शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

आफैँ संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनप्रति किन सशङ्कित भए ओली ?

मङ्गलबार, २७ साउन २०८२, १५ : ३०
मङ्गलबार, २७ साउन २०८२

सारांश

  • केपी ओलीले मदन भण्डारी फाउन्डेसनमार्फत शक्ति आर्जन गरेको र पछि त्यसैको विरोध गरेको कुरा उठ्यो।
  • ओलीले फाउन्डेसनको प्रयोग आफ्नो स्वार्थका लागि गरे, तर अहिले विद्यादेवी भण्डारीसँगको सम्बन्धका कारण विरोधमा उत्रिएका छन्।
  • फाउन्डेसनका गतिविधि र पदाधिकारीप्रति ओलीले शंका व्यक्त गरे, जसलाई पूर्व एमाले नेताहरूले आलोचना गरेका छन्।

काठमाडौँ । ‘मदन भण्डारी फाउन्डेसनमार्फत गुटको भेला गरेर तपाईंले पार्टी विभाजनको गतिविधि गर्दै हुनुहुन्छ । यो काम तत्काल रोकियोस्’ तत्कालीन नेकपाकालमा केपी ओली र प्रचण्ड–माधवबिच अन्तरद्वन्द्व बढ्दै जाँदा सचिवालय बैठकमै प्रचण्डले ओलीलाई यसो भनेका थिए ।

तर, त्यसवेला ओलीले प्रचण्डको मागमा बेवास्ता गर्दै गतिविधि रोक्नुको साटो थप बढाएका थिए । अर्थात् ओलीको शक्ति आर्जन गर्ने माध्यम थियो मदन भण्डारी फाउन्डेसन ।

नेकपाकालमा मात्र होइन, यो फाउनडेसनमार्फत ओलीले शक्ति आर्जन गर्न थालेको २०५५/०५६ सालबाटै रहेको जानकारहरू बताउँछन् । जतिवेला नेकपा एमालेमा माधव नेपालको रजगज थियो त्यसैवेलादेखि ओलीले फाउन्डेसनमार्फत पार्टीमा समानान्तर गतिविधि चलाउँदै आएको लामो समय फाउन्डेसनमा रहेर काम गरेकाहरू बताउँछन् । फाउन्डेसनका जिल्ला सङ्गठनहरू विस्तार गर्ने क्रममा क्रममा माधव–झलनाथ समूहका मानिसहरूले इन्ट्री नै पाउँदैन थिए ।

‘पछि नवौँ महाधिवेशनपछि त फाउन्डेसनको मानिस भएमात्रै पार्टी कमिटीमा टिकट पाउने नत्र नपाउने अवस्था समेत आएको थियो’, एमालेका एक नेता भन्छन्, ‘यसरी उहाँले आफ्नो फाइदा हुँदासम्म फाउन्डेसन प्रयोग गर्नुभयो र उच्च पदसम्म पुग्न सक्नुभयो तर अहिले त्यसैको विरोधमा ओलीजी उत्रनुभयो ।’

फाउन्डेसन अन्तर्गत मदन भण्डारी मेमोरियल कलेज, दुई वटा स्कुल र काठमाडौँ र मधेसमा जग्गा जमिन समेत रहेको बताइएको छ । अव ती भौतिक र आर्थिक साधनमा समेत दुई पक्षको लडाइँ हुनसक्ने कतिपय एमाले नेता कार्यकर्ताहरुको बुझाइ छ ।  

‘पार्टीमा माधव नेपालसँग ओलीको जतिवेला द्वन्द्व चर्कियो र एक हिसाबले माधवले ओलीलाई पार्टीमा नाकाबन्दी नै लगाइदिएका थिए । त्यसैबेलादेखि ओलीले फाउन्डेसनमार्फत आफ्नो शक्ति बढाउन लागेका थिए’, फाउन्डेसनमा आबद्ध सदस्य सुबोधराज प्याकुरेल सम्झन्छन्, ‘हुँदा हुँदा यदि कसैले केपीलाई कार्यक्रममा बोलायो भने बोलाउने मानिस समेत माधवको तारो बन्ने गर्दथ्यो ।’

प्याकुरेलका अनुसार त्यो अवस्था आएपछि विद्यासँग मिलेर ओलीले फाउन्डेसनलाई विस्तार गर्दै सवै जिल्लामा सङ्गठन विस्तार गरेका थिए ।

‘मदन भण्डारी फाउन्डेसन ५० सालमै स्थापना गरिए पनि पछि पार्टीमा आफू पेलानमा परेपछि ओलीले नै पुन सक्रिय गराएका हुन्’, प्याकुरेलको भनाइ छ । अहिले पार्टी सञ्चालनमा ओलीलाई लाग्ने आरोपजस्तै त्यसवेला पार्टीमा माधवले कब्जा जमाएपछि ओलीले फाउन्डेसनमार्फत आफ्ना गतिविधि बढाएको प्याकुरेलको बुझाइ छ ।

‘आफै प्रमुख संरक्षक रहेको र आफ्नो पहलमा खडा भएको संस्थालाई अहिले अन्टसन्ट आरोप लगाएर कारबाही गर्नुपर्छ भन्न थाल्नुभयो’, प्याकुरेलले भने, ‘त्यही प्लेटफर्मबाट उहाँ अहिले यो अवस्थामा आइपुग्नु भएको हो । मलाई त ओलीको भाषण सुन्न पनि दिक्क लाग्यो । केपी यो तहमा जानुहुन्छ भन्ने मैले कल्पना समेत गरेको थिइनँ ।’

तर पछिल्लो समय भने उनै ओली फाउन्डेसनको विपक्षमा उभिएका छन् । पार्टीभित्र आफू सङ्कटमा पर्दा फाउन्डेसनमार्फत शक्ति आर्जन गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले फाउन्डेसनकै विरोधमा उभिनुको कारण विद्या भण्डारी फ्याक्टरले काम गरेको एमालेभित्र चर्चा छ । अझ रोचक त के छ भने ओली आफै अझै उक्त फाउन्डेसनका संरक्षक रहेका छन् ।

सोमबार एमाले केन्द्रीय कार्यालयमा मदन–आश्रित प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका पछिल्ला गतिविधि र त्यसका पदाधिकारीप्रति आशङ्का र संशय प्रकट गरे ।

‘प्रतिष्ठान पार्टीको आन्दोलन, विचार र निष्ठालाई प्रवर्द्धन गर्ने काममा क्रियाशील हुनुपर्छ’, सम्बोधनका क्रममा ओलीले भने, ‘मदन भण्डारी फाउन्डेसनका पछिल्ला गतिविधि हेर्दा यस्तो पाइँदैन । पदाधिकारीका गतिविधि हेर्दा त्यो कता जान्छ भन्न सकिने अवस्था रहेन ।’

प्रतिष्ठानहरू सामूहिक संस्था हुनुपर्ने भन्दै ओलीले प्रतिष्ठानलाई  माध्यम बनाएर व्यक्तिगत हितमा प्रयोग गर्न नहुनेमा जोड दिए । उनको यो भनाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित थियो भनेर बुझ्न कठिन छैन । एमालेको अवरोधकाबिच विद्या भण्डारीले सक्रिय राजनीति गर्ने बताउन नछाड्नु र सोही फाउन्डेसनलाई प्रयोग गर्ने अवस्था देखेपछि ओली फाउन्डेसन र त्यसका पदाधिकारीको आलोचना गर्न पुगेका हुन् ।

प्रधानमन्त्री समेत रहेका ओलीले फाउन्डेसनको आलोचना गरेपछि पूर्व एमाले नेता कार्यकर्ताहरूले ओलीको चर्को आलोचना गरिरहेका छन् । फाउन्डेसनका पूर्व केन्द्रीय सदस्य तथा हाल नेकपा एकीकृत समाजवादीका प्रचार विभाग उपप्रमुख रहेका दामोदर अर्यालले त सामाजिक सञ्जालमा ओलीलाई व्याङ्ग्यमिश्रित धन्यवाद नै दिएका छन् ।

‘मदन भण्डारी फाउन्डेसन ठगेर खाने संस्था हो भनेर केपी ओलीले भन्नुभयो भनेर सामाजिक सञ्जाल अहिले तातेको छ ।उहाँले साँच्चिकै यो भन्नुभएको हो भने उहाँलाई धन्यवाद दिनुपर्छ’, अर्यालले लेखेका छन्, ‘किनकि यो संस्थाको संरक्षक स्वयं कमरेड ओली नै हुनुहुन्छ ।’

अर्यालले ठगी र भ्रष्टाचारको आरोपमा जेलै बसेका कैयौँ मान्छेहरूले समेत आफूप्रति प्रतिशोध राखिएको र आफू निर्दोष भएको बताइरहेको बेलामा आफ्नै संरक्षकत्वमा आफ्नै संस्थाले ठगी गरेको बयान दिनु चानचुने कुरा नभएको बताएका छन् ।

‘यसरी सबै आरोपितहरूले आफ्नो गल्ती आफै स्वीकार गर्दै जाने हो भने यो संसार कति रमाइलो हुन्थ्यो होला !’, अर्यालले लेखेका छन् ।

आफ्नै सक्रियतामा स्थापना भएको मदन भण्डारी फाउन्डेसन पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको ओलीको निष्कर्ष छ । पार्टीभित्र आफू कमजोर हुँदा आफैले फाउन्डेसनलाई पार्टी संस्थापन विरुद्ध उपयोग गर्ने गरेका ओली अहिले आफू संस्थापन हुँदा आफ्नै विरुद्ध विद्या भण्डारीले फाउन्डेसनलाई प्रयोग गर्न थालेपछि ओली आक्रोशित बन्न पुगेका हुन् ।

प्याकुरेलका अनुसार फाउन्डेसनमार्फत नै ओलीले जनताको बहुदलीय जनवाद र पार्टी जीवनको लोकतान्त्रीकरण नामक पुस्तक प्रकाशन गरेका हुन् । माधवविरुद्ध ओलीले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन भन्दै अघि सारेको नीति अनुसार नै एमाले आठौँ महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप