शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनपछि प्रहरी

प्रहरीको मनोबल उठाउन कस्तो प्रयास भइरहेको छ ?

बुधबार, २९ असोज २०८२, १९ : ४५
बुधबार, २९ असोज २०८२

काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ उपत्यकासहित देशभरका प्रहरी कार्यालयहरुमा आगजनी भयो । त्यसबाट ७४ वटा प्रहरी भवन पूर्णरुपमा क्षति भए भने २२२ भवनमा आंशिक क्षति पुगेको प्रहरी आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

आन्दोलनका क्रममा भएका अराजक गतिविधिले प्रहरीको मनोबल खस्किएको छ । नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी लिने प्रहरीको मनोबल फर्काउन संगठन आफैं र जनस्तरबाट सहयोगको खाँचो छ । 

प्रदर्शनकारीले नयाँ बानेश्वर वृत्तमा कार्यरत इन्स्पेक्टर सहितलाई युनिफर्म खोल्न लगाएर र बागमती नदीमा हामफाल्न बाध्य पारेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । महाराजगञ्जमा प्रहरीमाथि निर्घात कुटपिट गरेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ । महाराजगञ्जमा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रदर्शनकारीको आक्रमणमा परेर उपत्यकामा तीनजना प्रहरीको मृत्यु भयो ।

अहिले २० वर्ष सेवा अवधि पूरा गरेका प्रहरी कर्मचारीहरुले धमाधम राजीनामा पेस गर्न थालेका छन् । प्रहरी स्रोतका अनुसार त्यसरी राजीनामा पेस गर्नेमा जुनियर प्रहरी धेरै छन् ।

प्रदर्शनमा जसरी प्रहरीमाथि आक्रमण भयो ती घटनाले उनीहरुको मनोबल गिरेको छ । फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउनेबारे प्रहरी हेड्क्वार्टरले छलफल थालेको छ । धेरै जवान र हवल्दारहरुको मोटरसाइकल आन्दोलनकारीले आगजनी गरेका छन् । जुनियर तहका कर्मचारीको सेकेन्ड ह्याण्ड मोटरसाइकल र थर्ड पार्टी बीमा मात्र हुँदा आगजनीबाट क्षति भएपनि क्षतिपूर्ति नआउने देखिएको छ । 

त्यस्ता कर्मचारीलाई प्रहरी कल्याण कोषबाट मोटरसाइकल खरिद सुविधा दिनेबारे छलफल भइरहेको प्रहरीका एक उच्च अधिकृत बताउँछन् । ‘जुनियर प्रहरीलाई कसरी सहजीकरण गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ,’ उनी भन्छन् । 

प्रहरीको मनोबल बढाउने प्याकेज ल्याउन सरकारले ढिलाइ गरेको पूर्वएआईजी उत्तमराज सुवेदी बताउँछन् । क्षति भएका युनिटहरुमा तत्काल बस्ने व्यवस्था र भिड नियन्त्रणको सामग्री तत्काल खरिद गर्नुपर्ने उनको भनाइ छ । 

‘संगठनले रिक्रिएसनको कार्यक्रम पनि ल्याउनुपर्छ,’ उनी भन्छन् । 

प्रहरी कर्मचारीलाई परिस्थितिबारे प्रशिक्षित गर्ने र उनीहरुको पीरमर्का बुझ्ने काम सुरु गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरे भन्छन् । ‘सकलदर्जालाई पायक पर्ने स्थानमा पोस्टिङ गर्ने र उनीहरुको समस्या समाधान गर्ने कामलाई संगठनले प्राथमिकतामा राखेको छ,’ उनी भन्छन् । 

प्रहरीभित्र भनसुन र नातावादको अन्त्य गर्न सकेमा सकलदर्जाको मनोबल दीर्घकालीन रुपमा नै बढाउन सकिने गृह मन्त्रालयका पूर्वसचिव चण्डीप्रसाद श्रेष्ठ बताउँछन् । ‘आवश्यक भौतिक सुविधा तत्काल उपलब्ध गराउनुपर्छ र कानुन अनुसारको काममा प्रहरीलाई हस्तक्षेप नगरेमा मनोबल दीर्घकालीन रुपमा नै बढाउन सकिन्छ,’ उनी भन्छन् ।

असोज ३१ मा प्रहरीले आफ्नो ७० औं स्थापना दिवस मनाउँदै छ । ७० वर्षदेखि नै प्रहरीले आन्दोलनको सामना गर्दै आएको उल्लेख गर्दै प्रहरी प्रवक्ता (डीआईजी) घिमिरे अहिले प्रहरी पुरानै लयमा फर्किएको दाबी गर्छन् । ‘प्रहरी पुरानै लयमा फर्किसकेको छ,’  उनी भन्छन् । 

५ सय गाडी किन्न प्रस्ताव

जेनजी प्रदर्शनमा प्रहरीले शान्ति सुरक्षाको लागि प्रयोग गर्दै आएका ५५१ वटा गाडी प्रदर्शनकारीले आगजनी गरेका छन् । तत्काल घटनास्थलमा पुग्न प्रयोग गरिने ३१९ वटा मोटरसाइकल जलेका छन् । प्रहरीको आन्तरिक प्रतिवेदन अनुसार ४९४ सवारी साधन पूर्ण क्षति भएका छन् भने ५७  वटामा आंशिक क्षति पुगेको छ ।

जेनजी प्रदर्शनकारीले भदौ २४ मा उपत्यकामा मात्रै १०३ वटा हलुका चारपांग्रे सवारीमा आगजनी गरे । उपत्यकमा घटना हुँदा प्रहरी ५ मिनेटमा पुग्थ्यो । ५ मिनेटमा पुग्ने रणनीति अनुसार उपत्यकाभर मोटरसाइकलमा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिन्थ्यो । क्यूआरटी मोटरसाइकल पनि २१० वटा जलेका छन् । सीआरभी र क्यूआरटी नहुँदा घटनास्थलमा पुग्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई चुनौती भएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनाल भन्छन्, ‘केही अप्ठ्यारो र चुनौतीहरु थपिएका छन् ।’

सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी प्रधान कार्यालयले करिब ५ सय चारपांग्रे सवारी साधन किन्नुपर्ने प्रस्ताव अघि बढाएको छ । गाडी खरिदसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा पठाइएको डीआईजी घिमिरे बताउँछन् । ‘शान्ति सुरक्षा मिलाउन आवश्यक सवारी साधन किन्न प्रस्ताव गरेका छौं,’ उनी भन्छन् । 

प्रहरी प्रधान कार्यालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयले ७५ वटा गाडी यसअघि विनियोजित बजेटबाटै किन्न प्रहरीलाई अनुमति दिएको छ । आर्थिक वर्ष २०८२–८३ मा प्रहरीलाई आएको बजेटबाटै ७५ वटा सवारी किन्न अर्थले सहमति दिएको हो । डीआईजी घिमिरे भन्छन्, ‘स्वीकृत मादपण्ड अनुसार नयाँ गाडी खरिद गर्छौं ।’

फास्टट्रयाकबाट गाडी खरिद गर्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी थालेको छ । निजी क्षेत्रसँग केही मोटरसाइकल लिएर सुरक्षाको काममा प्रयोग गर्न थालिएको छ । डीआईजी घिमिरे भन्छन्, ‘मोटरसाइकल पनि नयाँ किन्ने प्रक्रियामा छौं ।’

जेनजी प्रदर्शनमा उच्छृङखल समूहले आगजनी गरेपछि विस्थापित भएका प्रहरी युनिटहरुमा प्रहरी फर्किएका छन् । समाजमा प्रहरी चाहिन्छ भन्नेहरुले प्रहरीलाई पुनर्स्थापना हुन सहयोग गरेको उपत्यका प्रहरी कार्यालयका एआईजी दानबहादुर कार्की बताउँछन् । ‘प्रहरीको मनोबल बढाउन स्थानीयले आफ्नोतर्फबाट पनि प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘स्थानीयले हामी साथमा छौं भनेपछि प्रहरी आफ्नो कार्यक्षेत्रमा फर्किएको छ, यसबाट मनोबल उँचो हुँदै गएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप