‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ

समाचार सारांश
- कञ्चनपुरको कुतियाकबर गाउँको नामकरण रोचक कथासँग जोडिएको छ, जहाँ एक भारतीय व्यापारीले कुकुरको सम्झनामा चिहान बनाएका थिए।
- गाउँ बाढीको उच्च जोखिममा छ, तर स्थानीय बासिन्दाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरेका छन्, जसमा रातो झण्डा र कार्यदलहरू छन्।
- सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि, समुदायले सुरक्षित आश्रयस्थल, उद्धार सामग्री, र सामूहिक छलफलमार्फत बाढीको सामना गरिरहेका छन्।
कैलाली । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरमा भारतसँग सीमा जोडिएको एउटा गाउँ छ । जसको नामले नै कौतुहलता जगाउँछ—कुतियाकबर । दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने यो गाउँको नामकरणको पछाडि एउटा रोचक तर पुरानो कथा लुकेको छ । यो कथा अंग्रेजहरूको शासनकालको भएको विश्वास गरिन्छ, जति वेला सीमापारिबाट व्यापारका लागि मानिसहरूको आवतजावत बाक्लो हुने गथ्र्यो ।
स्थानीय अग्रज मोतीराम सुनारका अनुसार धेरै वर्ष पहिले भारतबाट व्यापार गर्न आउनेहरूको यहाँ जमघट हुन्थ्यो । तीमध्ये अकबर नामका एक भारतीय व्यापारी पनि थिए, जो आफ्नो एउटा कुकुरलाई असाध्यै माया गर्थे । एकदिन उनको त्यो कुकुर मर्यो । अकबरले त्यस कुकुरलाई सीमा नजिकै नेपाली भूमिमा गाडिदिए, र त्यहाँ त्यसको चिहान (कब्र) बनाए ।
त्यही ‘कुकुरको कब्र’ लाई स्थानीय लवजमा ‘कुतियाकबर’ भन्न थालिएको सुनार बताउँछन् । भन्छन्, ‘खासमा कुकुरको शव भारतको सिमानामा गाडिएको हो, तर हाम्रो गाउँ पनि त्यही सिमानासँग टाँसिएकाले बिस्तारै गाउँकै नाम कुतियाकबर रहन गयो ।’
यो अनौठो नाम बोकेको गाउँमा आज ४२ घरधुरीका करिब अढाई सय नेपालीको पुस्तैनी बसोबास छ । यहाँ सुनार जातिको बाहुल्यता छ भने केही परिवार दैलेख, सुर्खेतजस्ता पहाडी जिल्लाहरूबाट बसाइँ सरेर आएका छन् । यो गाउँको भूगोल पनि नामजस्तै अनौठो छ ।
महाकाली नदीपारि रहेको दोधारा चाँदनी नगरपालिकाको पनि पश्चिमी छेउमा जोगबुडा नदीले घेरिएर यो गाउँ बसेको छ । यसको पूर्वमा महाकाली नदी, उत्तर र पश्चिममा जोगबुडा नदी र दक्षिणमा भारतको सिमाना पर्छ । यसले गर्दा कुतियाकबर एक प्रकारले नदी र सिमानाको बिचमा टापुजस्तै बनेको छ । स्थानीय कौशीलादेवी सुनारका अनुसार गाउँबाट भारतको सिमाना करिब एक सय मिटरको दूरीमा मात्रै छ ।
विगतमा आफ्नो देशको मूल भू–भागसँग जोडिन निकै कठिन थियो । तर केही वर्षयता सरकारले जोगबुडा नदीमाथि झुलुङ्गे पुल बनाइदिएको छ । र कुतियाकबरका बासिन्दालाई दोधारा चाँदनीका अन्य वडाहरूसँग आवतजावत गर्न सहज भएको छ । यो पुलले स्थानीयको जीवन मात्र सहज बनाएको छैन, यो आफैँमा एउटा पर्यटकीय आकर्षण पनि बनेको छ ।
सीमापारि भारतको बंगाली बस्तीबाट मानिसहरू दैनिक रूपमा यही पुल हेर्न र घुम्न आउँछन् । स्थानीय कौशीलादेवी भन्छिन्, ‘भारतबाट झुला पुल हेर्न मान्छेहरू आउँछन् । भाइरल रोड पनि यहीँ नजिक छ र महाकालीमाथिको एसियाकै लामो पुल हेर्न जानेहरू पनि यही बाटो प्रयोग गर्छन् ।’
यही चहलपहलले गर्दा यहाँ केही साना पसलहरू खुलेका छन्, जसले स्थानीयको आयआर्जनमा सानोतिनो टेवा पुर्याएको छ ।
तर, पर्यटकीय आकर्षण र अनौठो इतिहासका पछाडि कुतियाकबरको एउटा कठोर यथार्थ लुकेको छ, बाढीको निरन्तर त्रास । यहाँका बासिन्दाको मुख्य पेसा खेतीपाती भए पनि उनीहरूका लागि यो निकै चुनौतीपूर्ण बनिरहेको छ । कौशीलादेवी पीडा पोख्छिन्, ‘यहाँको सबैभन्दा ठुलो दुःख भनेकै बाढी हो । हिउँदमा त जसोतसो फसल फलाउँछौँ, वर्षायाममा भने बाढीले बालीनाली हुन दिँदैन । बर्सेनि हाम्रो खेत बग्छ, बाली बगाएर लैजान्छ, बालुवा थुपारिदिन्छ ।’
गत वर्ष दोधारा चाँदनीमा ७० वर्षयताकै ठुलो बाढी आएको थियो, जसले यहाँका बासिन्दालाई ठुलो दुःख दियो । बाढीले पशुचौपाया बगाउने र मानिसहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मीले बर्सेनि उद्धार गर्नुपर्ने अवस्था छ ।
यही जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले यस वर्ष पनि कुतियाकबर पर्ने वडा नं. १० लगायत कञ्चनपुरका अन्य सात वटा वडालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । जेठ १ गते बसेको मन्त्रिपरिषद् बैठकले भीमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका ३, ८, ९, १० नम्बर वडालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
सरकारी घोषणासँगै यहाँ विपद् पूर्वतयारीका कामहरूले तीव्रता पाएका छन्, तर सबैभन्दा महत्तवपूर्ण कुरा, यहाँको समुदाय आफैँ सचेत र संगठित छ । बाढीको त्रासमा बाँच्नुपर्ने बाध्यताले उनीहरूलाई विपद्सँग जुध्न सिकाएको छ । नगरपालिकाले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने बाढी र वर्षासम्बन्धी सूचना प्रवाह गर्न विभिन्न संयन्त्र बनाएको छ । गाउँमा साइरन जडान गरिएकाले खतराको पूर्वसंकेत दिने गरेको छ ।
सूचना पाउनासाथ कुतियाकबरका बासिन्दा सुरक्षित स्थानतर्फ लाग्छन् । उनीहरूका लागि गाउँमै दुई वटा सुरक्षित आश्रयस्थल बनाइएका छन् । नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा एउटा उँचो घर बनाएको छ, जहाँ गाउँका आधाजति मानिस अट्छन् । त्यस्तै, नेपाली सेनाले बनाएको अर्को उँचो घरमा बाँकी आधा मानिसले आश्रय लिन्छन् ।
कुतियाकबर सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव बसन्ती सुनारका अनुसार यी आश्रयस्थलहरूमा विपद्का वेला चाहिने सबै सामग्रीको जोहो गरिएको छ । उनी भन्छिन्, ‘यी घरभित्र बाढीको संकेत दिने हाते साइरन, उद्धारका लागि लाइफ ज्याकेट, डोरी, स्ट्रेचरजस्ता सामग्री छन् । साथै, बस्नका लागि त्रिपाल, म्याट, ग्यास चुलो र प्राथमिक उपचार बाकस पनि तयारी अवस्थामा राखिएको छ ।’
हरेक वर्ष वर्षायाम सुरु हुनुअघि गाउँमा भेला हुन्छ । यसपालि पनि भेला आयोजना गरियो, जहाँ बाढी आएमा के गर्ने, कसरी सुरक्षित हुने, र सामूहिक रूपमा बस्दा खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विस्तृत छलफल भयो । महत्त्वपूर्ण कागजपत्र, जस्तैः नागरिकता, लालपुर्जा, शैक्षिक प्रमाणपत्र र गरगहनालाई कसरी सुरक्षित र उँचो ठाउँमा राख्ने भन्नेबारे पनि सबैलाई सिकाइएको छ । स्थानीय रूपा सुनार दृढताका साथ भन्छिन्, ‘यो वर्ष घर भत्किए पनि ज्यान बँच्ने गरी हामीले पूर्वतयारी गरेका छौँ ।’
कुतियाकबरको पूर्वतयारीको सबैभन्दा नवीन र प्रभावकारी पक्ष भनेको ‘रातो झण्डा’ हो । एनएनएसडब्लूए नामक संस्थाको सहयोगमा यहाँका जोखिममा रहेका घरहरूमा राता झण्डाहरू लगाइएका छन् ।
सरु सुनारको घरको धुरीमा पनि रातो झण्डा फरफराइरहेको छ । उनको झण्डाको बिचमा बालबालिका र ज्येष्ठ नागरिकको संकेत चिह्न छ । ‘मेरो घरमा साना केटाकेटी र वृद्ध सासूससुरा हुनुहुन्छ, त्यसैले झण्डामा यो संकेत राखेको हो,’ उनी भन्छिन्, ‘उद्धारकर्मीले टाढैबाट यो झण्डा र यसको संकेत देखून् भनेर अग्लो ठाउँमा तेर्सो पारेर लगाएकी छु ।’
यसैगरी, घरमा अपांगता भएका व्यक्ति भएमा सोहीअनुसार संकेत झण्डामा राखिन्छ । यो प्रणालीले बाढीको समयमा उद्धारकर्मीलाई कुन घरमा कस्ता व्यक्ति छन् र कसलाई प्राथमिकता दिने भनेर तुरुन्तै थाहा पाउन मद्दत गर्छ ।
यति मात्र होइन, समुदायले आफ्नै सक्रियतामा विभिन्न कार्यदल पनि बनाएको छ । चार जनाको एउटा टोलीले बाढी र वर्षाबारे निरन्तर सूचना लिने र प्रवाह गर्ने काम गर्छ । तीन जनाको प्राथमिक उपचार कार्यदल र ६ जना तालिमप्राप्त युवाहरूको खोजी तथा उद्धार टोली पनि तयारी अवस्थामा छ । उनीहरूले जोगबुडा र महाकाली नदीमा पानीको सतह नाप्न रङ लगाएर संकेत बनाएका छन् । पानीको सतह पहेँलो रेखामा पुगे ‘सावधान’ र रातो रेखा छोए ‘अति जोखिम’ भनेर सबैलाई बुझाइएको छ ।
यसरी हरेक वर्ष बाढीको विध्वंससँग जुध्दै र हरेक क्षण त्रासमा बाँच्दै कुतियाकबरका बासिन्दाले आफ्नो जीवन जोगाउँदै आएका छन् ।
यो गाउँमा घुम्न आउने पर्यटकहरू यहाँका साना होटलमा पाइने लोकल कुखुराको मासु खान रुचाउने भएकाले यहाँ कुखुरापालनमा पनि स्थानीयहरू लागिपरेका छन् । बाढीको त्रासबिच पनि यहाँ जीवन चलिरहेको छ ।