शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
आन्दोलनको असर

कर्णालीमा प्रहरीको रिपोर्ट : ५५ भौतिक संरचना र ८० सवारीसाधनमा आगजनी र तोडफोड

२० वटा पूर्ण रूपमा ध्वस्त, २१ वटामा आंशिक क्षति
आइतबार, ०५ असोज २०८२, ०७ : ११
आइतबार, ०५ असोज २०८२

सारांश

  • भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेशमा भौतिक संरचनामा क्षति पुग्यो।
  • आन्दोलनमा सरकारी कार्यालय, व्यक्तिगत सम्पत्ति र सवारीसाधनमा क्षति पुगेको छ, जसमा अर्बौंको नोक्सानी भएको छ।
  • सुर्खेत, जुम्ला र मुगुमा आन्दोलनकारीले सरकारी तथा निजी सम्पत्तिमा क्षति पुर्‍याए, जसमा ८० वटा सवारीसाधनमा आगजनी र तोडफोड गरियो।

सुर्खेत । भदौ २४ गते देशव्यापी रुपमा चलेको जेनजी आन्दोलनका क्रममा कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगु जिल्लामा ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ । सरकारी कार्यालय, व्यक्तिगत सम्पत्ति, विभिन्न संघसंस्था र राजनीतिक दलका कार्यालयसहित ८० वटा सवारीसाधनमा आगजनी र तोडफोड गरी अर्बौं रुपैयाँ बराबरको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार आन्दोलनका क्रममा कुल ५५ वटा भौतिक संरचनामा क्षति पुगेको छ, जसमध्ये २० वटा पूर्ण रुपमा ध्वस्त भएका छन्, २१ वटामा आंशिक क्षति पुगेको छ । यस्तै, १४ वटामा सामान्य क्षति देखिएको छ ।

प्रदेश प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार सुर्खेतमा ६ वटा संघीय सरकारी कार्यालयमा क्षति पुगेको छ । 
नापी कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, उच्च सरकारी वकिल कार्यालय र जिल्ला कोलेनिका कार्यालयमा आंशिक क्षति पुगेको छ ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका दुई कार्यालयमा सामान्य क्षति भएको छ ।

उनका अनुसार, आन्दोलनबाट प्रदेशका ७ वटा प्रादेशिक कार्यालयहरूमा क्षति पुगेको छ, जसमध्ये ४ वटा पूर्ण रुपमा ध्वस्त भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यन्याधिवक्ताको कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा आंशिक क्षति पुगेको छ । कर्णाली प्रदेश सभा, मुख्यमन्त्री निवास, प्रदेश कोलेनिका कार्यालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको सरकारी निवास पूर्ण रुपमा ध्वस्त भएका छन् । 

मन्त्री निवासमा आगजनी, तोडफोड र चोरी भएको पनि प्रदेश प्रहरी प्रवक्ता केदार खनालले बताए । यस्तै, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा तोडफोड र ढुङ्गामुढा गरिएको थियो । उनका अनुसार, कुल १८ वटा जिल्ला तथा स्थानीय सरकारी कार्यालयहरूमा क्षति पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका वडा कार्यालयहरू २, ३, ४, ५, ६, १० र ११ गरी ७ वटा वडा कार्यालयहरू पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । जिल्ला समन्वय समितिको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, सिटिहल, वडा कार्यालय १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । 

सुर्खेतकै श्री कृष्ण तथा साधारण माध्यमिक विद्यालयमा तोडफोडबाट आंशिक क्षति पुगेको छ भने हुलाक निर्देशनालयमा सामान्य तोडफोड भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाको कार्यालयमा पनि आंशिक तोडफोड भएको छ । 

व्यक्तिगत सम्पत्ति
आन्दोलनले व्यक्तिगत सम्पत्तिमाथि पनि ठुलो नोक्सान पुर्‍याएको छ । ९ जना व्यक्तिका घर तथा सम्पत्तिमा क्षति पुगेको छ, जसमध्ये पूर्व उप–प्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का, डम्बर खड्का, बिष्णु खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको घर पूर्ण रुपमा जलेर ध्वस्त भएका छन् । बिष्णु खड्काको माया पेट्रोल पम्पमा आंशिक आगजनी भएको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल र वडा अध्यक्ष टिकाराम शर्माको घरमा आंशिक तोडफोड भएको छ । हिमाली पुस्तकालयमा पनि आंशिक तोडफोड भएको छ ।

प्रहरीका अनुसार ३ वटा संघ संस्थाहरूमा क्षति भएको छ । सुर्खेतको एनआईसी एसीयाको एटीएम बुथ पूर्ण रुपमा तोडफोड भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था र जिल्ला रेडक्रस कार्यालयमा आंशिक तोडफोड र आगजनी भएको छ ।

उनका बुझाइमा, आन्दोलनको क्रममा राजनीतिक दलका कार्यालयहरूलाई विशेष निशाना बनाइएको थियो । समग्रमा प्रदेशभर १२ वटा दलका कार्यालयहरूमा क्षति पुगेको छ, जसमध्ये ७ वटा पूर्ण रुपमा ध्वस्त भएका छन् । सुर्खेतका एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरू पूर्ण रुपमा आगजनी र तोडफोडबाट ध्वस्त भएका छन् । जुम्लामा नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरू पनि पूर्ण रुपमा ध्वस्त भएका छन् । जुम्लामै राप्रपा र नेकपा माओवादीका पार्टी कार्यालय (व्यक्तिको घरमा रहेका) मा सामान्य र आंशिक तोडफोड भएको छ । मुगुमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयको झ्यालका सिसा तोडफोड, साइनबोर्ड र ब्यानर जलाइएको छ ।

सवारीसाधनमा ठुलो नोक्सानी
प्रहरी प्रवक्ता खनालका अनुसार, प्रदेशभर कुल ८० वटा सवारीसाधनमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ । यसमध्ये ७२ वटा सरकारी र ८ वटा व्यक्तिगत सवारीसाधन रहेका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनले सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि ठुलो मात्रामा भौतिक र आर्थिक नोक्सानी पुर्‍याएको प्रहरी प्रवक्ता खनालले रातोपाटीलाई बताए ।

सरकारीमध्ये ११ वटा चारपाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा र २१ वटामा आंशिक रुपमा आगजनी/तोडफोड भएका छन् । दुईपाङ्ग्रे सवारीसाधनतर्फ २८ वटा पूर्ण रुपमा र १२ वटामा आंशिक क्षति पुगेको छ । यसमा अख्तियार, नापी, मुख्यन्याधिवक्ताको कार्यालय, प्रदेश कोलेनि, वीरेन्द्रनगर नगरपालिका र जुम्ला चन्दननाथ नगरपालिकाका गाडी, मोटरसाइकल, स्कुटी, दमकल, एम्बुलेन्स, ट्याक्टर, पावर टेलर, मिनि टिप्पर, ब्याक होल्डर, अटो, ठेलागाडा, डिजर, महेन्द्र जिप, हाइलक्स, स्करपियोसमेतमा क्षति पुगेको छ । विशेष गरी एम्बुलेन्स र दमकल जस्ता अत्यावश्यक सेवाका सवारीसाधनमा समेत क्षति पुर्‍याइएको छ ।

व्यक्तिगत सवारीसाधनमा ७ वटा दुईपाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा जलेका छन् भने एउटामा आंशिक तोडफोड भएको छ । यसमा बिष्णु खड्काको मोटरसाइकल, डम्मर खड्काको गाडी, ललित थापा, रवि थापा, बुद्धि चपाई (खानेपानी संस्था), प्रदेश कोलेनि र कर्णाली प्रदेश सभाका कर्मचारीका मोटरसाइकलमा क्षति पुगेको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनले सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि ठुलो मात्रामा भौतिक र आर्थिक नोक्सानी पुर्‍याएको प्रहरी प्रवक्ता खनालले रातोपाटीलाई बताए ।

‘हामीले क्षतिको विवरण संकलन मात्र गरेको हो,’ उनी भन्छन्, ‘यसबाट अर्बौं रकम नोक्सान भएको अनुमान गरिए पनि सबैको लेखाजोखा हुनै बाँकी छ । उक्त काम सरकारी निकायहरु आफैले गर्नुहुन्छ होला ।’

संरचना क्षतिग्रस्त भएपछि कतिपय कार्यालयहरुले पुनः उक्तबाट सेवा प्रवाह दिन नसकेको अवस्था छ । सुर्खेतको नापी कार्यालय र प्रदेश सभामा अहिले कुनै पनि गतिविधि गर्न सकिने अवस्था छैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप