शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलनको असर

आन्दोलनकारीलाई नगर प्रमुख भण्डारीको प्रश्न– नगरको विकासका लागि काम गरेकाले मलाई सजाय दिइएको हो ?

बिहीबार, ०२ असोज २०८२, १७ : २५
बिहीबार, ०२ असोज २०८२

सारांश

  • वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालको घरमा जेनजी पुस्ताको आन्दोलनका क्रममा तोडफोड र लुटपाट भयो।
  • नगर प्रमुख ढकालले आफूमाथि जनप्रतिनिधि भएकै कारणले यस्तो बज्रपात आएको र व्यक्तिगत स्वार्थ पूरा नगर्दा घरमाथि हमला भएको बताइन्।
  • ढकालले आफूले गरेका १२ वटा मुख्य कामको सूची सार्वजनिक गर्दै ती कामहरूकै कारण आफूमाथि अन्याय भएको हो कि भनी प्रश्न गरिन्।

सुर्खेत । जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को घर तथा निजी सम्पत्ति आक्रमण तथा लुटपाट भयो ।

त्यस दिन बिहानै नगर प्रमुख ढकाल कार्यालय (नगरपालिका) गएकी थिइन् । दिउँसो उनी वीरेन्द्रनगरकै एक कार्यक्रममा सहभागी भइन् । घरका अन्य सदस्यहरू पनि बाहिरै थिए ।

मध्याह्न १२ बजेपछि वीरेन्द्रनगरका सडकमा प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएका थिए । उनीहरू राजनीतिक दलका कार्यालय, नगरपालिका हुँदै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवाससम्म आगजनी र तोडफोडमा उत्रिए ।

त्यसपछि उनीहरूले भीआईपी क्षेत्रका सरकारी तथा संघसंस्थाका कार्यालयमाथि तोडफोड र आगजनी गरे । बेलुका पख प्रदर्शनकारीहरू मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा तोडफोड गर्न दौडिएका थिए भने केही नगर प्रमुख ढकालको निवासतर्फ ।

नगर प्रमुख ढकालको निवास वीरेन्द्रनगर नगरपालिका–८, वातावरण टोलमा पर्छ । ढकालका अनुसार पैतृक सम्पत्ति र श्रीमानको कमाइले ८ कोठाको दुई तले पक्की घर बनाइएको थियो । ०५९ सालमा पहिलो तला र ०६५ सालमा दोस्रो तला निर्माण गरिएको उनले बताइन् ।

श्रीमानको २५ वर्षे शिक्षण पेसाको कमाइले नै यो घर बनेको नगर प्रमुख ढकालको भनाइ छ । उनका श्रीमान् मावि तहका अंग्रेजी शिक्षक हुन् । ‘उहाँकै कठोर मेहनतको कमाइले हामीले घर जोडेका थियौँ,’ उनले भनिन्, ‘तर, तोडफोड, लुटपाटसँगै घर पनि सबै जलेर खरानी भयो ।’

बस्ने घर नै जलेर नष्ट भएपछि यतिबेला उनी एक आफन्तको घरमा आश्रय लिएर बस्न बाध्य छिन् ।

जेनजी पुस्ताको माग र एजेन्डामा आफ्नो पूर्ण समर्थन र उच्च सम्मान रहे पनि आफूमाथि जनप्रतिनिधि भएकै कारणले यस्तो बज्रपात आइलागेको ढकालको बुझाइ छ । ‘जनप्रतिनिधि भएर जनताकै अधिकार र नगरको विकासका लागि अहोरात्र खटिएर गरेका कामहरूकै कारण म र मेरो परिवारलाई यस्तो पीडा दिइएको हो ?’ उनले प्रश्न गरिन् ।

जल्दाखेरीकाे

ढकालले नगर र नगरवासीको हितका लागि गरेका कामहरूकै कारण आफू ठुलो अन्यायमा परेको बताइन् । कसैको व्यक्तिगत स्वार्थ पूरा नगर्दाको प्रतिफलको रूपमा आफ्नो घर तथा सम्पत्तिमाथि हमला भएको उनको ठहर छ ।

ढकालले सार्वजनिक जिम्मेवारीमा रहँदा थुप्रै मानसिक पीडा भोगेको स्मरण गरेकी छन् । उपमेयर हुँदा कोरोना महामारीको संकट सामना गर्नुपरेको र तत्कालीन नगर प्रमुख देशबाहिर रहँदा करिब ६ महिना कार्यवाहक नगर प्रमुखका रूपमा आफ्नो जीवन नै दाउमा राखेर नगरवासीको सेवामा लागेको उनले स्मरण गरिन् ।

तर, २०७९ को स्थानीय निर्वाचनमा नगरप्रमुखको उम्मेदवार हुँदा कोरोनाकालमा भ्रष्टाचार गरेर काठमाडौँमा ३ वटा घर बनाएको भनी चुनाव हराउने रणनीतिसहित प्रमाणहीन आरोप लगाइएको उनी बताउँछिन् ।

नगर प्रमुख ढकालले भनिन्, ‘चिया पसल, चौतारीमा बसेर प्रमाणहीन आरोप धेरै लगाइयो, तर सबै कुरालाई बेवास्ता गर्दै काम गरेर परिणाम देखाउनुपर्छ भनेर निरन्तर लागिरहेँ ।’

आज वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर र विकासले फड्को मारेको सहर बन्दै गर्दा आफूमाथि यति ठुलो अन्याय किन भयो भनी उनले प्रश्न गरेकी छन् । उनले कसैका व्यक्तिगत चाहना र लाभ हुने काम नगरेकै कारण यो अन्याय भोग्नुपरेको हो कि भन्ने आशंका व्यक्त गरेकी छिन् ।

स्थानीय निर्वाचन २०७४ मा उपमेयर भएर ५ वर्ष र २०७९ मा मेयर भएर तीन वर्ष काम गरिसकेकी उनले यदि गलत गरेको भए यो अवधिमा आफू र आफ्नो परिवारको नाममा रहेका सबै सम्पत्ति छानबिन गर्न माग गरेकी छन् । ‘दोषी भेटिए परिणाम भोग्न तयार छु,’ उनले भनिन् ।

राजनीतिक प्रतिस्पर्धा र राजनीतिक प्रतिशोधका आधारमा गरिएका गतिविधिले आफूलाई कहिल्यै कमजोर नबनाउने पनि उनले बताइन् ।

नगर प्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिकाको जनप्रतिनिधिका रूपमा आफूले अहिलेसम्म काम गरेका महत्त्वपूर्ण कामको सूचीसमेत सार्वजनिक गरेकी छन् ।

ढकालले आफूले वीरेन्द्रनगर नगरप्रमुख र यसअघि उपप्रमुखको हैसियतमा गरेका १२ वटा मुख्य कामहरूको सूची सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्दै यिनै कारणले आफूमाथि अन्याय भएको हो कि भनी सोधेकी छिन् ।

यस्ता छन् भण्डारीले आफ्नो पालामा काम गरेको भनेर बनाएका सूची

१. वीरेन्द्रनगरलाई पश्चिम नेपालको उदाउँदो सहरका रूपमा विकास गर्न सडक फराकिलो पार्नु,

२. सरकारी सम्पत्ति संरक्षण गर्दै सार्वजनिक पार्क बनाउनु,

३. बढ्दो जनसंख्या र सवारी चापलाई व्यवस्थित गर्न पार्किङ व्यवस्थापन गर्नु,

४. बजार व्यवस्थित गर्न पैदलमार्ग र फुटपाथ व्यवस्थापन गर्नु,

५. मुख्य बजारमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक लाइट राख्नु,

६. सुशासन कायम गर्न १२ लाखभन्दा माथिका सबै योजना ई–बिडिङमार्फत अघि बढाउनु,

७. सार्वजनिक शिक्षा सुधारमा पहल गर्नु,

८. बुलबुले, घण्टाघर जस्ता ऐतिहासिक धरोहर निर्माण एवं व्यवस्थित गर्नु,

९. खानेपानी अभाव समाधानका लागि भेरी लिफ्टिङ आयोजनाको काम सुरु गर्नु,

१०. आधारभूत स्वास्थ्य सेवालाई प्रदेशकै उत्कृष्ट बनाउँदै तीन गुणा बढी जनसंख्यालाई सेवा प्रदान गर्नु,

११. १ लाख ५४ हजार जनसंख्या भएको नगरपालिकामा अस्थायी बसोबाससमेत गरी करिब ६ लाख जनसंख्यालाई आधारभूत सेवा प्रदान गर्नु,

१२. कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई राजस्व र पूर्वाधारका दृष्टिले उपमहानगरको मापदण्ड पूरा गराउनु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप