बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

'जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू छन्'

शुक्रबार, ०३ असोज २०८२, ०९ : ५४
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • मुख्यमन्त्री कँडेलले जेनजी पुस्ताको प्रदर्शनपछिको आगजनी र हिंसाले चुनौती सिर्जना गरेको बताए।
  • उनले राष्ट्रिय एकताका लागि एकताबद्ध हुन आह्वान गर्दै नागरिक अधिकार कार्यान्वयनमा जोड दिए।
  • कँडेलले युवा पुस्ताको निराशा बुझेर समस्या समाधान गर्नुपर्ने र समृद्धिका लागि योगदान गर्न आग्रह गरे।

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संविधान दिवस तथा राष्ट्रिय दिवस –२०८२ को शुभकामना सन्देश दिँदै हालै जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाले गम्भीर चुनौती सिर्जना गरेको बताएका छन् ।

‎‎उनले यी घटनाले मुलुकलाई दशकौँ पछाडि धकेल्ने प्रयास भएको बताएका हुन् । ‎यस्तो अवस्थामा राष्ट्रिय एकताका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

‎‎मुख्यमन्त्री कँडेलले संविधानलाई कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज भन्दै नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए ।

‎ ‎उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारको मागसहित सडकमा आएको जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

‎‎उनले नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिनु राज्यको दायित्व भएको बताउँदै युवा पुस्तामा देखिएको निराशालाई बुझेर समस्या समाधान गर्न पर्याप्त पहल नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताए ।

‎‎यद्यपि, उनले शान्तिपूर्ण आन्दोलनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसात्मक घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गरे ।

‎‎मुख्यमन्त्री कँडेलले लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा यस्ता घटना कल्पनासमेत गर्न नसकिने भन्दै लोकतन्त्रका पक्षधरहरूलाई राष्ट्र, राष्ट्रियता र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एकताबद्ध हुन आग्रह गरे।

‎‎'संविधान निर्माणपछि जनताको राजनीतिक अधिकार प्राप्तिको चरण सम्पन्न भएको र अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नुपर्ने हुन्छ,' उनले भने, 'जेनजी पुस्ताले उठाएका मागहरू यसै संविधानभित्र रहेर पूरा गर्न सकिने प्रशस्त आधारहरू रहेको र संविधानलाई संशोधन गरी थप परिष्कृत गर्न सकिन्छ ।'

‎‎यद्यपि, पछिल्लो आन्दोलनले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुभन्दा थप राजनीतिक अस्थिरता र अराजकताको भुमरीतर्फ धकेल्ने स्पष्ट सङ्केत देखिएको उनले बताए।

‎‎कँडेलले संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्था लगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतले गरिएका असंवैधानिक एवम् अराजक गतिविधिले सबै चिन्तित बन्नुपर्ने अवस्था आएको बताए । 

‎‎उनले अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै सबै राजनीतिक दलहरू, नागरिक समाज र युवा पुस्तालाई धैर्य रही थप एकताबद्ध हुन अपिल गरे ।

‎‎उनले प्रदेश संरचना नै सङ्घीयताको खास पहिचान भएको र यसप्रति उठेका टीका-टिप्पणीलाई समयको माग बमोजिम सुधारात्मक बनाउनुपर्ने आवश्यकता औँल्याए ।

‎‎उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी समृद्धि हासिल गर्न तीन तहका सरकारबिच समन्वय जरुरी रहेको र संविधानको मूल मर्मअनुसार संविधान दिवसले सबैलाई थप जिम्मेवार बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

‎‎मुख्यमन्त्री कँडेलले संविधानको सफल कार्यान्वयनमार्फत अहिलेको अन्यौलता र अस्थिरतालाई सम्बोधन गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन र समृद्धिको दिशातर्फ उन्मुख गराउन सबैलाई आ-आफ्नो ठाउँबाट योगदान गर्न अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप