सेनाको सुरक्षा घेरामा बसेर संघीय सरकारको निर्णयविरुद्ध स्टाटस !
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको खर्च कटौतीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
- मुख्यमन्त्री कार्कीले फेसबुकमा 'विधिको शासन'को कुरा उठाउँदै संघीय सरकारको निर्णयले प्रदेशको अधिकारमा अंकुश लगाएको आरोप लगाए।
- भदौ २३ र २४ गतेको आन्दोलनका कारण मुख्यमन्त्रीको निवास र कार्यालयमा क्षति पुगेपछि उनी हाल राष्ट्र बैंकको गेष्ट हाउसमा बसिरहेका छन्।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई दिन अगाडि आफ्नो आधिकारिक फेसबुक पेजमा लेखे, ‘विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको देशमा कसैको हुकुमी शासन चल्दैन !’
संघीय सरकारले गरेको खर्च कटौती सम्बन्धी निर्णयमा सांसदका स्वकीयहरू हटाउने र मुख्यमन्त्री तथा मन्त्रीहरूले ३ जनामात्रै सचिवालयमा राख्न पाउने निर्णय गरेको छ । सोही निर्णय आएपछि असन्तुष्टि जनाउँदै कार्कीले फेसबुकमा आक्रोश पोखेका हुन् ।
‘देश, प्रदेश र स्थानीय तह सुशासनसहित र भ्रष्टाचाररहित ढंगले चल्नु/चलाउनु पर्छ,’ मुख्यमन्त्री कार्कीले थप लेखेका छन्, ‘संविधानले प्रदेशलाई आफ्नो बजेट बनाउने, कार्यान्वयन गर्ने र खर्च व्यवस्थापन गर्ने स्वायत्तता दिएको छ, तर संघीय सरकारको निर्देशनले त्यो अधिकारमाथि अङ्कुश लगाएको छ ।’
मुख्यमन्त्री कार्कीले सेनाको सुरक्षा घेराभित्र बसेर यस्तो स्टाटस लेखेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको विध्वंशबाट कार्यालय र निवास पनि जलेपछि करिब एक साता सम्पर्कविहीन बनेका मुख्यमन्त्री कार्की विराटनगरस्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको भीआईपी कक्षमा बसिरहेका छन् ।
कोशी प्रोजेक्टमा रहेको मुख्यमन्त्रीको अवासगृह आन्दोलनको क्रममा जलाइएपछि मुख्यमन्त्री कार्की नेपाली सेनाले सुरक्षा दिने राष्ट्र बैंकको निवासमा बसेका हुन् । मुख्यमन्त्री कार्की २४ गते निवासमै आन्दोलनकारी आएर तोडफोड गर्न थालेपछि झण्डावाल गाडी छाडेर बाहिरिएका थिए ।
प्रदर्शनकारीहरू निवासको गेटमा पुगेपछि कार्कीलाई उनका पीएसओले वैकल्पिक गेटबाट बाहिर निकालेर रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालय पुर्याएका थिए । सरकारी र झण्डावाल गाडीमा असुरक्षा हुने भएपछि उनी टेम्पोमा चढेर प्रदेश प्रहरी कार्यालय पुगेको स्रोत दाबी गर्छ ।
प्रदेश प्रहरी कार्यालयबाट उनलाई नेपाली सेनाले सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा केही दिन राखेको थियो । त्यहाँबाट बाहिर आएपछि मुख्यमन्त्री कार्की नेपाली सेनाकै सुरक्षा रहेको राष्ट्र बैंकको गेष्ट हाउसमा बस्न थालेका हुन् ।
भदौ २४ गतेको विध्वंशमा मुख्यमन्त्रीको निवासमात्र नभएर मुख्यमन्त्री कार्यालयसहित प्रदेशका धेरै मन्त्रालयमा क्षति भएको छ । अहिले सरकारी निवाससहित कार्यालयमा भएको क्षतिको मूल्याङ्कन भइरहेको छ ।
मुख्यमन्त्री कार्यालयका जिन्सी शाखाका कर्मचारी किरण ढकालका अनुसार निवास बस्नका लागि सुरक्षित छ कि छैन भन्नेबारे प्राविधिक परीक्षणको काम भइरहेको छ । ‘निवासको परीक्षण गर्ने काम भइरहेको छ, तर मुख्यमन्त्रीज्यूको सचिवालयबाट बस्नका लागि व्यवस्थापन गर्न कुनै निर्देशन आएको छैन,’ उनले भने ।
मुख्यमन्त्री कार्की तत्काल सरकारी निवास फर्किने अवस्थामा नरहेको कर्मचारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण