शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राजनीतिमा विद्याको कमब्याकबारे पूर्वराष्ट्रपति यादव ‘नेगेटिभ’, पूर्वउपराष्ट्रपति झा ‘पोजेटिभ’

आइतबार, १५ असार २०८२, १५ : १६
आइतबार, १५ असार २०८२

सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा फर्किइन्, जसले चर्चा बटुलेको छ।
  • पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि माओवादी केन्द्रमा फर्किएका छन्, तर रामवरण यादव राजनीतिमा फर्किएनन्।
  • विश्लेषकहरूले यस विषयमा फरक-फरक धारणा राखेका छन्, कोही सकारात्मक र कोही नकारात्मक।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको घटना अहिले चर्चामा छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले शनिबार एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् । 

यसअघि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा फर्किसकेका छन् । भण्डारी राष्ट्रपति रहँदा पुन उपराष्ट्रपति थिए । दुवै एउटै कार्यकालमा राष्ट्रपति र उपराष्ट्रपति रहे ।

राष्ट्रपति र उपराष्ट्रपति रहिसकेका व्यक्ति राजनीतिमा फेरि फर्कनुलाई कतिपयले सकारात्मक रूपमा लिएका छन् भने कसैले आलोचना गरेका छन् ।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादव र तत्कालीन उपराष्ट्रपति परमानन्द झा अहिलेसम्म राजनीतिमा फर्किएका छैनन् । उनीहरूले राष्ट्रपति–उपराष्ट्रपति पद सम्हालिसकेका नाताले आफ्नो गरिमा र ओहदालाई बचाइरहेका छन् ।

डा.रामवरण यादवले राष्ट्रपतिका रूपमा कार्यकाल सकेलगत्तै आफू सक्रिय राजनीतिमा नफर्किने बताएका थिए । 

पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्केको विषयलाई पूर्वराष्ट्रपति यादवले सकारात्मक रूपमा लिएका छैनन् । केही समय पहिले उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा बसेका व्यक्तिले आफ्नो मर्यादा कायम राख्नुपर्ने धारणा राखेका थिए । त्यस यता उक्त विषयमा पूर्वराष्ट्रपति यादवले खासै बोलेका छैनन् ।  

पूर्वउपराष्ट्रपति परमानन्द झा भने इच्छा हुनेहरू सक्रिय राजनीतिमा फर्कन सक्ने तर्क गर्छन् । ‘राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा आउनु हुँदैन भनेर बन्देज लगाइएको छैन,’ उनले भने, ‘कानुनले कही रोकटोक गरेको छैन । इच्छा हुनेहरू राजनीतिमा फर्किँदा हुन्छ ।’

सामर्थ्यवान र योग्य व्यक्तिले राजनीति गर्न पाउनुपर्ने जिकिर गर्दै पूर्वउपराष्ट्रपति झाले भने, ‘त्यसमा कुनै टिकाटिप्पणी गरिरहन आवश्यक छैन ।’ राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई राज्यले खासै सुविधा नदिएको उनको भनाइ छ । सामान्य सुविधा लिएर घरमा बस्नुभन्दा जनताको सेवामा लाग्दा नै राम्रो हुने उनले बताए । 

के भन्छन् विश्लेषक ?
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कनुलाई अन्यथा मान्न नमिल्ने बताए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको रूपमा भण्डारी सक्रिय राजनीतिमा आएको उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनुलाई गणतन्त्रको घाउको संज्ञा दिए । ‘एक नम्बरका नागरिक भइसकेका व्यक्ति पुनः राजनीतिमा फर्किनु भनेको आफ्नो मर्यादा बिर्सेजस्तो हो,’ दाहालले भने ।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु एमालेको आन्तरिक मामिलामात्र नभएर राष्ट्रकै गम्भीर विषय भएको दाहालले बताए । उनले पूर्वराष्ट्रपति भण्डारीलाई कठोर शासक बन्ने भित्री चाहनाले पनि सक्रिय राजनीतिमा आउन प्रेरित गरेको हुनसक्ने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप