शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

शशांक बीपीको स्मृति दिवस मनाउन सुन्दरीजल जाने

सोमबार, ०५ साउन २०८२, १५ : ४२
सोमबार, ०५ साउन २०८२

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्ना बुबा कांग्रेसका संस्थापक तथा  प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउन सुन्दरीजल जाने भएका छन् । 

सुन्दरीजलमा रहेको बीपी सङ्ग्रहालयमा पुगेर स्मृति दिवसको कार्यक्रम सुरु गर्ने तय भएको डा. कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । 

०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन भएको थियो । शशांकले संग्राहलयमा पुगेर बुबाको तस्बिरमा माल्यार्पण गरेर एक घण्टा बस्ने तिवारीले जानकारी दिए । 

तत्कालीन राजा महेन्द्रले जन निर्वाचित कोइराला नेतृत्वको सरकारमाथि २०१७ साल पुस १ गते 'कू' गरेर पहिलो संसद् विघटन गरी प्रत्यक्ष शासन सुरु गरेका थिए । 

त्यसपछि प्रधानमन्त्रीबाट अपदस्थ गरिएका बीपीसहितका कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितलाई आठ वर्षसम्म थुनेर राखिएको सुन्दरीजल जेललाई प्रजातन्त्र पुनर्स्थापनापछि बीपी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ ।

सङ्ग्रहालयमा प्रथम राष्ट्रपति रामवरण यादव, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीपीलाई स्मरण गर्न पुगेका छन् ।  अहिलेको स्मृति दिवसमा बीपीका कान्छा छोरा शशांक सुन्दरीजल पुग्न लागेका हुन् । 

बीपीको नेतृत्वमा भएको २०१५ सालको निर्वाचनमा कांग्रेसलाई दुई तिहाइ बहुमत आएपछि २०१६ सालमा प्रधानमन्त्री बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप