शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चर्चित इटालियन फेशन डिजाइनर जर्जियो अरमानीको निधन

बिहीबार, १९ भदौ २०८२, २१ : ३६
बिहीबार, १९ भदौ २०८२

सारांश

  • प्रसिद्ध इटालियन फेसन डिजाइनर जर्जियो अरमानीको ९१ वर्षको उमेरमा निधन भयो।
  • अरमानी इटालियन शैलीका प्रतीक थिए र उनले फेसन ब्रान्डलाई सौन्दर्य, सुगन्ध, र विलासी क्षेत्रमा विस्तार गरे।
  • फेशन जगतले उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ, उनले अन्तिम दिनसम्म काम गरे।

रोम । विश्वप्रसिद्ध इटालियन फेशन डिजाइनर तथा अर्बपति ब्रान्ड मालिक जर्जियो अरमानीको ९१ वर्षको उमेरमा निधन भएको छ।

अरमानीलाई इटालियन शैलीको प्रतीक मानिन्थ्यो। उनले पुरुष र महिलाका सुटलाई आधुनिक स्वादअनुसार पुनःपरिभाषित गरेका थिए। फेशनबाट सुरु भएको उनको ब्रान्ड अरमानी पछि सौन्दर्य, सुगन्ध, सङ्गीत, खेलकुददेखि विलासी होटलसम्म विस्तार भएको थियो। कम्पनीले वार्षिक २ अर्ब पाउन्डभन्दा बढी आम्दानी गर्दै आएको थियो।

उनको निधनप्रति फेशन जगतले श्रद्धाञ्जली व्यक्त गरिरहेको छ। डिजाइनर डोनाटेला भर्साचेलगायतले इन्स्टाग्राममार्फत श्रद्धाञ्जली दिँदै भनिन्, ‘आज संसारले एक महान् व्यक्तित्व गुमाएको छ, उनले इतिहास रचेका छन् र सधैँ सम्झिइनेछन्।’

अरमानी ब्रान्डले इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उहाँले अन्तिम दिनसम्म काम गर्नुभयो । कम्पनी, कलेक्सन र आगामी प्रोजेक्टहरूमा समर्पित रहनुभयो।’ 

अरमानीलाई रेड कार्पेट फेसनलाई आजको रूप दिने अग्रणी व्यक्तित्व मानिन्छ। साथै, सन् २००६ मा मोडल आना क्यारोलिना रेस्टनको एनोरिक्सियाका कारण निधन भएपछि उनले रनवेमा कम तौल भएका मोडललाई प्रतिबन्ध गर्ने पहिलो डिजाइनरका रूपमा पनि इतिहास रचेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप