शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

परिवारसँगको विवादका कारण घर छाडेर हिँडेकी नेपाली युवती भारतमा बलात्कृत

बिहीबार, २२ साउन २०८२, २१ : ४७
बिहीबार, २२ साउन २०८२

सारांश

  • परिवारसँगको विवादका कारण घर छाडेर भारत पुगेकी एक नेपाली युवती बलात्कृत भइन्।
  • बस चालकले उनलाई रोजगारीको प्रलोभन दिएर दुई दिनसम्म बलात्कार गरे र नगद तथा मोबाइल लुटे।
  • पटनामा रहेका नेपाली समुदायले युवतीलाई प्रहरीमा उजुरी दिन लगाए, र प्रहरीले आरोपीको खोजी गरिरहेको छ।

काठमाडौँ । परिवारसँग विवादका कारण घर छाडेर हिँडेकी एक नेपाली युवती भारतमा बलात्कृत भएकी छन् । सिलगुडी हुँदै पटना पुगेकी ती युवतीलाई एक बस चालकले दुई दिनसम्म बलात्कार गरेका हुन् ।

बस चालक भारतीय नागरिक रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पटना पुगेकी ती युवतीलाई आरोपित चालकले रोजगारीको प्रलोभन देखाएर आफूसँगै लगेका थिए ।

दुई दिनसम्म बलात्कार गरेर आफूसँग भएको नगद र मोबाइल फोनसमेत ती चालकले लुटेको पीडित युवतीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गान्धी मैदान बस स्ट्यान्ड नजिक रुँदै बसेको अवस्थामा फेला परेकी ती युवतीलाई पटनामा रहेका नेपाली समुदायले प्रहरी कार्यालयमा लगेर उजुरी दिन लगाएका छन् । पीडितको बयानका आधारमा प्रहरीले आरोपित चालकको खोजी गरिरहेको बताइएको छ ।

केही भारतीय सञ्चारमाध्यमले पीडित युवतीको घरमा सौतेनी आमाले कामका लागि निरन्तर दबाब दिएको र सोही कारण उनी घर छाडेर हिँडेको उल्लेख गरेका छन् । यद्यपि ती युवतीको नाम र ठेगाना भने खुलाइएको छैन । उनी चार दिन अघि घरबाट हिँडेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप