शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यागमन नीतिको मारमा विश्वकप: ट्रम्पसामु लाचार फिफा

बुधबार, २७ जेठ २०८३, ०६ : ५५
बुधबार, २७ जेठ २०८३

सारांश

  • सन् २०२६ को फुटबल विश्वकप सुरु हुनुअघि आयोजक राष्ट्र अमेरिकाले फिफाका मुख्य रेफ्री उमर अर्टानलाई अध्यागमन नीतिका कारण देशमा प्रवेश निषेध गरेर फिर्ता पठाएको छ।
  • विभेदविरुद्ध अभियान चलाउने संस्थाले अमेरिकी सरकारको वैचारिक र विभेदकारी अध्यागमन नीतिका कारण यस्तो स्थिति आएको बताएको छ।
  • फिफा अध्यक्ष ग्यानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको सम्बन्ध सुमधुर देखिए पनि अध्यागमनको सवालमा फिफा लाचार बनेको छ।

वासिङ्टन । सन् २०२६ को फुटबल विश्वकप सुरु हुन मात्र ४८ घण्टा बाँकी रहँदा आयोजक राष्ट्र अमेरिकाले फिफाका मुख्य रेफ्रीलाई नै देशमा प्रवेश निषेध गरेर फिर्ता पठाएपछि नयाँ विवाद उत्पन्न भएको छ।

अफ्रिका महादेशका नम्बर एक रेफ्री उमर अर्टानलाई अमेरिकी अध्यागमन अधिकारीहरूले मियामी विमानस्थलबाटै सोमालिया फिर्ता पठाइदिएका हुन्।

विश्वकपका लागि छानिएका ५१ जना रेफ्रीको टोलीमा सामेल हुन आएका अर्टानलाई ११ घण्टासम्म केरकार गरी हिरासतमा राखिएको थियो। अन्ततः आवश्यक भिसा र कागजात हुँदाहुँदै पनि उनलाई राजधानी मोगादिसु फर्किने विमानमा चढाइयो।

यस घटनाले फुटबल जगतमा ठुलो खैरो मच्चाएको छ। विभेदविरुद्ध अभियान चलाउँदै आएको संस्था ‘फेयर’ का कार्यकारी निर्देशक पियरा पोवारले अमेरिकी सरकारको वैचारिक र विभेदकारी अध्यागमन नीतिका कारण यस्तो स्थिति आएको बताएका छन्। उनले भनेका छन्, ‘फिफाको आधिकारिक रेफ्रीलाई तयारीका लागि आउँदा प्रवेश निषेध गरिएको यस्तो प्रहसन इतिहासमा कहिल्यै देखिएको थिएन।’

अर्टान सन् २०२५ मा महादेशीय फाइनल खेलाउने पहिलो सोमाली रेफ्री बनेका थिए भने चिलीमा भएको यु-२० विश्वकपमा समेत उनले उत्कृष्ट भूमिका निभाएका थिए। जीवनकै सबैभन्दा ठुलो सपना पूरा हुने क्षणमा अमेरिकी नीतिका कारण उनी बञ्चित भएका छन्। यसबारे ह्वाइट हाउस टास्क फोर्सका प्रमुख एन्ड्रिउ जुलियानीले भने सीमा सुरक्षा बलको निर्णय सही भएको भन्दै बचाउ गरेका छन्। पूर्व आर्सनल स्ट्राइकर इयान राइटले पनि यसलाई ‘अराजकताको विश्वकप’ को संज्ञा दिएका छन्।

पछिल्लो समय फिफा अध्यक्ष ग्यानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको सम्बन्ध निकै सुमधुर देखिए पनि अध्यागमनको सवालमा फिफा लाचार बनेको छ। ट्रम्पले सन् २०२५ को जुन महिनामा सोमालिया, इरान, हैटीसहित १२ वटा देशमाथि पूर्ण यात्रा प्रतिबन्ध लगाएका थिए।

केही समयअघि मिनेसोटामा सोमाली आप्रवासीहरूलाई लक्षित गर्दै ट्रम्पले सोमालियालाई देश नै नभएको र त्यहाँका मानिसलाई ‘फोहोर’ को संज्ञा दिँदै आफ्नै देश फर्कनुपर्ने टिप्पणी गरेका थिए। यसअघि सन् २०१७ मा ट्रम्पले यस्तै प्रतिबन्ध लगाउँदा इन्फान्टिनोले समर्थक र पदाधिकारीलाई प्रवेश नदिने देशमा विश्वकप हुन नसक्ने चेतावनी दिएका थिए। तर, अहिले अमेरिकी दादागिरीका सामु फिफाले यो आफ्नो क्षेत्राधिकार बाहिरको कुरा भन्दै हात उठाएको छ।

सन् २०१८ को रुस विश्वकप र २०२२ को कतार विश्वकपमा विवाद भए पनि उनीहरूले फिफा अधिकारी र समर्थकका लागि भिसा विनाकै सहज प्रवेशको व्यवस्था गरेका थिए। तर, अमेरिकामा भने समर्थक, खेलाडी र पत्रकारहरूले समेत चरम सास्ती भोगिरहेका छन्।

प्रतिबन्धको सूचीमा नभएको इराकका समर्थकले समेत भिसा नपाएर आस मारिसकेका छन्। इरानको त समूह चरणको टिकट नै अमेरिकी अधिकारीहरूले रद्द गरिदिएका छन्। इरानले आफ्ना १५ जना महत्त्वपूर्ण प्राविधिक टोलीलाई अमेरिकाले भिसा नदिएको आरोप लगाएको छ।

इरानी टोली मेक्सिकोको टिजुआनाबाट खेल हुनुभन्दा २४ घण्टाअघि मात्रै भित्रिने र खेल सकिएपछि तुरुन्तै फर्किने गरी मिलाइएको तालिकाको अझै परीक्षण हुन बाँकी छ। फिफाका सदस्य राष्ट्र र प्रशिक्षकहरूमाथि भइरहेको यो केरकारले विश्वकप फिफाले चलाइरहेको छ कि ट्रम्प सरकारले भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप