शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अपडेट : हेटौँडामा बसको टायर पड्किँदा दुर्घटना, २ जनाको अवस्था गम्भीर

सोमबार, ०६ असोज २०८२, १४ : ३५
सोमबार, ०६ असोज २०८२

मकवानपुर । हेटौँडामा यात्रुवाहक बसको टायर पड्किँदा अनियन्त्रित भई तीन वटा सवारी आपसमा ठोक्किएर दुर्घटना भएको छ। 

दुर्घटनामा परी बस र ट्रकमा सवार ३१ जना घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका–१० बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो १ बजे चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको चालक साइडको टायर अचानक पड्किएको थियो। 

टायर पड्किएपछि बस अनियन्त्रित भई विपरीत दिशाबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किन पुगेको थियो।

बसको ठक्करबाट अनियन्त्रित बनेको ट्रकले काठमाडौँबाट बारा जाँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङ्करलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जसकारण तीन वटै सवारी साधन दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनाको घाइते भएका ३१ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल र सिएमसी चुरेहिल अस्पतालमा पठाइएको छ। 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम तथा सामान्य रहेको प्रवक्ता अर्यालले बताए ।

प्रहरीले दुर्घटनाग्रस्त सवारी साधनलाई राजमार्गबाट हटाएर अवरुद्ध यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप