पाँच जलविद्युत कम्पनीसँग ग्रिड कनेक्सनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
सारांश
- राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र ५ जलविद्युत कम्पनीबीच ग्रिड जडान सम्झौता भयो।
- ऊर्जा मन्त्री दीपक खड्काको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको थियो, जसले ऊर्जा क्षेत्रमा सुधार ल्याउनेछ।
- सम्झौताले जलविद्युत उत्पादनलाई राष्ट्रिय ग्रिडमा जोड्न र प्रसारण लाइन स्तरोन्नति गर्न मद्दत गर्नेछ।
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र पाँच वटा प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरूबिच ग्रिड कनेक्सनसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा हस्ताक्षर गर्ने प्रतिनिधिहरूमा राष्ट्रिय ग्रिड प्रसारण कम्पनीको प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र विभिन्न जलविद्युत प्रवर्द्धक कम्पनीहरूको प्रतिनिधि समावेश थिए। हस्ताक्षर गर्ने प्रमुख कम्पनीहरूमा एस. सि. पावर कम्पनी प्रा.लि, सुर्मा सरोबर हाइड्रोपावर प्रा.लि., माता मालीका इनर्जी मल्टिपल प्रा.लि., सूर्य होल्डिङ्ग प्राइभेट लिमिटेड र श्री हिमजल हाइड्रोपावर प्रा.लि. रहेका छन्।
समारोहमा मन्त्री दीपक खड्काले सम्बोधन गर्दै उक्त सम्झौतासँग सम्बन्धित विद्युत् क्षेत्रको महत्व र निजी क्षेत्रको भूमिकाबारे महत्त्वपूर्ण धारणा राखे। उनले भने, "ऊर्जा क्षेत्रको सही प्रवर्द्धन र लगानी व्यवस्थापनको अभावले नेपालको समृद्धिको मार्गमा ठुलो अवरोध पुर्याएको छ। यस प्रकारका सम्झौताले मात्र हामीलाई ऊर्जा क्षेत्रमा आवश्यक सुधार ल्याउन मद्दत पुर्याउनेछ।"
कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, विद्युत् नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल र जलविद्युत कम्पनीहरूको प्रतिनिधित्व गर्ने इमान सिंह गुरुङलगायतका प्रमुख व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए।
सम्झौता भएका कम्पनीहरूमा एस. सि. पावर कम्पनी प्रा.लि. द्वारा प्रवर्द्धन गरिएको तिला-१ जलविद्युत आयोजना (४४० मेगावाट, कालिकोट), सुर्मा सरोबर हाइड्रोपावर प्रा.लि. द्वारा महाकाली सेती अर्धजलासय युक्त जलविद्युत आयोजना (५४ मेगावाट, बझाङ), माता मालीका इनर्जी मल्टिपल प्रा.लि. द्वारा मालुमेला सेतीनदी पिकिङ्ग हाइड्रोपावर आयोजना (७२ मेगावाट, बझाङ), सूर्य होल्डिङ प्राइभेट लिमिटेड द्वारा अपर मेवा खोला ए हाइड्रोपावर आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) र श्री हिमजल हाइड्रोपावर प्रा.लि. द्वारा सुपर दरौदी हाइड्रोपावर प्रोजेक्ट (९.१४३ मेगावाट, गोरखा) छन् ।
सम्झौताअनुसार राष्ट्रिय ग्रिड प्रसारण कम्पनी र प्रवर्द्धक कम्पनीहरूले आफ्नो जलविद्युत उत्पादनलाई राष्ट्रिय ग्रिडमा समाहित गर्ने र समयमै ट्रान्समिसन लाइनको अपग्रेडेशन गर्नका लागि सहमति जनाएका छन्। यसले नेपालको ऊर्जा क्षेत्रमा थप स्थायित्व र विकास ल्याउने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण