संगठित अपराध, लागुऔषध र नक्कली नोटपछि सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्दै युनुस
काठमाडौँ । भारतीय जाली नोट कारोबारमा जेल बसेर छुटेका युनुस अन्सारीको चाबहिलमा कार्यालय रहेको नेसनल टेलिभिजनमा ५ करोड मूल्य बराबरको सेयर लगानी गरेको भेटिएको छ । युनुसले सो ५ करोड कहाँबाट ल्याए भनेर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी होविन्द्र बोगटीले उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘अन्सारीले टेलिभिजनमा गरेको ५ करोड लगानीको स्रोत देखिँदैन ।’
नेसनल टेलिभिजनमा गरेको लगानीको स्रोत अवैध देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । नेसनल टेलिभिजन अहिले बन्द भइसकेको छ । टेलिभिजनमा उनका साझेदार शुभेश्वर प्रसाद साह थिए ।
२०६७ सालदेखि नै सो टेलिभिजनले कर विवरण पेस गरेको छैन । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘टेलिभिजनमा उनले भारतीय जाली नोट कारोबारबाट आर्जित रकम लगानी गरेको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’
भारतीय जाली नोट कारोबारमा दोषी ठहर भएका अन्सारी ६ वर्ष कैद सजाय भुक्तान गरेर छुट्नासाथ जेठ १० मा पुनः पक्राउ परेका हुन् । नख्खु कारागारबाट रिहा हुनासाथ ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
युनुसको अचल सम्पत्ति, बैंक खाताको विवरण र कारोबारबारे अनुसन्धान अधिकृतहरूले विश्लेषण गरिरहेका छन् ।
२०७६ जेठ १० मा युनुस सहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले त्यति बेला ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँ बरामद गरेको थियो । सो घटनामा अन्सारीलाई अदालतले ६ वर्ष कैद सजाय र ६० हजार जरिवाना ठहर गरेको थियो ।
टेलिभिजनमा गरेको लगानीबारे युनुसले प्रहरी अधिकृतहरूसँग सो रकम ‘बुवा र बुवाका साथीहरूबाट लिएँ’ भनेका छन् । उनका बुवा सलिम मिया अन्सारी पूर्व सांसद र मन्त्री हुन् । २०७१ चैत २८ मा सलिम मियाँको निधन भएको थियो ।
तत्कालीन नेकपा मालेबाट एमाले हुँदै राजनीति गरेका सलिम मिया दुई पटक बाराबाट सांसद निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्री भए । सीआईबीका अधिकृतहरूसँग युनुसले भनेका छन्, ‘बुवा र उहाँका साथीहरूसँग रकम लिएर टेलिभिजनमा लगानी गरेको हुँ ।’
युनुसको अचल सम्पत्ति, बैंक खाताको विवरण र कारोबारबारे अनुसन्धान अधिकृतहरूले विश्लेषण गरिरहेका छन् । वीरगन्जस्थित चोर्नीमा उनको नाममा २ बिगाहा जग्गा रहेको भेटिएको छ । सो जग्गा बेच्न २०७० सालमा जग्गा बैना बापत १ करोड २५ लाख रकम लिएको भेटिएको छ ।
पत्नीको बैंक खातामार्फत बैना रकम लिए पनि युनुसले जग्गा पास गरिदिएनन् । जग्गा ‘बैना विवाद’ अदालत सम्म पुगेको थियो । अन्सारीले सो जग्गा २०६४ मा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन आउनुभन्दा अघि नै खरिद गरेको भेटिएको छ ।
- ८ वटा बैंक खाता, करिब ८ लाख नगद
युनुसको नाममा ८ वटा बैंकमा खाता सञ्चालन गरेको भेटिएको छ । तर, ती खातामा थोरै रकम रहेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार खाताहरूमा करिब ८ लाख नगद भेटिएको छ । २०६४ भन्दा पछिको खाताको विवरण हेरिरहेको एसएसपी बोगटीले बताए । उनले भने, ‘खाताहरूमा थोरै मात्रै रकम देखिन्छ ।’ सबै खाता प्रहरीले रोक्का राखेको छ ।
यसअघि २०६७, २०७० र २०७६ मा पक्राउ परेका युनुस अहिले चौथो पटक पक्राउ परेका हुन् । युनुसले यसअघि संगठित अपराध, लागुऔषध र भारतीय नक्कली नोट कारोबारको मुद्दा खेपिसकेका छन् । अहिले उनी सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण