शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कुलिङ पिरियडमा किर्ते

एमाले र कांग्रेसकै सांसदले मागे समितिका सभापति रामहरि खतिवडाको राजीनामा

सभापति खतिवडाको जवाफ : मेरो निष्ठा र प्रतिष्ठामा आँच पुर्‍याउने काम भयो
बुधबार, १८ असार २०८२, १७ : १६
बुधबार, १८ असार २०८२

सारांश

  • राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा एमाले र कांग्रेसका सांसदहरूले मागेका छन्।
  • संघीय निजामती सेवा विधेयकको 'कुलिङ पिरियड' सम्बन्धी व्यवस्थामा अक्षम्य गल्ती भएको भन्दै राजीनामाको माग गरिएको हो।
  • सभापति खतिवडाले छानबिनमा गल्ती देखिए कारबाही भोग्न तयार रहेको बताएका छन्।

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको उनकै पार्टी नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद्हरूले राजीनामा माग गरेका छन् । यस्तै समितिका सचिव सुरजकुमार दुराको पनि राजीनामा मागिएको छ ।

बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको समितिको हलमा बसेको समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को दफा ८२ मा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा समितिले सर्वसम्मत गरेको निर्णयमा अक्षम्य गल्ती गरेको भन्दै एमालेका चार र कांग्रेसका एक सांसदले सभापति र सचिवको राजीनामा मागेका हुन् । 

समिति बैठकमा एमालेका सांसदहरू पदम गिरी, बासुदेव घिमिरे, राजेन्द्र राई र कृष्णगोपाल श्रेष्ठ तथा कांग्रेसका सांसद हृदयराम थानीले सभापति खतिवडा र समिति सचिव दुराको राजीनामा मागेका हुन् । 

समिति बैठकमा कांग्रेस सांसद् थानीले संघीय निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा संसद्को धज्जी उडाउने गलत काम भएकाले शक्तिशाली समिति गठन गरेर छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने बताए । ‘सभापतिजी ठट्टाको विषय होइन, जानीजानी गल्ती भएको छ । सभापतिको कोर टिमले के गरेको हो ? क्लियर भएको छ,’ थानीले बैठकमा भने, ‘सभापतिले नपढेर हस्ताक्षर गर्नुभयो भन्ने पत्याउन सकिन्न । संसद्बाट छानबिनका लागि समिति नबन्दासम्म अरू विषयमा छलफल गर्न समिति बैठक बस्न सक्दैन । नैतिकता के हो ? यति गल्ती भएपछि के गर्ने ? भन्ने सभापतिले बुझ्नु पर्ने हो । समिति सचिवले बुझ्नु पर्ने हो ।’ 

एमालेका चार सांसद्ले सभापति खतिवडा र सचिव दुराले निजामती कर्मचारी विधेयकको कुलिङ पिरियडका सम्बन्धमा गरेको गल्तीको छानबिन नहुँदासम्म राजीनामा दिनुपर्ने बताए । एमाले सांसद गिरीले भने, ‘सभापति र सचिवले समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अक्षम्य त्रुटि गर्नुभएको छ । नैतिकताका आधारमा पदमा बस्न मिल्दैन ।’

यस्तै सांसद घिमिरेले समिति सभापति र सचिवले घटनाको छानबिन नहुँदासम्म पदबाट राजीनामा दिनुपर्ने बताए । यसैगरी सांसद राईले घटनाको छानबिन भएर निष्कर्ष ननिस्किएसम्म राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको कुर्सीमा खतिवडा बस्न नसुहाउने बताए ।

यस्तै सांसद श्रेष्ठले भने, ‘खतिवडाजीलाई समितिको सभापति स्विकारेर हिँड्न सक्दैनौँ । दुराजीले पनि सचिव भएर कुर्सीमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो ।’ 

यस्तै बैठकमा बोल्ने नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे, माओवादी सांसदद्वय हितराज पाण्डे र दुर्गा राई, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भने नैतिकताको विषय अरुले भन्ने नभई आफूले अनुभव गर्ने विषय भएको बताएका थिए । 

उनीहरूले राजीनामा दिन सुझाएपछि सभापति खतिवडाले बैठकको अन्तिममा आफ्नो संलग्नता बिन निष्ठा र प्रतिष्ठामा आँच आउने काम सचिवालयबाट भएको बताए । ‘मेरो संलग्नता बिन मेरो निष्ठा र प्रतिष्ठामा आँच पुर्‍याउने काम भएको छ,’ खतिवडाले भने, ‘समितिको सचिवालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको रूपमा आएका सहसचिवले गरेका छन् ।’

सभापति खतिवडाले छानबिनमा गल्ती देखिएमा जस्तोसुकै कारबाही भोग्न आफू तयार रहेको बताए । ‘छानबिनमा गल्ती देखिएमा जस्तोसुकै कारबाही भोग्न तयार छु,’ खतिवडाले भने ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप