आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने कबाड व्यवसायीको अडान, यस्ता छन् बालेनसँग माग

बुधबार, ११ भदौ २०८२, ०८ : ०२
बुधबार, ११ भदौ २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले ज्यादती गरेको भन्दै कबाड व्यवसायीले आन्दोलन जारी राख्ने भएका छन्।
  • कबाड व्यवसायी संघका अध्यक्षले मेयर बालेन्द्र शाहले सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको आरोप लगाएका छन्।
  • व्यवसायीहरूले पाँच बुँदे माग राख्दै महानगर घेराउ गर्दै आएका छन्, जसमा व्यवसायको अधिकारको ग्यारेन्टी र क्षतिपूर्तिको माग छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आफूहरूमाथि ज्यादती गरेको भन्दै कबाड व्यवसायीले बुधबार पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । 

कबाड व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरीत मेयर बालेन्द्र शाह (बालेन)ले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेको आरोप लगाए । उनले आन्दोलन आफूहरुको बाध्यता भएको बताए । उनले प्रश्न गरे, 'के बालेन सर्वोच्च अदालतभन्दा माथि छन् ? कानुनी शासनको कुरा गर्नेले कानुन मान्नुपर्दैन ?'

गुप्ताले सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्ने प्रतिबद्धता मेयर शाहले नगरेसम्म आन्दोलन जारी रहने स्पष्ट पारे । 'कानुन पालना गर्ने सवालमा बालेनलाई घुँडा नटेकाएसम्म हामी आन्दोलन छोड्दैनौँ,' उनले भने ।

 व्यवसायीहरूले सोमबारदेखि महानगर घेराउ गर्दै आएका छन् ।  ‘सर्वोच्च अदालतको आदेश पालना गर’, ‘कबाड व्यवसायीमाथिको अत्याचार बन्द गर’, ‘बालेनको गुण्डागर्दी बन्द गर’ जस्ता नाराबाजी लगाउँदै उनीहरुले महानगर घेराउ गरिरहेका हुन् । 

कबाड व्यवसायीहरूले पाँच बुँदे मागसहित आन्दोलन अघि बढाएका छन् । जसमा संविधानले दिएको व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी गर्नुपर्ने, सङ्कलक, मजदुर र व्यवसायीमाथि भइरहेको कुटपिट, अपहरण र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीमाथि कानुनी कारबाही हुनुपर्ने, व्यवसायीको जिउधनको सुरक्षाका लागि सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने र विगत दुई वर्षमा महानगरले पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप