काठमाडौँ । जघन्य र ठुला अपराध अनुसन्धान गर्ने काठमाडौँ उपत्यकाको मुख्य प्रहरी युनिट हो, उपत्यका अपराध अनुसन्धान कार्यालय ।
जेनजी प्रदर्शनमा टेकुस्थित आयल निगमको भवनमा रहेको सो युनिटमा प्रदर्शनकारीले भदाै २४ गते आगजनी गरे ।
आगजनीबाट टेकुमा रहेको कार्यालयको १६ वटा गाडी ध्वस्त भयो । कार्यालय र प्रहरी कर्मचारीको १० वटा मोटरसाइकल आगजनी भयो । ५५ वर्षअघिदेखि संकलन गरिएको अनुसन्धानमा प्रयोग गरिने प्रविधि पनि आन्दोलनकारीले आगो लगाएर जलाए । अनुसन्धान कार्यालयको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले गरेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) काजी कुमार आचार्यका अनुसार प्रहरीको ३० वटा सञ्चार सेट प्रदर्शनकारीले लुटपाट र आगजनी गरेका थिए । भन्छन्, ‘कार्यालयको प्रिन्टर र फोटोकपी मेसिनमा आगजनी भएको छ ।’
अधिकृतहरूको चलाखीका कारण हतियार भने जोगिएको छ । एसएसपी आचार्य भन्छन्, ‘हाम्रो कार्यालयबाट हतियार लुटिएको छैन ।’
आगजनीबाट ध्वस्त भए पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले आफ्नो निर्माणाधीन भवनमा बसेर काम सुरु गरेको छ । २०७६ सालमा निर्माण सम्झौता भएर टेकुमै अपराध अनुसन्धान कार्यालयको लागि भवन बन्दै छ । त्यही निर्माणाधीन भवनमा बसेर प्रहरीले अनुसन्धानको काम थालेको छ ।
आगजनी भएको कार्यालय नजिकै रहेको सो भवन निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अनुसन्धानमा आवश्यक सामग्री र कार्यालय व्यवस्थापन गरेर विस्तारै पुरानै लयमा फर्किने प्रयत्न भइरहेको एसपी आचार्यले बताए । उनले भने, ‘हामी विस्तारै उठ्दै छौँ ।’
पुरानो कार्यालयमा जलेका गाडी र जलेका सामग्रीको डंगुर छ । अनुसन्धान अधिकृतहरू खरानी पन्छाएर अपराध अनुसन्धानमा खटिन थालेका छन् । कार्यालयमा विस्तारै सेवाग्राही गएर आफ्ना पुराना फाइल खोज्न थालेका छन् । ठगीसम्बन्धी पिल्लरमा भएका सबै फाइल प्रदर्शनकारीले आगजनी गरेका थिए । ती फाइल बिस्तारै जुटाउने प्रयासमा पिल्लर प्रमुख डीएसपी कृष्ण विष्ट लागेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिले जेनजी प्रदर्शनमा जेल तोडेर भागेकाहरूलाई पक्राउ गर्ने अभियान चलाएको छ । अहिलेसम्म ५० जनाभन्दा धेरै कैदीबन्दीलाई पक्राउ गरेर सो कार्यालयले कारागार प्रशासनमा बुझाएको छ ।

प्रतिक्रिया