संयुक्त राष्ट्र आर्थिक तथा सामाजिक परिषदको अध्यक्षमा नेपाल निर्वाचित
सारांश
- नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को अध्यक्षमा निर्वाचित भएको छ।
- राजदूत लोकबहादुर थापाले अध्यक्षको कार्यभार सम्हालेका छन् र नेपालको बहुपक्षीयताप्रतिको प्रतिबद्धता व्यक्त गरे।
- अध्यक्षको रूपमा, नेपालले दिगो विकास लक्ष्य हासिल गर्न र साझेदारीलाई सुदृढ तुल्याउन पहल गर्नेछ।
न्यूयोर्क । नेपाल संयुक्त राष्ट्रसंघको प्रमुख अंगमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि न्यूयोर्कस्थित नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले बिहीबार संयुक्त राष्ट्र मुख्यालयमा आयोजित विशेष समारोहबीच औपचारिक रूपमा इकोसोकको अध्यक्षको जिम्मेवारी सम्हाले।
समारोहमा इकोसकका निवर्तमान अध्यक्ष तथा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रेले नेतृत्व हस्तान्तरणको प्रतीक स्वरूप ग्याभल (हथौडा) अध्यक्ष थापालाई हस्तान्तरण गरे।
आफ्नो उद्घाटन मन्तव्यमा अध्यक्ष थापाले आफ्नो कार्यकाललाई स्पष्ट दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले इकोसकलाई संवादमूलक प्लेटफर्म मात्र नभई क्रियाशील र परिणाममुखी कार्यान्वयनको उत्प्रेरक बनाउने अठोट व्यक्त गरे।
“ एजेन्डाहरु अरु राम्रोसंग कार्यान्वयन गर्नु विकल्प होइन, आवश्यकताकै विषय हो,” थापाले भने। उनले बहुपक्षीय प्रणालीप्रति विश्वास पुनःस्थापना गर्नु, कमजोर वर्गलाई सशक्त बनाउनु, र ठोस विकास परिणामहरू सुनिश्चित गर्नु आजको आवश्यकता भएको पनि बताए।
नेपालको अध्यक्षतामा इकोसकका पाँच प्राथमिक क्षेत्रहरू कृषि–खाद्य प्रणालीको रूपान्तरण, व्यवस्थित सुधार र रणनीतिक साझेदारीमार्फत विकासको लागि वित्तीय स्रोत परिचालन, डिजिटल समावेशीकरण र युवाहरूको उद्यमशीलता प्रवर्द्धन, हिमताल विस्फोटको जोखिम न्यूनीकरण तथा संवेदनशील समुदायको सुरक्षा तथा इकोसकको ८०औं वार्षिकोत्सवको आयोजना हुने उनले स्पष्ट पारे।
बहुपक्षीयवादप्रति नेपालको दीर्घकालीन प्रतिबद्धता स्मरण गर्दै अध्यक्ष थापाले यस भूमिकालाई विगत चार दशकमा नेपालले पाएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय जिम्मेवारीको रूपमा व्याख्या गरे। उनले भने, “इकोसकको नेतृत्व अन्तरराष्ट्रिय विकासमा योगदान दिने नेपालको गम्भीर आकांक्षाको प्रतीक हो।”
उनले सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र निकायहरू, नागरिक समाज र अन्य सरोकारवालालाई समान उद्देश्यका लागि एकजुट भएर काम गर्न आग्रह पनि गरे।
इकोसकभित्र प्रभावकारी समन्वय, सहकार्य विस्तार, २०३० को दिगो विकास एजेन्डालाई गति दिन तथा ठोस कार्यान्वयन प्रणाली निर्माणमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाए ।
२०२६ सत्रका लागि इकोसक ब्युरोका उपाध्यक्षहरूमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणतन्त्र, र स्पेन निर्वाचित भएका छन्, जसले परिषद्को कार्यलाई थप सघाउनेछन्।
नेपालको इकोसक अध्यक्षताले देशको कूटनीतिक पहिचानलाई थप मजबुत बनाउने मात्र नभई अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, नागरिक समाज र विकास साझेदारहरूसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) संयुक्त राष्ट्रसंघका छ प्रमुख निकायहरूमध्ये एक हो, जसको जिम्मेवारी संगठनका आर्थिक तथा सामाजिक क्षेत्रहरूको समन्वय गर्नु हो।
इकोसकले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयहरूमा छलफल गर्ने तथा सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्र प्रणालीलाई नीतिगत सिफारिसहरू प्रदान गर्ने केन्द्रीय मञ्चको रूपमा कार्य गर्दछ। यस परिषद्मा ५४ सदस्य राष्ट्रहरू छन्। यी सदस्यहरू नियमित रूपमा परिवर्तन हुने गरी चयन गरिन्छ। साथै, १,६०० भन्दा बढी गैर-सरकारी संस्थाहरूले परिषद्सँग परामर्शदाताको हैसियत प्राप्त गरेका छन् जसका आधारमा उनीहरूले संयुक्त राष्ट्रसंघको कार्यमा सहभागी हुन सक्छन्।
राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत थापाले एक वर्षका लागि इकोसकको अध्यक्षता गर्ने छन्। यस अघि थापाले बेल्जियम तथा युरोपेली संघका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा आएको एउटा 'लिंक'ले रित्यायो सुजनको २५ लाख: दुई जनाविरुद्ध ठगी मुद्दा
-
निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित
-
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
-
फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)
-
अमेरिकाद्वारा मारिए भेनेजुएलाको ‘ट्रेन दे आरागुवा’का नेता गुरेरो
-
प्रोटिनको कमी छ ? चनासँग खानुस् यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण