूलाई भीमफेदीमा झारेर त्यसपछि मानिसहरूले ती गाडीहरू काँधमा बोकेर चित्लाङ हुँदै चन्द्रागिरि पार गरेर काठमाडौँ पुर्‍याउँथे ।

भीमफेदी (भन्सार केन्द्र)बाट चित्लाङ (विश्राम स्थल, बाख्रा फार्म, पुरातात्विक केन्द्र) हुँदै चन्द्रागिरि भञ्ज्याङ (२,२५० मिटर अग्लो पहाड), थानकोट/मातातीर्थ, काठमाडौँ प्रवेश हुने रुटको रूपमा रहेको नेपालले बताए । हाल सो मार्गलाई पर्यटन, पदयात्रा र अध्ययनको दृष्टिकोणले पुनर्जीवन दिइएको उनले बताए ।

इतिहासिक पदमार्ग यात्रा लागि जीवन्त राख्न सो क्षेत्रमा लालीगुराँस पदमार्ग निर्माण गरिएको नेपाल सुनाउँछन् । ‘लालीगुराँस पदमार्ग’ जस्ता पदमार्गहरूले प्राकृतिक सुन्दरतालाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छन् । स्थानीय गाइडहरू मार्फत् चित्लाङ क्षेत्रका होमस्टे र सांस्कृतिक सम्पदाहरू, प्राकृतिक वातावरण भ्रमण गराएर पर्यटकलाई आकर्षित गर्न प्रयोग हुँदै आएको उनको भनाइ छ । जसले सो मार्गको संरक्षण र प्रवर्द्धनले स्थानीय पर्यटन विकास, रोजगार सिर्जना, र सांस्कृतिक पहिचान जोगाउन योगदान पुर्‍याउँदै आएको उनले बताए ।

चित्लाङ क्षेत्रमा १७ औँ–१८ औँ शताब्दीका पाटी–पौवा र काष्ठकलाको धरोहरलाई यात्रुहरूका लागि विश्रामस्थलको रुपमा प्रयोग हुँदै आएको छ । काष्ठकलाको अनुपम नमुनाहरू देखिने सो क्षेत्रका पाटी–पौवामा प्रहरी चौकी, सामुदायिक पुस्तकालय सञ्चालनमा छन् ।

  • अशोक चैत्य

मौर्य सम्राट अशोकसँग सम्बन्धित चैत्य चित्लाङ क्षेत्रमा अवस्थित छ । चैत्य बौद्ध धर्म, सम्राट अशोकको इतिहास र चित्लाङ नामको उत्पत्तिसँग गहिरो सम्बन्ध रहेको स्थानीयहरू बताउँछन् ।

चित्लाङ नामको उत्पत्ति ‘चैत्य–ल’ बाट उत्पन्न भएको उनीहरू बताउँछन् । ‘चैत्य’ अर्थात् स्तूप, र ‘ल’ नेवारी भाषामा बाटो भन्ने अर्थ जनाउँछ । जसको अर्थ ‘चैत्य भएको बाटो’ भन्ने बुझाउँछ । सुरुवातमा ‘चैत्यल’ शब्द प्रयोग हुने गरेको र पछि अपभ्रंश हुँदै ‘चित्लाङ’ बनेको स्थानीयहरूको भनाइ छ ।

ashok chaitya

  • सातधारा

भौगोलिक र सांस्कृतिक सम्पत्तिका रूपमा सात वटा धाराबाट पानी झर्ने स्थान चित्लाङको इतिहाससँग जोडिएको छ । वि.सं. २०७२ को भूकम्पपछि क्षतिग्रस्त भए पनि यसको ऐतिहासिक सम्पदा अझै बाँकी छ ।

बज्रबाराही मन्दिर र अन्य धार्मिक स्थलहरू चित्लाङको पर्यटकीय सम्पदा हुन् । चित्लाङ नजिकै रहेको कुन्छाल फेदीमा बज्रबाराही देवीलाई वन, माटो र उपजका प्रतीक मानिन्छ । सो स्थानमा हरेक ३ वर्षमा रथयात्रा, १२ वर्षमा बध पूजा गर्ने गरिन्छ ।

sat dhar

प्रकृति र इतिहाससँगै नेपाली साहित्यसँग पनि चित्लाङको गहिरो सम्बन्ध छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता ‘यात्री’ चित्लाङमै बसेर लेखिएको जनविश्वास छ ।

  • मानव निर्मित तालः इन्द्रसरोवर

चित्लाङदेखि करिब ८ किलोमिटर दूरीमा रहेको इन्द्रसरोवर मानव निर्मित ताल हो । वि.सं. २०३४ मा निर्माण गरिएको यो ताल ७ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइको छ । ८ करोड ५३ लाख घनमिटर पानी सञ्चय गर्न सक्ने इन्द्रसरोवर ताल कुलेखानी जलविद्युत् आयोजनाको मूल स्रोत हो ।

प्राकृतिक सौन्दर्य, ऊर्जा उत्पादन, पर्यटन र जैविक विविधताको दृष्टिले इन्द्रसरोबर महत्वपूर्ण स्थल हो । वि.सं. २०३४ (सन् १९७७) मा निर्माण थालनी गरिएको इन्द्रसरोबर स्थानीय खेला खोल्सामा बाँध लगाएर पानी सञ्चय गरिएको छ ।

तालको पानी सुरुङ मार्ग मार्फत भीमफेदी–धोसिंङ पुर्‍याएर कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । कुलेखानी जलाशयको पानीबाट हाल ३ वटा जलविद्युत् आयोजना सञ्चालित छन् । वि.सं. २०४२ देखि ६० मेगावाटको कुलेखानी प्रथम, २०५१ बाट ३२ मेगावाटको कुलेखानी दोस्रो र २०७६ बाट १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सञ्चालनमा छ ।

कुलेखानीमा डुंगा सयर, फिसिङ/माछा पालन लगायतका कार्य भइरहेका छन् । चित्लाङबाट इन्द्रसरोवर पुग्न करिब २ घण्टाको पैदल यात्रामा पुगिन्छ ।

तस्वीर सौजन्यः गणेश विष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप