शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रुवी हत्या प्रकरण

रुवी हत्या प्रकरण: पूर्वप्रेमी पासवानमाथि शङ्का

सोमबार, ०९ भदौ २०८२, २२ : ३७
सोमबार, ०९ भदौ २०८२

सारांश

  • रौतहटको गौरमा सुटकेसभित्र फेला परेको महिलाको शव प्रकरणमा लक्ष्मण पासवान मुख्य आरोपी रहेको पुष्टि भएको छ।
  • प्रहरी अनुसन्धानका अनुसार, रुबी साहको हत्या गौर नगरपालिका- ५ को एक घरमा भएको थियो र पासवानले शव लुकाउन सुटकेस प्रयोग गरेका थिए।
  • घटनापछि फरार रहेका मुख्य आरोपीलाई पक्राउ गर्न प्रहरीले व्यापक खोजी गरिरहेको छ, प्रारम्भिक अनुसन्धानले हत्या योजनाबद्ध भएको देखाएको छ।

रौतहट। रौतहटको गौरमा सुटकेसभित्र फेला परेको महिलाको शव प्रकरणमा ठुलो खुलासा भएको छ। रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले रातोपाटीसँग कुरा गर्दै रूबी हत्या प्रकरणमा अहिलेसम्मको अनुसन्धानबाट मुख्य अभियुक्त पूर्व प्रेमी लक्ष्मण पासवान देखिएको बताएका छन्। प्रहरीले माधवनारायण नगरपालिका-६ माधोपुरका पासवानलाई २६ वर्षीया रुवीकुमारी साहको हत्या गरेको मुख्य आरोपीका रूपमा पहिचान गरेको हाे। एसपी गिरीले प्रारम्भिक अनुसन्धानबाट हत्या योजनाबद्ध भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

हत्या कहाँ र कसरी भयो ?

प्रहरी स्रोतका अनुसार रुबी साहको हत्या गौर नगरपालिका-५ को बालमन्दिर पछाडिको एउटा घरमा भएको हो। त्यही घरमा फेला परेको चप्पल र व्यक्तिगत सामग्रीबाट प्रहरीको शङ्का पुष्टि भएको हो।

हत्या गरेपछि पासवानले शव लुकाउन सुटकेस प्रयोग गरी सार्वजनिक स्थानमा फ्याँक्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। शव सार्न उनले गौरको कबिर चौकबाट ५०० रुपैयाँमा ई-रिक्सा भाडामा लिएका थिए।

रिक्सा चालकको बयान

सुटकेस बोकाएर लगेको आरोपमा पक्राउ परेका रिक्सा चालक राजकुमार महराले प्रहरीलाई महत्त्वपूर्ण जानकारी दिएका छन्। उनका अनुसार, सुटकेस बोकेका व्यक्तिले अरू रिक्सामा जान अस्वीकार गर्दै आफूसँगै जाने अडान गरेको थियो, जसले पछि शङ्का थपिएको हो।

मुख्य आरोपी फरार

घटनापछि लक्ष्मण पासवान सम्पर्कविहीन छन्। उनलाई पक्राउ गर्न प्रहरीले व्यापक खोजी अभियान चलाइरहेको छ।

प्रहरीले घटनालाई योजनाबद्ध हत्या मान्दै अनुसन्धान अघि बढाइरहेको छ। हत्या गर्नुको कारण, आर्थिक वा व्यक्तिगत विवाद, र सम्बन्धका आयामबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक विवरणअनुसार पासवान र मृतक रुबी विद्यार्थी जीवनमै प्रेम सम्बन्धमा रहेका थिए।

यस घटनाले रौतहटमा बढ्दो अपराध, महिला हिंसा तथा प्रहरी निगरानी प्रणालीप्रति पनि प्रश्न उठाएको छ। सुटकेसमा शव व्यवस्थापन गरी सार्वजनिक स्थानमा फ्याँकिनु समाजका लागि भयावह सन्देश हो। रुबी साह हत्या प्रकरण केवल व्यक्तिगत विवाद नभई व्यापक अपराधको सङ्केत हुन सक्ने प्रहरीको भनाइ छ। आरोपीलाई पक्राउ गरी घटनाको वास्तविक कारण सार्वजनिक गर्न स्थानीयवासीले दबाब दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप