बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वास्तु

वास्तु, ज्योतिष र सोमरस अर्थात् चन्द्रमा

शनिबार, २१ भदौ २०८२, १४ : ००
शनिबार, २१ भदौ २०८२

सारांश

  • शिष्यले गुरु विश्वमित्रलाई सोमरस र चन्द्रमाको रहस्यबारे प्रश्न गरे।
  • चन्द्रमालाई सोमरस धारण गर्ने जिम्मा भगवान शिवले दिएका थिए, जसले गर्दा चन्द्रमाको कला घटबढ हुने गर्छ।
  • वास्तुशास्त्र र ज्योतिषशास्त्रमा चन्द्रमाको प्रभाव, मानसिक स्वास्थ्य र जीवनमा सन्तुलनबारे चर्चा गरिएको छ।

प्राचीन हिमवत खण्डमा एक जिज्ञासु शिष्यले गुरु विश्वमित्रलाई प्रश्न गरे, ‘हे गुरुदेव ! शास्त्रहरूमा सोमरसको महिमा वर्णित छ । चन्द्रमा र सोमरसको रहस्य के हो ?’ 

गुरु विश्वमित्रले भन्नुभयो, ‘चन्द्रमा र सोमरसको सम्बन्ध केवल पौराणिक कथामा सीमित छैन, यो जीवन, प्रकृति र आत्मज्ञानको दर्शनसँग जोडिएको छ ।’ 

भनिन्छ, भगवान् शिवले चन्द्रमालाई यो दिव्य सोमरस धारण गर्ने जिम्मा दिनुभयो । यसैले चन्द्रमालाई ‘सोम’ भनिन्छ, किनकि उसले सोमरसलाई आफूमा समेटेको छ । चन्द्रमाको कलाहरू घटबढ हुनुलाई सोमरसको उपभोग र पुनः प्राप्तिसँग जोडेर हेरिन्छ । देवताहरूले अमावस्यादेखि पूर्णिमासम्म प्रत्येक दिन चन्द्रमामा रहेको सोमरसको एक–एक कला पान गर्छन् र पूर्णिमामा चन्द्रमा पूर्ण हुन्छ, पुनः सोमरसले भरिन्छ भन्ने मान्यता छ ।

कथा अनुसार प्राचीन कालमा जब देवता र दानवबिच शक्ति सन्तुलन बिग्रिन थाल्यो, तब देवताहरू आफ्नो क्षमता वृद्धिमा चिन्तित भए । देवताहरू आफ्नो क्षमता वृद्धि र अमरत्वको खोजमा लागे । त्यसका लागि अमृतको आवश्यकता पर्‍यो । अनि शिवको आज्ञाले मन्दराचल पर्वतलाई मथेर क्षीर सागर मन्थन गर्ने निर्णय भयो । यस अतुलनीय महायज्ञबाट चौध बहुमूल्य रत्नहरू निस्किए, जसमध्ये एक थियो शीतल र कान्तिमय चन्द्रमा । चन्द्रमाको उदयपछि धन्वन्तरि देव अमृत कलश बोकेर प्रकट भए । यो अमृत नै सोमरस थियो, जसलाई देवताहरूले पिएर अमरत्व प्राप्त गरे । यहाँ एक रहस्यमय सम्बन्ध छ । ब्रह्माण्डको विशालतामा एक यस्तो दिव्य ज्योति छ, जसले पृथ्वीमा शीतलता, शान्ति र जीवनको लय प्रदान गर्छ, त्यो हो चन्द्रमा । 

पौराणिक कालदेखि नै चन्द्रमालाई केवल एक ग्रह नभई, मन, भावना, प्रजनन, भोजन र अमृतको प्रतीक मानिएको छ । विद्वानहरू भन्छन् कि चन्द्रमा आफैँ सोमरसको दिव्य आवरण हो । यसको शीतलता र प्रकाश सोमरसको नै एक व्यक्त रूप हो । चन्द्रमाले आफ्नो किरणमार्फत पृथ्वीमा सोमरसको सूक्ष्म अंश प्रसारित गर्दा वनस्पति, जल र प्राणीहरूलाई पोषण, शीतलता र जीवनशक्ति प्रदान गर्छ । 

सोमरसको प्रभावले अमरत्व प्राप्त गरेपछि देवताहरूले महसुस गरे कि अमरत्वले मात्र पुग्दैन; निवास स्थानमा पनि शान्ति र सकारात्मक ऊर्जा आवश्यक हुन्छ । यसै क्रममा विश्वकर्माले देवलोकका लागि अद्भुत भवनहरूको निर्माण गर्दा चन्द्रमाको सूक्ष्म प्रभावलाई वास्तुशास्त्रमा जोडेको सन्दर्भ पढ्न पाइन्छन् । ऋषि–मुनिहरूले चन्द्रमाको ऊर्जाले विशेष गरी पृथ्वी र जल तत्त्वमाथि गहिरो प्रभाव पार्ने तथ्य प्रकाशित गरे । वास्तुशास्त्र अनुसार घरको उत्तर–पश्चिम (वायव्य कोण)सँग सम्बन्धित छ, चन्द्रमाको शीतलता र शान्ति प्रदान गर्ने ऊर्जा । यो दिशा मन, भावनात्मक स्थिरता र सामाजिक सम्बन्धका लागि महत्त्वपूर्ण मानिन्छ ।

सोमरसको प्रभावले अमरत्व प्राप्त गरेपछि देवताहरूले महसुस गरे कि अमरत्वले मात्र पुग्दैन; निवास स्थानमा पनि शान्ति र सकारात्मक ऊर्जा आवश्यक हुन्छ । यसै क्रममा विश्वकर्माले देवलोकका लागि अद्भुत भवनहरूको निर्माण गर्दा चन्द्रमाको सूक्ष्म प्रभावलाई वास्तुशास्त्रमा जोडेको सन्दर्भ पढ्न पाइन्छन् ।

चन्द्रमाको गुरुत्वाकर्षणले समुद्रमा ज्वारभाटा ल्याउँछ । जल तत्त्व मानिसको भावनासँग जोडिएको हुन्छ । वास्तुमा घरको उत्तर वा ईशानकोण (पूर्व र उत्तर कुनो) मा पानीको स्रोत राख्दा चन्द्रमाको सकारात्मक ऊर्जा आकर्षित हुन्छ, जसले घरमा शान्ति र सद्भाव ल्याउँछ । यसको चाँदीजस्तो प्रकाशले घरमा शान्त र ध्यानमय वातावरण सिर्जना गर्छ । वास्तुविद्हरूले शयन कक्ष वा ध्यान कक्षमा चन्द्रमाको प्रकाश पर्न सक्ने व्यवस्था गर्न सल्लाह दिन्छन्, जसले मनलाई शान्त पार्न मद्दत गर्छ । वास्तुशास्त्रले चन्द्रमाको सूक्ष्म ऊर्जालाई बुझेर घरमा सन्तुलन र सकारात्मक वातावरण सिर्जना गर्ने सूत्रहरू तय गरेको छ । जसले गर्दा मानिसले आफ्नो भौतिक जीवनमा पनि दिव्य शान्ति प्राप्त गर्न सकोस् ।

देवताहरूले सोमरसको अमृत र वास्तुको सामञ्जस्यबाट भौतिक र आध्यात्मिक सन्तुष्टि प्राप्त गरे पनि व्यक्तिगत जीवनमा आउने उतारचढाव र भाग्यको रहस्य बुझ्नका लागि उनीहरूले ज्योतिषशास्त्रको सहारा लिए । ज्योतिषशास्त्रमा चन्द्रमालाई मनको कारक मानिन्छ । चन्द्रमा व्यक्ति विशेषको मन, भावना, विचार, अन्तज्र्ञान र आमासँगको सम्बन्धको प्रतीक हो । जसको कुण्डलीमा चन्द्रमा बलियो हुन्छ, त्यो व्यक्ति मानसिक रूपमा स्थिर, भावनात्मक रूपमा सन्तुलित र शान्त मनको हुन्छ । 

चन्द्रमाले रक्तचाप, श्वासप्रश्वास, जल तत्त्वसँग सम्बन्धित रोगहरू र मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । अमावस्या वा पूर्णिमाको दिनमा शारीरिक र मानसिक अवस्थामा आउने परिवर्तनलाई चन्द्रमाको ज्योतिषीय प्रभाव मानिन्छ । कसैको कुण्डलीमा चन्द्रमा कमजोर वा पीडित छ भने यसले मानसिक तनाव, उदासीनता, अनिद्रा र भावनात्मक अस्थिरता ल्याउन सक्छ । यसका लागि चन्द्रमाको बिज मन्त्र जप गर्ने, शिवजीको पूजा गर्ने, सेतो वस्तु दान गर्ने, मोती धारण गर्ने र पूर्णिमाको व्रत बस्नेजस्ता उपाय ज्योतिषमा सुझाइन्छ, जसले चन्द्रमाको सकारात्मक ऊर्जालाई आकर्षित गरी मानसिक शान्ति प्रदान गर्छ ।

चन्द्रमा, सोमरस, वास्तुशास्त्र र ज्योतिषीय सम्बन्धहरू केवल अलग–अलग ज्ञानका धाराहरू होइनन्; यी सबै एउटै ब्रह्माण्डीय सन्तुलनको अभिन्न अङ्ग हुन् । सोमरसले चन्द्रमालाई अमृतमय ऊर्जा प्रदान गर्‍यो । चन्द्रमाले त्यस ऊर्जालाई पृथ्वीमा प्रसारित गर्‍यो । जसलाई वास्तुशास्त्रले भौतिक संरचनामा सामञ्जस्यका साथ उपयोग गर्‍यो । ज्योतिषशास्त्रले व्यक्तिगत जीवनमा पर्ने त्यस ऊर्जाको प्रभाव र त्यसलाई कसरी सन्तुलित गर्ने भन्ने मार्ग देखायो । मानव जीवन प्रकृतिका नियमसँग जोडिएको छ । चन्द्रमाको शीतल आभाले हामीलाई सन्तुलन, शान्ति र प्रकृतिको गहिरो सम्मान गर्न सिकाउँछ । जसरी चन्द्रमाले अन्धकारलाई चिरी प्रकाश दिन्छ, त्यसरी नै यी प्राचीन ज्ञानहरूले हाम्रो अज्ञानतालाई चिरी जीवनलाई सुखमय र सन्तुलित बनाउने मार्गप्रशस्त गर्छन् । अन्ततः जीवन र ब्रह्माण्डबिचको यो गहिरो सम्बन्धलाई बुझेरै हामी पूर्णता र आनन्द प्राप्त गर्न सक्छौँ ।

(लेखक ज्ञवाली वास्तुविज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् । सम्पर्क : ९८५१०२३७६९ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप