शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
दुर्घटना

सवारी दुर्घटनापछि उद्धार गर्न छोडेर मन्त्रीहरू सधैँ टाप !

कोशीका मन्त्रीमात्र होइन, संघीय सरकारका मन्त्रीहरूको गाडीले पनि ठक्कर दिएर भागेका उदाहरण छन्
आइतबार, २२ भदौ २०८२, १५ : ३०
आइतबार, २२ भदौ २०८२

सारांश

  • कोशी प्रदेशका मन्त्री रामबहादुर मगर चढेको गाडीले ललितपुरमा एक बालिकालाई ठक्कर दिएर फरार भए।
  • दुर्घटनापछि मन्त्रीले मानवता नदेखाएको भन्दै आलोचना भयो, भने कतिपयले राजीनामाको माग गरेका छन्।
  • मन्त्रीले आफूमाथि आक्रमण हुने डरले भागेको प्रतिक्रिया दिए भने प्रधानमन्त्री ओलीले घटनालाई सामान्यीकरण गरे।
00:00 / NaN:NaN
Audio By AI

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दियो । एमालेको विधान महाधिवेशनमा सहभागी हुन हिँडेका मन्त्री मगर सवार गाडी बालिकालाई ठक्कर दिएपछि रोक्दै नरोकी भागेको थियो ।

मगर को१झ ६९९ नम्बरको सरकारी गाडीमा एमालेको विधान महाधिवेशनस्थल जाँदै थिए । गाडीले बालिकालाई ठक्कर दिएर लडाएर भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । मन्त्रीले सामान्य मानवता पनि नदेखाएको र घाइते बालिकालाई उद्धार गर्नुको साटो बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ ।

कतिपयले नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्नेसमेत भन्न थालेका छन् । राप्रपाका सांसद ज्ञानेन्द्र शाही कोशीका मन्त्री मगरले राजीनामा दिनुपर्ने बताउँछन् । मिडियामा प्रतिक्रिया दिँदै शाहीले मन्त्रीको राजीनमा मागेका हुन् ।

रास्वपाकी सांसद निशा डाँगीले पनि मन्त्री मगरमा मानवता नदेखिएको भन्दै विरोध गरेकी छन् । ‘जेब्रा क्रसिङमा पैदलयात्रीलाई ठक्कर दिएर मन्त्री सवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन । यो सरासर गैरजिम्मेवारी र सत्ताको घमण्ड हो,’ डाँगीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट सामान्य छोएको भएर पन्छिनु झन् दुःखद् र असंवेदनशील प्रतिक्रिया हो ।’

एकातिर मन्त्रीको अमानवीय र गैरजिम्मेवारपूर्ण व्यवहार छ भने अर्कोतिर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनालाई सामान्यीकरण गर्दै यसलाई ‘महाधिवेशन भाँड्ने षड्यन्त्र’ को संज्ञा दिएका थिए ।

मन्त्री मगरले भने आफूमाथि आक्रमण हुने डरले दुर्घटनास्थलबाट भागेको प्रतिक्रिया दिएका छन् । बालिकालाई ठक्कर दिएपछि ‘कुटाइ खाने डरले’ आफू गाडी नरोकी भागेको उनको भनाइ छ ।

दुर्घटनामा परेकी बालिकालाई तत्काल उद्धार गर्नुको साटो भाग्नुको कारणबारे सोधिएको प्रश्नमा मन्त्री मगरले भने, ‘नचिनेको ठाउँमा गाडी रोक्दा आक्रोशित स्थानीयले मलाई हातपात गर्ने र गाडीमा समेत तोडफोड गर्ने भएकाले नरोकेको हो । नचिनेको ठाउँमा रोकेको भए कुटाइ खान सकिन्थ्यो ।’

एकातिर मन्त्रीको अमानवीय र गैरजिम्मेवारपूर्ण व्यवहार छ भने अर्कोतिर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले घटनालाई सामान्यीकरण गर्दै यसलाई ‘महाधिवेशन भाँड्ने षड्यन्त्र’ को संज्ञा दिएका थिए । प्रहरीले मन्त्री मगर सवार गाडीलाई गोदावरीबाट नियन्त्रणमा लिएको थियो । मन्त्री मगरले पछि अस्पताल पुगेर बालिकाको अवस्थाबारे जानकारी लिएका थिए भने बालिकाको उपचारका लागि १८ हजार रुपैयाँ र अन्य केही सहयोग गरेको बताएका छन् ।

‘अहिले मैले व्यक्तिगत रूपमा सबै सहयोग गरेको छु, अध्यक्ष केपी शर्मा ओलीले उपचार खर्च व्यहोर्न भन्नुभएको छ, अब थप सल्लाह हुन्छ,’ उनले भने ।

मन्त्री सवार गाडीले सर्वसाधारणलाई ठक्कर दिएर भागेको सूची लामै छ । यसअघि भएका कतिपय त्यस्ता खालका गम्भीर घटनापछि मन्त्रीहरू टाप कसेका उदाहरण छन् । २०७८ कार्तिक ११ गते लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मोटरसाइकललाई ठक्कर दियो । ठक्करबाट मोटरसाइकलमा सवार मिगिन मगर घाइते भए । तर, घाइतेको उद्धार गर्न छोडेर मन्त्री सवार गाडी टाप कस्यो ।

२०७७ साल पुस १८ गते तत्कालीन शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीको हरिवनमा पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो । उनी सवार ना१झ ३८४२ नम्बरको झण्डावाला गाडीले ठक्कर दिँदा सर्लाहीको लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका थिए ।

यस्तै केही वर्ष अगाडि बानेश्वरमा मोटरसाइकललाई ठक्कर दिएर तत्कालीन सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट पनि भागेका थिए । सर्वसाधारणले दुर्घटनापछि गाडी घेराउ गरेपछि प्रहरीले नै उनलाई भगाएको थियो ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई पनि यस्तै आरोप लागेको थियो । झापाबाट फर्किने क्रममा मुख्यमन्त्री राईको स्कर्टिङमा हिँडेको पछुवा गाडीले मोरङको लक्ष्मीमार्गमा एक सर्वसाधारणलाई ठक्कर दिएको थियो । ठक्करबाट सर्वसाधारण घाइते भएको थाहा पाएर पनि उद्धार नगरेको भन्दै त्यसबेला आलोचना भएको थियो ।

बदनियतका साथ सवारी चलाएर किची, ठक्कर दिई वा दुर्घटना गराई मानिसलाई अङ्गभङ्ग गराएको सम्बन्धी कसुरमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सम्बन्धित सवारी चालकलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजारसम्म जरिबानाको व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप