सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पोखरा– १२ : पाहुना घुमाउने ‘नयाँ सांस्कृतिक गन्तव्य’

शुक्रबार, १६ साउन २०८२, २० : १०
शुक्रबार, १६ साउन २०८२

पोखरा । पोखराको कोर सिटी वडा नम्बर १२ पहिलेकै नगरपालिकाको हिस्सा हो । भौगोलिक हिसाबले सानो भए पनि बसाइँ सरी आउने र रैथानेहरूको मिश्रणबाट बनेको छ, यो वडा । 

आधुनिक विकासले छपक्कै छोपिएको यहाँ कङ्क्रिटको जङ्गल भरिएको छ । तर, यही कङ्क्रिटको जङ्गलबिच वडाकै पहलमा अहिले पुराना र परम्परागत शैलीका संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । यही संरचनाका कारण पोखरा १२ ‘कोर सिटी’ भित्रको घुम्ने र अध्ययन गर्ने वडा बनेको छ ।

वडा र महानगरको लगानीमा यहाँ परम्परागत शैलीमा प्रवेशद्वार, फल्चा र बगैँचा निर्माण गरिएको छ । डेढ करोड लागतमा निर्माण गरिएको संरचना शुक्रबार एक कार्यक्रमका बिच मेयर धनराज आचार्य र वडाध्यक्ष सन्तोष बास्तोलाले संयुक्त रूपमा उद्घाटन गरे । 

वडाध्यक्ष बास्तोलाले विदेशी संस्कृतिको प्रभावले नेपाली मौलिकता र सामाजिक क्रियाकलापमा असर परिरहेको बेला आफ्नो वडामा परम्परालाई संरक्षण गरिरहेको बताए ।

‘हामी जन्मदिनमा केक काट्छौँ, तर सामाजिक कार्य गर्नेतर्फ ध्यान जाँदैन । जनैपूर्णिमामा बहिनीलाई राखी किनिस् भनेर सोध्छौँ, तर बुबालाई जनै मन्तर्नुभयो भनेर सोध्दैनौँ,’ उनले भने, ‘विल्कुल विदेशी संस्कृतिमा हामी रमाएका छौँ । तर आफ्नै मौलिकता जोगाउन खासै पहल गरेका रहेनछौँ ।’ उनले आधुनिकताका नाममा मौलिकता हराउन नदिने बताए ।

‘हामीले निर्माण गरेको प्रवेशद्वार फगत इँटा, सिमेन्ट वा कङ्क्रिट होइन । यो एक महत्त्वपूर्ण सांस्कृतिक र मौलिकताको ज्वलन्त उदाहरण हो,’ उनले भने । संरचना निर्माणमा झन्डै १ करोड भन्दा बढी खर्च भएको बास्तोलाले जानकारी दिए ।

मेयर आचार्यले पोखरा वडा नम्बर १२ अहिले पोखरा आउने सबैको लागि घुम्ने वडा बनेको बताए । ‘पहिले हामीले कुनै पाहुनालाई वडा कार्यालय घुमाउनु पर्दा वडा नम्बर ७ मा पठाउँथ्यौँ, अहिले चाहिँ वडा नम्बर १२ मा पठाउने गरेका छौँ,’ उनले भने, ‘परिसरभित्रको वातावरण देखेर सबै प्रफुल्लित हुँदै फर्किनुहुन्छ ।’ 

करिब साढे सात रोपनी क्षेत्रफलमा फैलिएको परिसरलाई बगैँचाका रूपमा स्थापित गरेकोमा वडालाई उनले धन्यवाद दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप