शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

अमेरिकाबाट उपसभामुख रानाको प्रश्न : मैले गल्ती गरेको भए उतिखेरै किन हटाएनन् ?

मङ्गलबार, ०३ भदौ २०८२, २० : २६
मङ्गलबार, ०३ भदौ २०८२

सारांश

  • सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर संकलन गरे तर पछि हटे।
  • उपसभामुख रानाले आफूलाई हटाउन खोज्नुको कारणबारे नेताहरूसँग जिज्ञासा राखेकी छिन्।
  • रानाले आफूमाथि रास्वपामाथिको आक्रोश पोखिएको र चरित्र हत्या गर्न खोजिएको आरोप लगाएकी छन्।

काठमाडौँ । मंगलबार बिहानैबाट सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई संसदीय दलमा बोलाएर धमाधम हस्ताक्षर गराए । हस्ताक्षर किन भन्ने अधिकांश सांसदलाई थाहा नै थिएन । तर मध्याह्न हुँदै गएपछि धेरैले थाहा पाए– उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सुरसार थियो । 

तर मंगलबार नै उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारीबाट सत्तारुढ दल एक कदम पछि हटे । कारण थियो– उपसभामुख राना नेपालमा नहुनु । उनी नभएका वेला प्रस्ताव लैजाँदा पछि कानुनी झमेला भोग्नुपर्ने देखिएपछि केही समयका लागि उनीहरू त्यो प्रयासबाट पछि हटे ।

हामीले यसै विषयमा अमेरिकामा रहेकी उपसभामुख रानालाई फोन सम्पर्क गरेर तपाईंलाई हटाउन हस्ताक्षर अभियान सुरु भएको छ, अब के गर्नुहुन्छ भनी सोधेका छौँ । उनीसँग गरिएको यस्तो छ छोटो कुराकानी 

तपाई अमेरिकामा भएका वेला उपसभामुख पदबाट हटाउन कांग्रेस–एमालेले हस्ताक्षर गरे, पाउनुभयो नि ?

–मलाई धेरै साथीहरूले फोन गरेर हस्ताक्षर भइरहेको छ भनेर जानकारी दिएका छन् । तर उनीहरूले हस्ताक्षर के प्रयोजनका लागि गरेको हो भन्ने अझै खुलेको छैन भन्ने पनि सुनेको छु । कांग्रेस एमालेकै सांसद साथीहरूबाट पनि हस्ताक्षर हुदैछ भनेपछि थाहा पाएँ ।

यो कुरा थाहा पाएपछि नेताहरूसँग संवाद पनि गर्नुभयो ?

–मैले कांग्रेस नेता डा. शेखर कोइरालालाई फोन गरेर सोधेको थिएँ । किनभने उहाँ पनि पुर्वकै नेता हो । मेरो कामबारे पनि उहाँलाई राम्रो जानकारी थियो । मैले मेरो जमिन सरकारलाई दिएर स्कुल खोलेको छु । त्यो स्कुल खोल्दा पनि उहाँले प्रमुख अतिथि भएर उद्घाटन गर्नुभएको थियो ।

के भन्नुभयो डा. शेखर कोइरालालाई ?

–दाइ तपाईंलाई मेरो कामबारे पनि थाहा नै छ । पहिला पनि डा.साबले स्ट्यान्ड लिनुभएको थियो । मैले उहाँलाई यसरी बारम्बार एक जना मानिसको चरित्रहत्या गर्न नै डेमोक्रेसी ल्याउनुभएको हो र ? भनेर सोधेँ र यति लामो इतिहास बोकेको कांग्रेसले एउटा पदका लागि यसो गर्नु राम्रो होइन, के छ दाइ के भएको यो भनेर जिज्ञासा राखेँ । उहाँले मलाई पनि ठिक लागेको छैन, त्यही भएर हामीले साइन पनि गरेको छैनौँ भन्नुभयो ।

दुतावासलाई एउटा पत्र लेख्दैमा कांग्रेस एमालेले प्रतिशोध साँधे भन्ने तपाईको बुझाईं हो ?

–पत्र पनि लेखेको होइन । पत्रको डफ्ट तयार मात्र गरेको हो । मलाई नियम पनि थाहा थिएन । किनभने उपसभामुख भएको पनि एक महिना पनि भएको थिएन । मैले त सबैलाई आफ्नो मानेको थिएँ । जेलका अपराधीलाई पनि म न्याय हुनुपर्छ, सेकेन्ड चान्स दिनुपर्छ भनेर जिन्दगी बिताइरहेको मान्छे हुँ । मेरा लागि को पराइ र को आफ्नो भन्ने नै छैन । त्यही पनि भिसा दिने अमेरिकाले हो ।

–तपाईंले गल्ती गरेको त हो नि ?

–एउटा मान्छे, जसले हरेक खुसीसमेत देशका लागि बाँडेको छ । उहाँहरूले राजनीति गर्दै आउनुभयो होला, तर मैले प्रत्यक्ष रूपमा मानिसको जीवनलाई परिवर्तन र रुपान्तरण गर्ने काम गरेको छु । सानो बच्चा जो बाबाआमा जेलमा बसेका छन्, मानसिक समस्या भएका बच्चाहरूलाई ल्याएर हुर्काएर असल मानिस बनाएको छु । स्कुलहरू पनि खोलेको छु । अहिले पनि म स्वयंसेवीको रूपमा बालबालिकालाई स्याहारिरहेको छु भने यस्तो मान्छेलाई देखिनसहने कस्ता होलान् ती नेताहरू ?

तपाई इमानदार हुनुहुन्छ, त्यो अलग पाटो भयो । तर अहिलेको विकसित घटनाक्रममा सत्तारुढ दलहरूहरूले रास्वपामाथिको आक्रोश तपाईंमाथि पोख्न लागेका हुन् कि भन्ने लागेको छैन ?

–गरेकै त्यही हो यिनीहरूले । मलाई लागेको पनि त्यही हो । उनीहरूले पहिला पनि मलाई हटाउन खोजेका थिए तर सकेनन् । यदि मैले गल्ती नै गरेको थिएँ भने अहिले किन पहिला नै हटाउन सक्नुपर्थ्यो नि । त्यसवेलाको कुरा ल्याएर अहिले यस्तो गर्नु राम्रो होइन । डेमोक्रेसीमा बहुमतको निर्णय हुन्छ तर बहुमत हरेक नागरिकको अधिकारको संरक्षणका लागि हुनुपर्छ ।

तर कसैको चरित्र हत्या गरेर आफ्नो सत्तास्वार्थ पूरा त गर्न मिल्दैन नि । सिस्टमलाई सबैले मान्नुपर्छ । रुल पनि बनाउनुपर्छ । रुल बनाएर लागु गर्नुपर्छ । देश बनाउने कुरामा ध्यान पटक्कै छैन । बालबालिकाहरू कतिपय ठाउमा भुइँमा बसेर पढ्नु परिरहेको छ । समाज रुपान्तरण गर्ने र सम्मृद्धि ल्याउने पहिलो नम्बरमा शिक्षा हो । तर त्यसतर्फ ध्यान छैन, अनि कसैलाई दबाएर र चरित्र हत्या गर्नु राम्रो होइन र त्यो डेमोक्रेसी पनि होइन ।

चरित्र हत्या गर्न खोजेकोमा तपाईंको बढी चित्त दुखाइ हो ?

–मेरो मात्र होइन, कसैको पनि चरित्र हत्या गर्नु राम्रो होइन ।

तत्कालै तपाईविरुद्ध प्रस्ताव लगे भने के गर्नुहुन्छ त ?

कस्तो आचरणविपरीत हो, के हो मलाई थाहा भएन । यदि त्यसै गरे भने भोग्नुको विकल्प मसँग के छ र ? तर मैले गल्ती नै गरेको छैन । गल्ती नगरी म किन सजाय भोग्ने ? यदि उनीहरू नियमै मिचेर जे मन लाग्यो त्यही गर्छन् भने म एउटा महिला हुँ के नै गर्न सक्छु र ?

विकसित घटनाक्रमलाई मध्यनजर गर्दै कार्यक्रम छोट्याएर नेपाल फर्कनुहन्न ?

म काममा आएकी हुँ । काम सकेर फर्कन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप