औचित्यहीन सरकारी संस्था खारेजीदेखि समायोजन र हस्तान्तरणका विषयमा छलफल
सारांश
- उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले सरकारी संस्था खारेजी, गाभ्ने वा हस्तान्तरण गर्ने विकल्पमा छलफल गर्यो।
- प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले ठोस प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई जिम्मेवारी दियो।
- बैठकमा कार्य विस्तृतीकरण परिमार्जनको प्रस्ताव राष्ट्रिय समन्वय परिषद्बाट स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने विषयमा जानकारी गराइयो।
काठमाडौँ । उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विकल्पमा छलफल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण गर्न सिफारिस सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई जिम्मेवारी दिएको छ ।
आयोगमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति रहेको छ । आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले उद्देश्य अनुकूलको सकारात्मक परिणाम ल्याउने विकल्पसहित १५ दिनभित्र प्रतिवेदनसहितको प्रस्ताव ल्याउन कार्यान्वयन समितिलाई निर्देशन दिएका छन् ।
सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य, मितव्ययी र झञ्झटरहित बनाउन गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित आयोगको पहिलो बैठक गत असार ४ गते बसेको थियो ।
आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेलगायत पदेन सदस्य रहेका छन् ।
आयोगमा राजनीतिक दलमध्येबाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा तथा विज्ञमध्येबाट तीन सदस्य थप भएपछिको यो पहिलो बैठक आइतबार बसेको हो ।
बैठकमा कार्य विस्तृतीकरण परिमार्जन सिफारिस समितिको सुझावबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जनको प्रस्ताव राष्ट्रिय समन्वय परिषद्बाट स्वीकृत गरी मन्त्रिपरिषद्मा पेस गर्ने विषयमा पनि जानकारी गराइएको थियो ।
आयोगले सेवा प्रदायक निकायहरूको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियालाई छिटो, छरितो, नतिजामूलक र सरल बनाउने, कार्यसम्पादनमा ढिलासुस्ती र दोहोरोपन हटाउन तहगत र निकायगत अन्तर–समन्वय सुनिश्चित गर्ने कार्यक्षेत्र पाएको छ ।
यस्तै तीन तहका सरकारबिचको सहकार्य र समन्वय सुदृढ बनाउने, सङ्घीयता अनुकूल हुने गरी विद्यमान प्रशासनिक संरचना, कार्य प्रक्रिया र कानुनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐन र कानुनमा सुधारका विषय पहिचान गर्ने, निजामती सेवालाई सक्षम, उच्च मनोबलयुक्त र उत्तरदायी बनाउने कार्यक्षेत्र आयोगमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुक स्टाटसको भरमा छानबिन समिति नबनाऔँ, तथ्यमा आधारित छलफल गरौँ : सांसद झा
-
मेडिकल व्यवसायीबाटै लागुऔषध बिक्री भइरहेको सूचना छ : सांसद निश्कल राई
-
विश्वकपअघि इंग्ल्याण्डको उत्कृष्ट लय, मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि सानदार जित
-
पीपीपी मोडलमा ५० वटा नयाँ सिनेमा हल बनाउने बोर्डको योजना
-
इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी
-
प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष–मूर्ख देखि दैव डराउँछ भन्थे, हो रहेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण