शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारी : वर्कशपबाट अपराधीको सूचना लिन्छन्

एक वर्षमा काठमाडौँबाट ८ हजार ५२० जना कसुरदार पक्राउ
बुधबार, २८ साउन २०८२, १६ : १२
बुधबार, २८ साउन २०८२

काठमाडौँ । प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ विश्व अधिकारी ६ महिनादेखि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख छन् । २०८१ माघ १५ मा उनले काठमाडौँ प्रहरीको कमाण्ड समालेका थिए ।

मुलुकको राजधानी काठमाडौँको अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न उनले नयाँ ढङ्गले सूचना सङ्कलन गर्ने गरेको बताएका छन् । काठमाडौँ प्रहरी प्रमुखको रूपमा ६ महिना काम गरेपछि बुधवार उनले पत्रकार सम्मेलन गरेर मोटरसाइकल वर्कशपका सञ्चालक र र कामदारहरूबाट सूचना लिएर काम गर्ने गरेको बताए ।

उनले भने, ‘काठमाडौँमा आएपछि वर्कशप सञ्चालक र कामदारहरूसँग अन्तरक्रिया गरेर अपराध र अपराधमा संलग्नहरूको सूचना लिन थालेको थिएँ ।’

आफू हाजिर भएपछि ६५० जना वर्कशपका सञ्चालक र मिस्त्रीहरूसँग अन्तरक्रिया गरेर सूचना लिन थालेको अधिकारीले बताए । उनले भने, ‘समाजमा विभिन्न पेसा, व्यवसाय गर्नेहरूको सूचना वर्कशपमा काम गर्नेहरूसँग हुन्छ भनेर मैले उनीहरूसँग सम्पर्कमा रहेर काम गरेँ ।’

सामाजिक सञ्जालमा आफूले वर्कशपमा काम गर्नेहरुहरुको ग्रुप बनाएको उनले बताए । अधिकारीले भने, ‘वर्कशपमा काम गर्नेहरूको ह्वाट्स एप ग्रुप बनाएका छौँ, अपराधमा प्रयोग भएको मोटरसाइकल वा स्कुटर कहाँ छ भनेर तत्काल सूचना आउने संयन्त्र हामीले बनाएका छौँ ।’

मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरूसँग पनि छलफल तथा अन्तरक्रिया गरेर अपराधमा संलग्नहरूको सूचना लिने गरिएको एसएसपी अधिकारीले बताएका छन् ।

आर्थिक वर्ष २०८१–०८२ मा काठमाडौँ जिल्लाभरमा १२ हजार ९१५ मुद्दा दर्ता भएको छ ।  अपराधमा संलग्न ८ हजार ५२० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । २०८१ साउन देखी २०८२ असार मसान्तसम्ममा महाराजगञ्ज वृत्तमा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् ।

काठमाडौँमा एक वर्षको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा ६ हजार ५५३ बैंकिङ  कसुर मुद्दा दर्ता भएको एसएसपी अधिकारीले जानकारी दिए । गत वर्ष अभद्र व्यवहार सम्बन्धी १ हजार ९५३ मुद्दा दर्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप