बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

सगरमाथा र बुद्धले मात्रै कति चिनाउने, अब नेपाली कला र सिर्जनाले विश्वमा चिनिनुपर्छ: पर्यटनमन्त्री पौडेल

बिहीबार, २८ जेठ २०८३, १० : २१
बिहीबार, २८ जेठ २०८३

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउन ठुलो भूमिका खेलेको बताएका छन्।
  • मन्त्री पौडेलले अविनाश विक्रम शाहको लघु चलचित्र 'लोरी'ले कान्स फिल्म फेस्टिभलमा पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै नेपाललाई विश्वमाझ चिनाउन सगरमाथा र बुद्धको नाम मात्र पर्याप्त नभएको तर्क गरे।
  • उनले नेपाली कला, संस्कृति र मौलिक सिर्जनाका माध्यमबाट पनि विश्वभर चिनिनुपर्नेमा जोड दिँदै यस क्षेत्रको दिगो विकासका लागि सरोकारवालाहरू मिलेर अघि बढ्नुपर्ने खाँचो औँल्याए।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउन ठुलो भूमिका खेलेको बताएका छन्। 

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कला र सिर्जनाको सामर्थ्य विश्वस्तरमा स्थापित हुँदै गएको दाबी गरे।

कार्यक्रममा मन्त्री पौडेलले अविनाश विक्रम शाहको लघु चलचित्र ‘लोरी’ले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पुरस्कार प्राप्त गरेको सन्दर्भलाई विशेष रूपमा जोडे। नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको उल्लेख गर्दै उनले नेपाललाई विश्वमाझ चिनाउन अब सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको तर्क गरे। 

अबका दिनमा नेपाली कला, संस्कृति र मौलिक सिर्जनाका माध्यमबाट पनि विश्वभर चिनिनुपर्नेमा उनले जोड दिए। ‘लोरी’को सफलताको चर्चा नेपालमा भन्दा बढी छिमेकी देश भारतमा भएको आफूले पाएको स्मरण गर्दै उनले यस्ता अन्तर्राष्ट्रिय उपलब्धिले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।

अन्तर्राष्ट्रिय समुदायले अहिले नेपाली चलचित्र र यहाँका सर्जकहरूलाई निकै नजिकबाट नियालिरहेको बताउँदै मन्त्री पौडेलले यस क्षेत्रको दिगो विकासका लागि सबै सरोकारवालाहरू मिलेर अघि बढ्नुपर्ने खाँचो औँल्याए।

सम्बोधनका क्रममा उनले पुरानो समयको एउटा प्रसङ्ग उल्लेख गर्दै भने, ‘नेपाली सिनेमाले एकदमै ठुलो फड्को मारिरहेको छ । अविनाशजी त्यसको पछिल्लो शृङ्खलाका एक प्रतिनिधि पात्र हुनुहुन्छ । हामी पहिले–पहिले एउटा जोक गर्थ्यौँ–फिल्म तीन प्रकारका हुन्छन्, गुड फिल्म, ब्याड फिल्म र हिन्दी फिल्म । नेपाली फिल्मलाई त त्यसमा राखिन्थ्यो कि राखिँदैनथ्यो, मलाई थाहा छैन । त्यसपछि भनिन्थ्यो, सकेसम्म गुड फिल्म हेर्नु, त्यो नभए ब्याड फिल्म हेर्नु, र त्यो पनि नभए हिन्दी फिल्म हेर्नु । तर आज परिस्थिति धेरै बदलिएको छ । धेरैको सपना हुने ठाउँमा, जब ‘लोरी’ले क्यानमा एउटा प्रतिष्ठित पुरस्कार प्राप्त ग¥यो, त्यसको चर्चा नेपालभन्दा बढी भारतमा भएको मैले देखेको थिएँ । त्यो चर्चा भनेको देशलाई चिनाउने माध्यम हो । देश चिनियो भने हामी पनि चिनिन्छौँ । देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान् गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने? अब त हाम्रो पनि पालो हो । तपाईंहरूको यो योगदानप्रति मेरो गहिरो सम्मान छ । त्यसलाई शब्दमा व्यक्त गर्न सजिलो छैन । यो कुरा मेरो मनमा सधैँ धड्किरहन्छ । हामी सबै मिलेर काम गर्‍यौँ भने धेरै कुरा सम्भव छ । अहिले नेपाललाई धेरैले नियालिरहेका छन् । तपाईंलाई पनि धेरैले हेरिरहेका छन् ।’

कलाकारहरूको अतुलनीय योगदानलाई आफूले सधैँ उच्च सम्मान गर्ने भन्दै मन्त्री पौडेलले नेपाली सिनेमाको यो सुखद र ऐतिहासिक यात्रामा सरकारी तथा निजी सबै क्षेत्रको आपसी सहकार्य आवश्यक रहेको कुरामा जोड दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप