शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

‘मिसन–२०८४ : विचार र आत्मा गुमेको राजनीतिको संकेत हो’

बिहीबार, ०५ असार २०८२, ०९ : ५०
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • कसैसँग पनि अर्कोलाई गाली गर्नेबाहेक कुनै नयाँ सपना, कुनै नयाँ वैचारिकता, कुनै नयाँ दृष्टिकोण छैन ।
  • विश्लेषक युग पाठकले राजनीतिक दलहरूमा विचारको अभाव रहेको र चुनाव जित्ने रणनीतिमा मात्रै ध्यान दिइएको बताए, जसले गर्दा राजनीतिक औचित्य स्थापित हुन नसकेको उल्लेख गरे।
  • पाठकले आगामी निर्वाचनमा पुरानै राजनीतिक पात्र र चरित्र दोहोरिने सम्भावना रहेको औंल्याए, साथै नयाँ विचार र दृष्टिकोणको अभावलाई वर्तमान राजनीतिको संकटको रूपमा चित्रण गरे।

मिसन–२०८४ अघि प्रमुख राजनीतिक दलहरूले राष्ट्रिय महाविधेशन गर्नैपर्ने बाध्यता छ । पछिल्लो आम निर्वाचन भए लगत्तै आगामी निर्वाचनको तयारीमा उत्रिएका पुराना दलहरू कांग्रेस, एमाले र माओवादीलाई वैकल्पिक नयाँ दलहरूले चुनौती दिने ठानिएको छ । तर दुई ठुला दल मिलेर बनेको गठबन्धन सरकारको काम कारबाहीबाट आम नागरिक सन्तुष्ट हुन सकेको देखिँदै छ । 

पुराना दलको विकल्पमा आएका दलहरू र तीनका नेताहरूले समेत पुरानै राजनीतिक संस्कारको गोलचक्करमा फस्न पुगेको राजनीतिक विश्लेषण भइरहेको छ । पछिल्लो समय व्यवस्था विरोधी राजावादीहरूले सदनदेखि सडकसम्म गणतन्त्रवादी शक्तिलाई चुनौती दिइरहेका छन् । यी परिदृष्यमा आगामी निर्वाचन कस्तो होला ? राजनीतिक कोर्स कता जाला ? यसै विषयमा रातोपाटीकर्मी गणेश पाण्डेले राजनीतिक  विश्लेषक युग पाठकसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, पाठकसँग गरिएको कुराकानीको सम्पादित अंशः 

  • राजनीतिक दलहरूले मिसन–२०८४ को निर्वाचनलाई विशेष रूपमा लिएका छन् । तपाईंले कसरी हेर्नुभएको छ ? 

हाम्रोमा मिसन–०८४ बडा रमाइलो फन्डा छ । अघिल्लो चुनाव हुँदा नहुँदादेखि मिसन–०८४ भन्न सुरु भयो । अघिल्लो चुनावको विशेषता त्यसले केही पुराना दलहरूप्रति अलिकति वितृष्णा र केही नयाँ दलहरूको अथवा नयाँ पात्रहरूको सम्भावना त देखा’थ्यो । 

२०७९ को चुनाव सकिँदा नसकिँदा नै मिसन–२०८४ सुरु भइसकेको थियो । त्यसकारण हाम्रो देशको राजनीतिक चेत, राजनीतिक तौरतरिका कसरी सत्ता र शक्ति हत्याउने, भन्नेभन्दा पर जाँदैन भन्ने कुरा त्यसले देखाउँछ । मिसन– २०८४ भनेको चुनावको कुरा हो । त्यसपछि मिसन– २०८९ होला । 

चुनाव कसरी जित्ने ? के भनेर जित्ने ? के भन्दाखेरि अर्कोलाई हराउन सकिन्छ ? फुस्ल्याउन सकिन्छ, फकाउन सकिन्छ भन्नेभन्दा बढी हाम्रोमा राजनीतिको औचित्य स्थापित हुन सकेन । 

मिसन–२०८४ सुरु भइसक्यो । इलेक्ट भएर राज्य चलाउन आउने मान्छेहरूको मूल्यांकन गर्ने अवसर खोइ त ? केका आधारमा हामीले मूल्यांकन गर्ने भन्ने कुरोको बहस खोइ ?

२०७४ मा माओवादी र एमालेले एउटै पार्टी बनाउने घोषणासहित चुनाव लडेर जिते । त्यतिवेलादेखि नै हाम्रो राजनीतिबाट वैचारिकता गायब हुँदैछ । मन्त्री हुनलाई मात्र चुनाव भयो । 

हाम्रोमा मन्त्री हुनु नै स्वतः मूल्यांकनको एउटा विषय भैगो । उसको प्रगति भइगो । मन्त्री हुने बित्तिकै सफल भइसक्यो । जबकि मन्त्री हुनु अथवा कुनै पनि पोजिसनमा पुग्नु भनेको सफलताको द्योतक त हुँदै होइन । अघिल्लो निर्वाचनमा गरेको कामको मूल्यांकनका आधारमा अर्को चुनावमा मूल्यांकन गर्न पाउनुपर्‍यो जनताले । त्यसको निम्ति हामीलाई मिडिया चाहिन्छ, जसले विषयहरूमा बहस उठान गरून् । 

मिसन–२०८४ सुरु भइसक्यो । इलेक्ट भएर राज्य चलाउन आउने मान्छेहरूको मूल्यांकन गर्ने अवसर खोइ त ? केका आधारमा हामीले मूल्यांकन गर्ने भन्ने कुरोको बहस खोइ ? त्यो छैन । त्यसकारण यो मिसन–०८४ भन्ने कुरो नै जहाँबाट सुरुवात भयो, त्यहाँबाट नै राजनीतिमा विचार, मुद्दा, र राजनीतिक सोल(आत्मा) गुमेको संकेत हो । 

निर्वाचन भएको तीन वर्ष भयो । यस अवधिमा हाम्रो राजनीतिक बहस, चाहे त्यो संसद्मा भएको होस्, चाहे त्यो मिडियामा छापिएको या देखाइएको, बोलिएको होस्, या चिया चौतारीमा कुरा भएको होस्, या कुनै किताब लेखेर व्यक्त गरिएको होस्, जुनसुकै मञ्चमा हेर्नुभयो भने राजनीतिचाहिँ छैन । बाँकी सबै कुरा छ । 

  • २०८४ को सिनारियो कस्तो देख्नुहुन्छ ? यही चरित्र, पात्रहरू दोहोरिएलान् कि राजनीतिक कोर्स नै बदलिनेवाला छ ?  

२०६४ पछिको हरेक चुनाव हेर्नुभयो भने डाइनामिक्स चेन्ज भइसक्यो । यी पार्टीहरूका विचारको दृष्टिबाट नहेरिकन भन्नुपर्दा कुन पार्टी सत्तामा पुग्छ र कुन पुग्दैन, कस्ता पात्रहरू जान्छन् र जाँदैनन् भन्ने कुरा स्पष्ट देखिन्छ । राजनीतिमा एक्जिस्ट गर्ने पात्रहरू, जसले जुन–जुन स्तरको संगठन गरेका छन् अथवा जुन–जुन स्तरको राजनीतिक अभियान गरेका छन्, त्यसका आधारमा चुनाव भन्ने जिनिसमा तिनै शक्तिहरूको केही न केही हिस्सा रही नै रहन्छ । 

दुई–तीन जना मेयर स्वतन्त्र रूपमा जित्नेबित्तिकै, पूरै राजनीति नै बदलिने जस्तोगरी मिडियामा प्रस्तुत भयौँ । त्यसले राजनीतिको मूलभूत चरित्रमा प्रश्न गरेको पनि छैन । कहिलेकाहीँ नम्बर नगन्य हुन सक्छ, तर त्यसले राजनीतिको मूलभूत चरित्र बदल्ने गरी केही नयाँ आइडिया लिएर आएको छ, नयाँ विचार अथवा एउटा वैचारिकता नयाँ लिएर आएको छ भने फेरि त्यसको अर्थ ठुलो हुन्छ । हाम्रोमा त वैचारिकता लिएर आएको त थिएन । केही पात्रहरू, त्यो पनि अरू पात्रहरू फटाहा हुन् भन्ने आधारमा, ‘नो नट अगेन’ भन्ने प्रचारका आधारमा भएको मात्रै थियो ।  

कसैसँग पनि अर्कोलाई गाली गर्नेबाहेक कुनै नयाँ सपना, कुनै नयाँ वैचारिकता, कुनै नयाँ दृष्टिकोण छैन । नेपालको एक्चुअल स्थिति के हो ? हामी कहाँ छौं ?

त्यसकारण चिलले हेर्ने दृष्टिबाट हेर्नुभयो भने मिसन–२०८४ वा अन्य जे भने पनि राजनीतिको आधारभूत चरित्र यस्तै हुन्छ । यसैगरी गरिने चुनाव, यस्तै राजनीतिका आधार– जहाँ कुनै मुद्दा छैन, एजेन्डा छैन, तर्कना छैन, सपना छैन, बहस छैन, केही पनि छैन । यसले ल्याउने परिणाम यही हुन्छ । 

कसैसँग पनि अर्कोलाई गाली गर्नेबाहेक कुनै नयाँ सपना, कुनै नयाँ वैचारिकता, कुनै नयाँ दृष्टिकोण छैन । नेपालको एक्चुअल स्थिति के हो ? हामी कहाँ छौं ? हाम्रो सामाजिक हिसाबले हामी कहाँ छौं ? हाम्रो अर्थतन्त्र कहाँ छ ? सांस्कृतिक हिसाबले कहाँ छौं, हाम्रा विशिष्टताहरू के हुन् ?  उत्पादनहरू के हुन् भन्ने बारेमा पनि कुनै आकलन हुँदैन । 

उनीहरू एउटै कुरा भन्छन्,–‘यो सब चोर भए, त्यसकारण यो चोरहरूलाई ठीक पार्न केही नगरी भएन’ । 

  • तपाईंले राजनीतिक दलहरूमा विचार, दृष्टिकोण केही छैन भन्नुभयो । फेरि यिनै पार्टीहरूलाई नै अनुमोदन भइरहेका छन् । फेरि सन्तुष्ट पनि कोही देखिँदैन, किन ? 

त्यसको लागि त आन्दोलन चाहियो । आन्दोलन भनेको खाली नारा लगाउने आन्दोलन भनेको होइन कि, विचारदेखिको आन्दोलन चाहियो । बौद्धिक आन्दोलन चाहियो, त्यसपछि संगठन । 

नागरिक, किसान, विभिन्न तह, तप्का इन्भल्भ भएको आन्दोलन चाहिएको छ । त्यो आन्दोलन भनेको बौद्धिक पनि हुन्छ, वैचारिक पनि हुन्छ, विस्तारै त्यसले संगठित रूप लिन्छ । त्यसरी आन्दोलन भयो भने मात्रै पुराना भनिएका दललाई विस्थापित गर्ने नयाँ आधार निर्माण गर्न सकिन्छ । 

विधान अनुसार हिँडेका छैनन् भने पार्टीभित्र लडाइँ हुनुपर्‍यो । ठुला नेताले ठाउँ छोडेनन् भनेर गुनासो गरेको देख्दा मलाई एकदम हाँसो उठ्छ । गुनासो गर्ने होइन, च्यालेन्ज गर्ने हो ।

उफ्रिँदै उफ्रिँदै गाली गर्ने चार जना भेला भएर केही हुँदैन । केही गर्नका लागि कसै न कसैले स्रोतसाधन त जुटाउनुपर्छ होला नि । आन्दोलन जनतालाई सोच्ने बनाउने र एउटा मुभमा हिँड्ने बनाउने, राज्यसत्तादेखि आफ्नो वरिपरिको परिस्थिति परिवर्तन गर्ने गरी हिँड्ने बनाउनको निम्ति केही समय लाग्ला । त्यसपछि बिस्तारै त्यसले आफै माहोल बनाउँछ ।

  • २०८४ यता ठुला तीन दललाई महाधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसबाट नयाँ नेतृत्व आएर अथवा पार्टीभित्रै एउटा उथलपुथल भएर तपाईंले भनेजस्तै विचार, दृष्टिकोण नयाँ आउने सम्भावना छ कि छैन ? 

योचाहिँ तपाईंले एकदम सही ठाउँमा प्रश्न गर्नुभयो । खास राजनीतिक दलहरू, तीन जना नेता, चार जना नेता भनेर गाली गरेर हिँडेका छन्, नेता तन्त्र भन्दै हिँडेका छन्, त्यस कुरामा मेरो ठुलो विमति छ । किनभने आ–आफ्नो पार्टीका आ–आफ्ना विधान छ । त्यो विधान निर्वाचन आयोगले पनि अप्रुभ गरेको हुन्छ । संविधानअन्तर्गत बनाएको हुन्छ । र, त्यो विधान अन्तर्गत ती पार्टीहरूले आफूलाई अगाडि बढाउनुपर्ने हुन्छ । 

विधान अनुसार हिँडेका छैनन् भने पार्टीभित्र लडाइँ हुनुपर्‍यो । ठुला नेताले ठाउँ छोडेनन् भनेर गुनासो गरेको देख्दा मलाई एकदम हाँसो उठ्छ । गुनासो गर्ने होइन, च्यालेन्ज गर्ने हो । पार्टीभित्र छ भने वैचारिक हिसाबले च्यालेन्ज गर्नुपर्‍यो । त्यसपछि आफ्ना तथा पार्टीकै साथीभाइहरूलाई कन्भिन्स गर्नुपर्‍यो । 

नेतृत्व गरिरहँदा यो यो कुरा, समाजका यी समस्याहरू रिफ्लेक्ट गरेको ? यी यी समस्याहरू रिफ्लेक्ट गर्नुहुन्न भने समाजलाई अगाडि बढाउने, उत्पादनशील बनाउने, चिन्तनशील बनाउने, रचनाशील बनाउने कुरा उहाँले कसरी गर्न सक्नुहुन्छ भनेर च्यालेन्ज गर्नुपर्‍यो । गुनासो गरेर मात्रै च्यालेन्ज हुँदैन । 

राजनीति गर्ने मान्छे चाहे ३० वर्षको होस् या ७५ को, फरक के भयो भन्ने प्रश्न छ मेरो । पार्टीभित्रका केही नेताहरू सधैँभरि नेता, ठुला मान्छे अथवा शक्तिशाली भइरहे । उसले बाँकी पार्टीलाई चलायमान हुन दिएन, पार्टीका अरू मान्छेहरूलाई रचनाशील हुन दिएन, समाजका समस्याहरूमाथि काम गर्न दिएन, समाजका समस्याहरू समाधान गर्ने बाटोमा मार्ग निर्देशित पनि गर्दैन, गर्न खोजेकोलाई काम पनि गर्न दिँदैन भने त्यस्तो पात्रलाई हटाउन पार्टीभित्र मान्छेहरूले एउटा–एउटा नयाँ आन्दोलन बनाउन जरुरी छ । 

कुनै पनि पार्टीभित्र आफ्नो अहिले सभापति, अध्यक्ष भइरहेको मान्छेलाई कसैले च्यालेन्ज गरिरहेको छ भने उसले समाजमा फैलाइएको ‘नो नट अगेन’ र नेता तन्त्रको हावाबाहेक, सही विचारसहित च्यालेन्ज गरेको मैले देखेको छैन ।

जनता आक्रोशित छन्, निराश छन् । कसैले त्यो निराशा पार्टीको एउटा नेताप्रतिको हो भनेर देखाउनु नै फ्रड काम हो । त्यो सिंगो पार्टीप्रतिको निराशा हो । सिंगो पार्टीमा सबै उमेर समूहका मान्छे छन् । त्यो सिंगो पार्टीले जिम्मेवारी लिने हो, एकजनाले होइन । 

अहिले फलानो नेताविरुद्ध म खडा हुने अथवा मैले भन्दै हिँड्नुपर्ने, उसले नै खराब गरेको हो, यसलाई हटाइदियो भने ठीक हुन्छ’ भन्दै हिँड्ने भनेको त त्यो अर्को ठुलो बेइमानी हो । उसलाई हटाएर मलाई बनाए ठीक हुन्छ भन्ने कुरा त उसले पार्टीभित्र गर्नुपर्‍यो । आफ्नो एजेन्डासहित भन्नुपर्‍यो ।  अब मैले नेतृत्व गर्छु भनेर भन्नुपर्‍यो । 

  • त्यो सम्भावना देख्नुहुन्छ २०८४ यता ? 

म त देख्दिनँ । किनभने कुनै पनि पार्टीभित्र आफ्नो अहिले सभापति, अध्यक्ष भइरहेको मान्छेलाई कसैले च्यालेन्ज गरिरहेको छ भने उसले समाजमा फैलाइएको ‘नो नट अगेन’ र नेता तन्त्रको हावाबाहेक, सही विचारसहित च्यालेन्ज गरेको मैले देखेको छैन । अनि त्यो कसरी च्यालेन्ज भयो ? त्यो त उसको ठाउँमा अर्को नेता, एउटा नेता राज भन्ने हो त्यसलाई भने, एउटा नेता राजको ठाउँमा अर्को नेता राज खडा गर्नेभन्दा बढी त कुरो भएन नि ।

स्थापित भनिएका अहिलेसम्म शक्तिमा भइरहेका पार्टीलाई बाहिरबाट च्यालेन्ज गर्ने कत्तिको छ त भनेर हेर्‍यो भने त्यही ‘नो नट अगेन’ भन्दा अर्को कुरा गरेको छैन । कसैको पनि वैचारिक कुरा छैन । 

  • भनेपछि नेपाली राजनीति यथास्थितिमा फेरि बहने देखियो हैन त ? 

हो । मानौं एउटा कुनै पोलिटिकल पार्टी जसले बनाउन चाहेको छ, उसले पनि बनाउन ढिलो भइसक्यो अब । त्यो त अलि अगाडि बनाउनुपर्ने थियो । मिसन–०८४ भन्नेले त अस्ति नै बनाइसक्नुपथ्र्यो । त्यतिवेलादेखि बनाएको भए अलि सजिलो पथ्र्योजस्तो लाग्छ मलाई । तर, दर्ता भएकै पार्टी पनि थुप्रै छन् । बनेकै पार्टीमध्ये जुनसुकै पार्टीले लिड गरे पनि हुन्छ । तर त्यो लिड गर्न कसैले पनि किन सकिरा’ छैन त । 

नयाँ आन्दोलन नै गर्छु भनेर लागेको राप्रपा छ । ऊसँग समाजका यी यी समस्या समाधान गर्ने भन्ने वैचारिक औजार केही छैन । त्यस्तो पार्टीले कसरी समाजको प्रगतिको नेतृत्व गर्न सक्छ त ? सक्दैन नि । 

आजको समयको सबभन्दा ठुलो वैचारिक संकट हो । तर सबभन्दा ठुलो संकट ज्ञानकै छ । हामीले कहाँ–कहाँ काम गर्ने भन्ने यथेष्ट आइडिया निर्माण गर्न सकेनौँ । निर्माण गरिएको आइडिया जति थियो, त्यतिमा पनि बेइमानी गरियो, संविधान बनाउने वेलादेखि नै । 

हामीले केमा काम गर्ने ? कसरी काम गर्ने ? कहाँ काम गर्ने भन्ने आइडिया भएन । जनता किन निराश छन् भन्ने कुराको हामीलाई उत्तर थाहा छैन । फलानोले खायो, मैले खान पाइनँ भनेर रिस उठेको हो कि ? यत्तिकै आक्रोशित किन भए त मान्छे भन्ने कुराको त एन्सर चाहियो होला नि ।  

सत्तामा बस्ने र बाहिर बस्नेले जनता आक्रोशित छन् भनेर लेखिराख्ने विद्वान्हरू देखेर पनि म चकित खान्छु । जनता आक्रोशित छन्, निराश छन् भनेर लेखेको लेखेकै छ, किन छन् भनेर भन्दैन । त्यसको जवाफ हुनुपर्‍यो नि । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप