बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
खेलकुद

दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम

बुधबार, ०४ असार २०८२, ०७ : १३
बुधबार, ०४ असार २०८२

समाचार सारांश

  • दक्षिण अफ्रिकी क्रिकेटमा कोटा प्रणालीको विवाद र यसको प्रभावबारे जानकारी दिइएको छ। टेम्बा बबुमा कोटा प्रणालीको उपज भनि आलोचना खेप्दै टोलीको कप्तान बने।
  • बबुमाले आलोचनाका बाबजुद टोलीलाई सफलता दिलाए, तर कोटा प्रणालीले खेलाडीहरूमाथि मानसिक दबाब बढाएको र प्रतिभा पलायन भएको देखियो।
  • कोटा प्रणाली लागू भएपछिको दक्षिण अफ्रिकाको क्रिकेट प्रदर्शनको तथ्याङ्क प्रस्तुत गर्दै, यसले टोलीको जित प्रतिशतमा पारेको असरबारे चर्चा गरिएको छ।

काठमाडौँ  । दक्षिण अफ्रिकी क्रिकेटको इतिहास जति गौरवशाली छ, त्यति नै विवादास्पद पनि । यसको सबैभन्दा ठुलो विवाद हो— ’कोटा सिस्टम’ । 

यही सिस्टमको उपज मानिएका एक खेलाडी हुन्, ३५ वर्षीय टेम्बा बबुमा । होचो कद, तर उच्च दृढ सङ्कल्प भएका बबुमालाई सधैँ एउटा आरोप लागिरह्यो, आफ्नो खेलले नभई ‘कोटा’बाट राष्ट्रिय टोलीमा आए । 

तर, उनले यी सबै आरोप र आलोचनालाई माथ दिए । आफ्नो प्रदर्शन र नेतृत्वकै कारण दक्षिण अफ्रिकी क्रिकेटको एक महत्त्वपूर्ण हिस्सा बने । र भर्खरै भएको वर्ल्ड टेस्ट च्याम्पियनसिप जिताएर देखाए । 

कोटाको आरोपदेखि कप्तानीसम्म
टेम्बा बबुमा दक्षिण अफ्रिकाको टेस्ट क्रिकेट टोलीको कप्तान बन्ने पहिलो अश्वेत खेलाडी हुन् । यो आफैँमा एक ऐतिहासिक उपलब्धि हो, तर यसले उनलाई प्रशंसाभन्दा बढी आलोचना नै दियो । समर्थकहरू र केही विश्लेषकहरूले उनको क्षमतामाथि प्रश्न उठाए । बारबार ‘कोटा खेलाडी’ को आरोप लगाइरहे ।

सन् २०१९ मा जब फाफ डू प्लेसिसको कप्तानीमा रहेको टोलीबाट बबुमालाई हटाएर रसि भान डर डुसेनलाई समावेश गरियो, तब यो बहसले झनै ठुलो रूप लिएको थियो । धेरैले यसलाई रङ्गकै आधारमा गरिएको भेदभावको टिप्पणी गरेका थिए । 

चर्को आलोचनापछि कप्तान डू प्लेसिसले खेलाडी छनोट फर्मका आधारमा हुने, कोटाका आधारमा नहुने स्पष्टीकरण दिनुपरेको थियो ।

बबुमा आफैँ कप्तान बनेपछि पनि विवादले उनलाई छोडेन । उनले टोली छनोट गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब प्रदर्शन गरेका वा फर्ममा नरहेका अश्वेत खेलाडीलाई प्राथमिकता दिएको आरोप लागेको थियो । 

उनले देशका लागि शतक बनाउँदा होस् वा टोलीलाई कठिन परिस्थितिबाट बाहिर निकाल्दा, हरेक पटक उनले आफूलाई ‘उत्कृष्ट’ खेलाडी भएको प्रमाणित गर्नैपर्ने दबाब झलिरहे । तर, हार भने मानेनन् । 

उनको कप्तानीमा दक्षिण अफ्रिकाको टेस्ट टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो । एक समयमा उनको नेतृत्वमा खेलिएका १० टेस्टमध्ये ९ खेलमा टोली अपराजित रहेको थियो (एक खेलमा भने रिजल्ट आएन) । जतिवेला उनले भनेका थिए, ‘म टिममा कोटा भर्न आएको होइन, टिमलाई च्याम्पियन बनाउन आएको हुँ।’ 

के हो दक्षिण अफ्रिकाको कोटा सिस्टम ?

दक्षिण अफ्रिकी क्रिकेटमा कोटा सिस्टम छ । र यसको इतिहास पनि । रङ्गभेद को अन्त्यपछि खेलकुदमा पनि विविधता र समानता ल्याउने उद्देश्यले यसको सुरुवात गरिएको थियो । यसको मुख्य लक्ष्य टोलीमा गैर–श्वेत, विशेषगरी अश्वेत खेलाडीहरूको सहभागिता सुनिश्चित गर्नु थियो ।

RABADA

यसको अनौपचारिक सुरुवात सन् १९९८ मा भयो, जब टोलीमा कम्तीमा एक जना अश्वेत खेलाडी हुनुपर्ने भनियो । सन् २००२ मा घरेलु क्रिकेटमा यसलाई औपचारिक रूपमा लागू गरियो । सन् २०१६ मा दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय क्रिकेटमा पनि यो नीतिलाई अनिवार्य बनायो । जसअनुसार प्लेइङ–११ मा औसतमा कम्तीमा ६ जना गैर–श्वेत खेलाडी हुनुपर्ने प्रावधान राखियो । जसमा कम्तीमा दुई जना अश्वेत अफ्रिकी हुनुपर्ने भनियो । 

प्रतिभा पलायन कारण

कोटा नीतिको उद्देश्य सामाजिक न्याय भए पनि यसले क्रिकेटमा केही नकारात्मक असरहरू पनि देखायो । यो नीतिका कारण केही प्रतिभाशाली श्वेत खेलाडीहरूले आफूलाई अवसरबाट वञ्चित भएको महसुस गरे । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि रङ्गका कारण टोलीमा पर्न नसकिएको ठाने । परिणामस्वरुप केभिन पिटरसनजस्ता खेलाडीले दक्षिण अफ्रिका छोडेर इङ्ल्यान्डबाट खेल्ने निर्णय गरे । र विश्व क्रिकेटमा तहल्का मच्चाए । 

अन्य केही खेलाडीले पनि आफ्नो भविष्य सुरक्षित गर्न देश छोड्ने बाटो रोजे । यसले गर्दा दक्षिण अफ्रिकामा भएको यो कोटा नीतिलाई प्रतिभा पलायनको कारक मानेर आलोचना गरिन्छ । 

कोटा खेलाडीको मानसिक दबाब

कोटाबाट आएका भनिएका खेलाडीहरूलाई मैदानभित्र त छँदै छ । बाहिर पनि लडाइँ गर्नुपर्ने बाध्यता आयो । एकातिर उनीहरूले विपक्षी टोलीसँग प्रतिस्पर्धा गर्नुपर्छ भने अर्कोतिर आफ्नै समर्थक र आलोचकहरूलाई आफू ‘कोटा’ को कारण नभई कौशल र योग्यताले टोलीमा परेको हो भनेर निरन्तर प्रमाणित गर्नुपर्छ । 

यो मानसिक तनावले खेलाडीको प्रदर्शनमा गहिरो असर पार्न सक्छ । बबुमाजस्ता कप्तानका लागि पनि यो चुनौती छ । कारण, आफ्नो व्यक्तिगत प्रदर्शन मात्र नभई सम्पूर्ण टोलीको हौसला र एकतालाई उनले कायम राख्न सक्नुपर्छ ।

कोटा नीति र यसले प्रदर्शनमा गरेको असर 

कोटा नीति र यसले प्रदर्शनमा गर्ने असर 

दक्षिण अफ्रिकामा सन् १९९२ देखि २००२ सम्म औपचारिक रूपमा कोटा सिस्टम लागु भएको थिएन । उक्त समयमा दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटमा जित प्रतिशत ५८ थियो भने एकदिवसीयमा ६५ प्रतिशत थियो । यही बिचमा उसले सन् १९९८ को च्याम्पियन ट्रफी जितेर आफ्नो उत्कृष्ट प्रदर्शन देखायो । 

पछि सन् २००३ देखि २०१५ मा पनि कोटा सिस्टम लागु थियो । त्यसपछि दक्षिण अफ्रिकाको टेस्ट क्रिकेटमा जित प्रतिशत ५५ रहँदा एकदिवसीयमा ६२ प्रतिशतमा झरेको थियो । यो बीचमा टिमले सन् २००७ र २०१५ को विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । 

south 1

त्यसपछि सन् २०१६ देखि दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय खेलहरूमा कोटा सिस्टमलाई अनिवार्य बनाउन थाल्यो । जसले टिमको प्रदर्शनमा धेरै असर पारेको थियो । त्यसपछि टिमको टेस्ट क्रिकेटमा ४७ प्रतिशत र एकदिवसीयमा ५९ प्रतिशत जितको औसतमा झर्‍यो । यसैका बाबजुत सन् २०२३ को विश्वकपमा  सेमिफाइनल पुगेको थियो । 

पछि सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा फाइनलमा पुग्न सफल भयो । जहाँ ऊ भारतसँग पराजित भएको थियो । अहिले भने टिम आफ्नो उत्कृष्ट फमलाई कायम राख्ने योजनामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप